घरायसी विवादका क्रममा दैलेखमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्।
चामुण्डा बिन्द्रासैनी नगरपालिका-३, पानीखोलामा आज बिहान भएको आक्रमणमा उनका अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार मगरले बिहान १०:३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए।
घटनामा ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र र तीन वर्षीया छोरी करिस्माको मृत्यु भएको छ भने ६ वर्षीय छोरा मिलनको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
बन्चरो प्रहारबाट गम्भीर घाइते चारै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो।
अस्पतालका चिकित्सकले परीक्षणका क्रममा तपेन्द्र र करिस्मालाई बिहान ११:१० बजे मृत घोषणा गरेका थिए। गम्भीर घाइते मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २:३० बजे चिकित्सकले मृत घोषणा गरे।
प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा रहेको घटनास्थलमा खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली पुगेको थियो।
घटनामा संलग्न अम्बरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए।
प्रकाशित: ५ मंसिर २०८३ १६:०१ शनिबार