चरमपन्थी संगठन खालिस्तानी मुभमेन्टका नेता गुरपतवन्त सिंह पन्नूको हत्या प्रयास गरेको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकाको एक अदालतले १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ ।
काठमाडौँ — चरमपन्थी संगठन खालिस्तानी मुभमेन्टका नेता गुरपतवन्त सिंह पन्नूको हत्या प्रयास गरेको आरोपमा भारतीय नागरिक निखिल गुप्तालाई अमेरिकाको एक अदालतले १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ ।
५५ वर्षीय गुप्ताले यसै वर्षको सुरुवातमा हत्या गर्न सुपारी दिएको, हत्या षड्यन्त्र र मनी लाउन्डरिङसम्बन्धी आरोप स्वीकार गरेका थिए । शुक्रबार सजाय सुनाउने क्रममा उनले अदालतमा पन्नूसँग माफीसमेत मागेका छन् । आफूले गरेको गल्तीप्रति पछुतो लागेको तर त्यसलाई बदल्न नसक्ने उनले बताएका छन् ।
न्युयोर्कस्थित साउदर्न डिस्ट्रिक्ट कोर्टका न्यायाधीश भिक्टर मारेरोले करिब ८० मिनेटको सुनुवाइपछि सजाय निर्धारण गरेका हुन् ।
गुप्ताले अदालतमा करिब ६ मिनेट अंग्रेजीमा आफ्नो भनाइ राखेका थिए । त्यस क्रममा उनले महात्मा गान्धी, मदर टेरेसा, नेल्सन मन्डेला र मार्टिन लुथर किङको चर्चा गर्दै आफू उनीहरूले देखाएको बाटोमा हिँड्न चाहेको बताए ।
त्यसपछि पन्नूतर्फ फर्केर उनले भने, ‘मैले जे गरेँ, त्यसलाई बदल्न सक्दिनँ । पन्नू, सिख समुदाय र यससँग सम्बन्धित सबैसँग माफी माग्छु । मलाई पछुतो छ ।’
आफ्नो मुद्दाका कारण पत्नी, आमा र छोराछोरीले समेत दुःख भोग्नुपरेको भन्दै उनी भावुक भएका थिए । उनीहरूले कुनै गल्ती नगरेको गुप्ताको भनाइ थियो ।
सुनुवाइका क्रममा पन्नूले पनि अदालतमा आफ्नो भनाइ राखेका थिए । हत्या षड्यन्त्र सार्वजनिक भएयता १२ सय दिनभन्दा बढी समयदेखि आफूले सामान्य रूपमा वकालतको काम गर्न नसकेको बताए ।
करिब २० मिनेट बोलेका पन्नूलाई न्यायाधीशले सुनुवाइ अघि बढाउन आफ्नो भनाइ छोट्याउन आग्रह गरेका थिए । सुनुवाइअघि पन्नूका समर्थकहरू न्युयोर्कस्थित अदालतबाहिर भेला भएका थिए । उनीहरूले गुप्ता र यस घटनासँग जोडिएका अन्य व्यक्तिका पुतला बोकेका थिए । सुनुवाइका बेला पन्नू पनि अदालतमा उपस्थित थिए । उनीसँगै सिख समुदायका केही व्यक्ति पनि आएका थिए ।
अदालतले गुप्तालाई जेल सजायपछि निगरानीमा रिहा गर्ने आदेश दिएको छैन । सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट निष्कासन गर्ने कानुनी प्रक्रिया अघि बढाइने न्यायाधीशले बताएका छन् ।
गुप्ताका वकिलहरूले भने अदालतको फैसलाप्रति निराशा व्यक्त गरेका छन् । आफूहरूले कम सजायको अपेक्षा गरेको उनीहरूको भनाइ थियो ।