५ मंसिर, धनुषा । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’ अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गरेको छ ।
धनुषाको जनकपुरमा आयोजित संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले गौतमलाई अवार्ड प्रदान गरेका हुन् । पुरस्कारको राशी २५ हजार रहेको छ । साथै पत्रकार मणिका झालाई पनि अवार्डबाट सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार केयूका पूर्वउपकुलपति स्व. प्रा.डा. सुरेशराज शर्मालाई प्रदान गरिएको छ । उनलाई मरोणप्रान्त अवार्ड प्रदान गरिएको हो ।
संघले स्थानीय सरकार पुरस्कार अन्तर्गत महानगरपालिका/उपमहानगरपालिका, प्रत्येक प्रदेशबाट उत्कृष्ट नगरपालिका तथा उत्कृष्ट गाउँपालिकालाई सम्मान गरेको छ ।
विद्यालय पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयलाई प्रदान गरिएको छ ।
प्रधानाध्यापक पुरस्कार अन्तर्गत सातै प्रदेशबाट उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।
आधारभूत तथा माध्यमिक तहका १४ विद्यालय, १५ पालिका, १४ प्रधानाध्यापकलाई सम्मान गरिएको हो । आधारभूत तहका प्रधानाध्यापकहरूमा कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेशबाट प्रेमकुमारी यादव, बागमतीबाट बिनिता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर रहेका छन् ।
माध्यमिक तहतर्फ कोशीबाट डा. इन्द्रमोहन झा, मधेसबाट गौरीशंकर चौधरी, बागमतीबाट दलबहादुर बल, गण्डकीबाट शान्त नेपाली, लुम्बिनीबाट मोहनप्रसाद सापकोटा, कर्णालीबाट खड्क रोकाया र सुदूरपश्चिमबाट लक्ष्मणदत्त भट्ट सम्मानित भए ।
शिक्षा क्षेत्रको विकास, सुधार, नेतृत्व, नवप्रवर्तन वा रुपान्तरणमा दीर्घकालीन तथा उल्लेखनीय योगदान पुर्याउने पालिका, विद्यालय, प्रधानाध्यापक र पत्रकारलाई सम्मान गरिएको संघका अध्यक्ष सुदाम गौतमले बताए ।
पुरस्कार छनोट गर्न संघले समिति बनाइएको थियो । समितिको संयोजकमा प्रा. डा. विद्यानाथ कोइराला तथा सदस्यहरू रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेश कुमार श्रेष्ठ र सुदर्शन घिमिरे थिए । उक्त समितिले मापदण्ड बनाएर अवार्डको लागि नाम सिफारिस गरेको थियो ।
प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमका अनुसार राष्ट्रिय सम्मेलन ४ मंसिरदेखि ६ गतेसम्म चल्ने छ । सम्मेलनमा १ हजार सहभागी छन् ।
‘शिक्षाका अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागी छ । ८० वटा पाकिकाका प्रमुख र प्रशासकीय अधिकृत हुनुहुन्छ । सम्मेलनमा एआईदेखि विपद्सम्मको सेसन छ,’ उनले भने, ‘सेसनमा सांसदहरूको समेत सहभागिता छ ।’
प्रधानाध्यापक संघमा २२ हजार विद्यालय जोडिएका छन् । संघको ७७ जिल्लामा कार्यसमिति विस्तार भएको छ । अध्यक्ष गौतमका अनुसार सामुदायिक शिक्षा सुधारका लागि जनकपुर घोषणापत्र सार्वजनिक गरिनेछ ।
‘अब कक्षा केन्द्रित मिसन हुन्छ । जनकपुर घोषणापत्र सार्वजनिक गर्छौं,’ उनले भने ।