बलबहादुर वैदेशिक रोजगारीका क्रममा करिब पाँच वर्ष मलेसिया र दुई वर्ष कतार बसेका थिए । कतारबाट २०६९ मा घर फर्किएका उनी एक सातामै बेपत्ता भए । न उनको कुनै खबर आएको छ, न घर फर्किने टुंगो ।
पाँचथर — घरको आँगनमा कसैको पाइला परेको आवाज आउँदा सुबदन राईको ध्यान उतैतिर जान्छ । बाटोमा अपरिचित मानिस देख्दा जयमायाको मनमा पनि एउटै प्रश्न उठ्छ— कतै छोरा बलबहादुर त फर्किएनन् ?
१४ वर्ष ६ महिना बितिसक्यो, उनीहरूले माइला छोरा बलबहादुरको अनुहार देख्न नपाएको । न उनको कुनै खबर आएको छ, न घर फर्किने टुंगो छ । ७९ वर्षीय सुबदन र ८० वर्ष पुग्न लागेकी जयमायाले छोराको बाटो हेर्न छाडेका छैनन् । उमेरले नेटो काट्न लागिसक्यो । शरीर कमजोर भइसकेको छ । आँखा धमिला भइसके । तर छोरालाई एकपटक देख्न पाए हुन्थ्यो भन्ने आशा उनीहरुमा अझै उस्तै छ ।
‘सुरुमा कतै गएको होला, केही समयपछि फर्केला भन्ने लागेको थियो । यति लामो समयसम्म नआउला भन्ने सोचेका थिएनौं,’ उनीहरू भन्छन्, ‘अब त धेरै पीर लाग्न थालिसक्यो । जहाँ भए पनि एकपटक घर आइदेओस्, मर्नुअघि छोराको मुख हेर्न पाए हाम्रो मन शान्त हुन्थ्यो । ’
इलामको फाकफोकथुम गाउँपालिका–६, सिमसाराका सुबदन र जयमायालाई अहिले छोरासँग कुनै हिसाबकिताब गर्नु छैन । न धनसम्पत्ति चाहिएको छ, न कुनै गुनासो छ । उनीहरूको एउटै चाहना छ— जीवनको अन्तिम घडी आउनुअघि छोरालाई एकपटक आगालो हाल्ने ।
२०२८ साल वैशाखमा जन्मिएका बलबहादुर अहिले करिब ५५ वर्षका भए । उनी कहाँ छन् भन्ने परिवारलाई अहिलेसम्म थाहा छैन ।
विदेशबाट फर्किएको एक सातामै बेपत्ता
बलबहादुर वैदेशिक रोजगारीका क्रममा करिब पाँच वर्ष मलेसिया र दुई वर्ष कतार बसेका थिए । कतारबाट २०६९ जेठ १ गते घर फर्किएका उनी एक सातामै बेपत्ता भए ।
आफन्तको काममा सघाउन देउमाई नगरपालिका क्षेत्रअन्तर्गत मेची राजमार्गको धप्पाटार पुगेका उनी त्यसपछि घर फर्किएका छैनन् । २०६९ जेठ ७ गतेदेखि परिवार उनको सम्पर्कका लागि पर्खिरहेको छ ।
बलबहादुर रमाइलो स्वभावका थिए । कतै जाँदा कहिलेकाहीँ ढिलो गरी घर फर्किने बानी थियो । त्यसैले उनी घर नआउँदा परिवारले सुरुमा खासै शंका गरेन, केही कामले रोकिएका होलान्, फर्किहाल्छन् भन्ने ठाने । तर दिन, महिना हुँदै वर्ष बिते। उनी फर्किएनन् ।
परिवारले आफन्त र चिनजानका मानिसमार्फत विभिन्न ठाउँमा खोजी गर्यो । हराएको केही समयपछि झापाको दमक र कााकडभिट्टा क्षेत्रमा देखिएको भन्ने खबर पनि आयो । तर त्यसको पुष्टि हुन सकेन । त्यसयता बलबहादुरको अवस्थाबारे परिवारले कुनै ठोस जानकारी पाएको छैन ।
बलबहादुर घर फर्किँदा परिवारमाथि पाँच लाख रुपैयाँ ऋण थियो । श्रीमान् बेपत्ता भएपछि फूलकुमारी राईमाथि घरव्यवहार सम्हाल्ने, छोराछोरी हुर्काउने र ऋण तिर्ने जिम्मेवारी आइपर्यो ।
उनले श्रीमान् विदेश जाँदा लागेको ऋण तिर्न आफैं वैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । कुवेत पुगेर काम गरिन् । त्यहाँ कमाएको पैसाले ऋण चुक्ता गरिन् । अहिले परिवारमाथि कुनै ऋण त छैन । तर श्रीमान्को प्रतीक्षा भने अझै सकिएको छैन ।
‘उहाँ जहाँ भए पनि एकपटक घर फर्किदिनुहोस् । हामीलाई केही चाहिएको छैन । कुनै गुनासो छैन, कुनै दोष लगाउँदैनौं,’ फूलकुमारी भन्छिन्, ‘विदेश जाँदा लागेको ऋण पनि मैले कुवेतमा काम गरेर चुक्ता गरिसकेँ, बूढा बुबाआमा अझै छोराको बाटो हेरेर बस्नुभएको छ, छोराछोरी र नातिनातिनाको माया सम्झेर भए पनि एकपटक आइदिनुहोस् ,’ उनी भन्छिन् ।
श्रीमान् फर्किन नसक्ने अवस्थामा भए पनि कम्तीमा उनी कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने खबर पाउन पाए हुन्थ्यो भन्ने फूलकुमारीको चाहना छ । ‘एकपटक आफ्नो खबर सुनाइदिनुभयो भने पनि हामीलाई ठूलो राहत मिल्थ्यो,’ उनी भन्छिन् ।
हुर्किए छोराछोरी, बाबुको प्रतीक्षा उस्तै
बलबहादुर र फूलकुमारीका दुई छोरा र दुई छोरी छन् । बलबहादुर हराउँदा छोराछोरी सानै थिए । अहिले उनीहरू हुर्किसके । दुवै छोरीको विवाह भइसकेको छ । जेठी छोरी मनिता कुवेतमा छिन् भने कान्छी मनिसा माल्दिभ्समा । दुवै छोरा अध्ययनरत छन् ।
छोरीहरूका सन्तानसमेत भइसकेका छन् । तर उनीहरूको जीवनका महत्त्वपूर्ण क्षणमा बाबुको उपस्थिति हुन सकेको छैन । कतिपय नातिनातिनाले त हजुरबुबालाई अहिलेसम्म देख्नसमेत पाएका छैनन् । उनीहरूका लागि हजुरबुबा परिवारले सुनाउने र तस्बिरमा देखिने व्यक्ति मात्र बनेका छन् ।
बलबहादुरको पुर्ख्यौली घर राँके–गैडे सडकखण्डअन्तर्गत फलाँटेस्थित पसल बजारनजिकै छ । त्यही घरमा सुबदन र जयमाया बस्दै आएका छन् । छोराको खबर आउला कि भनेर उनीहरूले प्रतीक्षा गरेको पन्ध्र वर्ष वित्नै लाग्यो ।
परिवारले बलबहादुर नेपालकै कुनै ठाउँमा वा भारततिर हुन सक्ने अनुमान गरेको छ । दिदीबहिनी र छोरीचेलीले पनि उनको खोजी गरिरहेका छन् । तर १४ वर्षको खोजीमा अहिलेसम्म कुनै ठोस सुराक भेटिएको छैन ।
अब वृद्ध आमाबुबालाई छोराले किन घर छाड्यो, किन यतिका वर्ष सम्पर्क गरेन भनेर सोध्नु छैन । उनीहरूलाई छोराको आवाज सुन्नु छ, अनुहार हेर्नु छ र एकपटक अँगालो हाल्नु छ ।
‘जहाँ भए पनि एकपटक घर आइदेओस, हामीलाई अरू केही चाहिँदैन,’ उनीहरूको एउटै आग्रह छ, ‘मर्नुअघि एकपटक छोराको मुख हेर्न पाए पुग्छ ।’
परिवारले बलबहादुरबारे कुनै जानकारी भए इलामको फाकफोकथुम गाउँपालिका–६, फलाँटेस्थित पसल बजारनजिकै सिमसारामा रहेको परिवारलाई खबर गरिदिन अनुरोध गरेको छ । १४ वर्षदेखि हराएका बलबहादुरको खोजीमा परिवारको आशा अझै मरेको छैन ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।