नेपालमा भारतीय लगानी बढाउने विषयलाई भ्रमणको प्रमुख कार्यसूचीमध्ये एक बनाइएका बेला छलफलमा भारतीय मन्त्रीको सहभागिता नहुने भएको हो ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा आइतबार आयोजना हुने नेपाल–भारत व्यापारिक छलफलमा भारतीय सरकारका कुनै पनि मन्त्री सहभागी नहुने भएका छन् । नेपालमा भारतीय लगानी बढाउने विषयलाई भ्रमणको प्रमुख कार्यसूचीमध्ये एक बनाइएका बेला यस्तो छलफलमा भारतीय मन्त्रीको सहभागिता नहुने भएको हो ।
नेपाल सरकारले दक्षिणी छिमेकीसँग आर्थिक सम्बन्ध सुदृढ गर्दै मुलुकको विकास प्राथमिकताका क्षेत्रमा भारतीय लगानी भित्र्याउन खोजिरहेका बेला व्यापारिक छलफलमा भारतीय मन्त्रीको प्रतिनिधित्व नहुने भएको छ ।
छलफलमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने कार्यक्रम छ । प्रस्तावित कार्यक्रमअनुसार वाग्लेले मुख्य मन्तव्य र खनालले विशेष मन्तव्य दिनेछन् ।
भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सहभागितामा उक्त गोलमेच छलफल आयोजना हुन लागेको हो । नयाँदिल्लीस्थित ताजमहल होटलमा हुने कार्यक्रममा दुवै देशका उद्योगी तथा व्यवसायी सहभागी हुनेछन् ।
कार्यक्रममा सीआईआईको अन्तर्राष्ट्रिय परिषद्का सहअध्यक्ष तथा सन इन्टरनेसनल लिमिटेडका अध्यक्ष विक्रमजित सिंह साहनी, एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठ, महासंघकी पूर्वअध्यक्ष तथा नेपाल–भारत संयुक्त व्यापार मञ्चकी सहअध्यक्ष भवानी राणा र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले पनि मन्तव्य राख्ने कार्यक्रम छ । त्यस्तै, दुवै देशका उद्योगी तथा व्यवसायीले छलफलमा आफ्ना धारणा राख्नेछन् ।
नेपाली प्रधानमन्त्रीको राजकीय भ्रमणकै क्रममा आयोजना हुन लागेको लगानीकेन्द्रित व्यापारिक छलफलमा भारतीय मन्त्रीको अनुपस्थितिले दुई देशबीचको राजनीतिक तहमा आर्थिक सहकार्यका विषयले कति प्राथमिकता पाएको छ भन्ने प्रश्न उठाएको छ । कूटनीतिक सम्बन्धलाई ठोस आर्थिक सहकार्य र सीमापार लगानीमा रूपान्तरण गर्न खोजिरहेका बेला यस्तो अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा ३४ सदस्यीय सरकारी टोली सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, आफ्नै खर्चमा थप ५२ जना पनि भारत जाने भएका छन् । भ्रमण टोलीमा पत्रकारहरू पनि आफ्नै खर्चमा सहभागी हुनेछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी नेपाल वायुसेवा निगमको विमानबाट नयाँदिल्ली प्रस्थान गर्ने तालिका छ । भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले राष्ट्रपति द्रौपदी मुर्मुसँगको शिष्टाचार भेट गर्नेछन् भने समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । साथै, विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाह सोमाबार काठमाडौं फर्कने कार्यक्रम छ ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।