चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।
दैलेख — घरायसी विवादमा श्रीमान्ले बन्चरो प्रहार गर्दा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा श्रीमतीसहित चार जना घाइते भएका छन्।
चामुण्डाबिन्द्रासैनी नगरपालिका ३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरायसी सामान्य विवादका क्रममा उनले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा दाउरा काट्ने बन्चरोले प्रहार गरेका थिए।
घाइते चारै जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई एम्बुलेन्समार्फत दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।