अर्को दुर्घटनामा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।
सुनसरी — सुनसरीमा गएराति भएका बेग्लाबेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराति मृत्यु भएको थियो ।
प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ सञ्जय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।
इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेमध्ये नेपाल प्रहरीका हबलदार रोहितकुमार राजवंशीसमेत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार, चारै जना घाइतेको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये हबलदार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेकाले सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेको परीक्षणबाट खुलेको छ ।