अमेरिकाको एक अदालतले खालिस्तानी नेता गुरपतवन्त सिंह पन्नूको हत्या गर्ने षड्यन्त्र गरेको अभियोगमा भारतीय नागरिक निखिल गुप्तालाई १९ वर्ष ७ महिना जेल सजाय सुनाएको छ।
५५ वर्षीय निखिलले यसै वर्षको सुरुवातमा हत्या गर्न सुपारी दिने, हत्या षड्यन्त्र रच्ने र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अभियोग स्वीकार गरेका थिए।
शुक्रबार सजाय सुनाउने क्रममा निखिलले अदालतमा पन्नूसँग माफीसमेत मागेका छन्। आफूले गरेको गल्तीप्रति पछुतो लागेको र त्यसलाई अब बदल्न नसक्ने उनले बताएका छन्। न्युयोर्कस्थित साउदर्न डिस्ट्रिक्ट कोर्टका न्यायाधीश भिक्टर मारेरोले करिब ८० मिनेट लामो सुनुवाइपछि उक्त फैसला सुनाएका हुन्।
निखिलले अदालतमा करिब ६ मिनेटसम्म अंग्रेजीमा आफ्नो भनाइ राखेका थिए। उनले महात्मा गान्धी, मदर टेरेसा, नेल्सन मण्डेला र मार्टिन लुथर किङको नाम लिँदै आफू ती नेताहरूले देखाएको बाटोमा हिँड्न चाहेको बताए।
त्यसपछि पन्नूतर्फ हेर्दै उनले भने, ‘मैले जे गरेँ, त्यसलाई बदल्न सक्दिनँ। म पन्नू, सिख समुदाय र यससँग सम्बन्धित सबैसँग माफी माग्छु। मलाई पछुतो छ।’
आफ्नो कुरा राख्ने क्रममा निखिल भावुकसमेत भएका थिए। उनले यस घटनाका कारण आफ्नी पत्नी, आमा र छोराछोरीले पनि दुःख भोग्नुपरेको बताए। उनीहरूले कुनै गल्ती नगरेको उनको भनाइ थियो।
सुनुवाइका क्रममा पन्नूले पनि अदालतमा आफ्नो भनाइ राखेका थिए। हत्या षड्यन्त्रको खुलासा भएयता आफूले १२०० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा वकालतको काम गर्न नसकेको उनले बताए। पन्नूले करिब २० मिनेटसम्म आफ्नो धारणा राखेका थिए। त्यसक्रममा न्यायाधीशले सुनुवाइ अघि बढाउन आफ्नो भनाइ छोटकरीमा राख्न आग्रह गरेका थिए।
सुनुवाइअघि पन्नूका कैयौँ समर्थक न्युयोर्कस्थित अदालतबाहिर भेला भएका थिए। उनीहरूसँग निखिल गुप्ता र यस घटनासँग सम्बन्धित अन्य व्यक्तिका पुतला थिए।
सुनुवाइका क्रममा पन्नू पनि अदालतमा उपस्थित थिए। उनीसँगै सिख समुदायका कैयौँ व्यक्ति पनि अदालत पुगेका थिए।
सजाय पूरा भएपछि अमेरिकाबाट निष्कासन गरिने
अदालतले निखिललाई जेल सजायपछि निगरानीमा रिहा गर्ने आदेश दिएको छैन। न्यायाधीशले जेल सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट निष्कासन गर्ने कानुनी प्रक्रिया सुरु गरिने बताएका छन्। निखिलका वकिलहरूले अदालतको फैसलाप्रति निराशा व्यक्त गरेका छन्। उनीहरूले कम सजाय हुने अपेक्षा गरेको बताएका छन्।
यसरी रचिएको थियो पन्नूको हत्या गर्ने षड्यन्त्र
अमेरिकी अदालतमा पेस गरिएका कागजातअनुसार सन् २०२३ मा गुप्ताले भारत र अन्य देशमा रहेका व्यक्तिहरूसँग मिलेर पन्नूको हत्या गर्ने षड्यन्त्र रचेका थिए। यसमा विकास यादव पनि संलग्न रहेको आरोप छ।
यादवको निर्देशनमा गुप्ताले आपराधिक गिरोहसँग सम्बन्धित व्यक्ति ठानेका एक व्यक्तिसँग सम्पर्क गरेका थिए। तर ती व्यक्ति अमेरिकी अनुसन्धान निकाय ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) का सूचनादाता थिए। गुप्ताले ती व्यक्तिलाई न्युयोर्कमा पन्नूको हत्या गर्न सुटरको व्यवस्था गरिदिन आग्रह गरेका थिए।
अमेरिकी अधिकारीहरूका अनुसार यादवले गुप्तामार्फत ती व्यक्तिलाई हत्या गर्न एक लाख अमेरिकी डलर दिने प्रस्ताव गरेका थिए। सन् २०२३ जुन ९ आसपास गुप्ता र यादवले आफ्ना एक सहयोगीमार्फत १५ हजार अमेरिकी डलर अग्रिम रकमसमेत पठाएका थिए।
यस घटनामा पन्नूले भारत सरकार, राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का पूर्वप्रमुख सामन्त गोयलविरुद्ध अमेरिकामा छुट्टै मुद्दासमेत दायर गरेका छन्। उनले आफ्नो हत्या गर्ने षड्यन्त्रमा यी व्यक्तिहरू संलग्न रहेको आरोप लगाएका छन्।
नोभेम्बर १३ मा न्युयोर्कको साउदर्न डिस्ट्रिक्ट अदालतले उक्त मुद्दासँग सम्बन्धित समन तथा अन्य कागजात भारतका अदालतमार्फत सम्बन्धित अधिकारीसम्म पुर्याउन निर्देशन दिएको थियो। अजित डोभालका लागि पटियाला हाउस र सामन्त गोयलका लागि द्वारका तथा तीस हजारी अदालतसँग सहयोग मागिएको छ।
यद्यपि, गुप्ताका वकिल किर्शनरले पन्नूले दायर गरेको उक्त मुद्दा गुप्ताको आपराधिक मुद्दाभन्दा अलग रहेको बताएकी छन्। त्यसको गुप्तालाई सजाय सुनाउने सुनुवाइसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ। भारत सरकारले भने पन्नूको हत्या गर्ने कुनै पनि षड्यन्त्रमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नोभेम्बर १० मा भारतका वरिष्ठ अधिकारीहरूमाथि लगाइएका आरोप अस्वीकार गरेका थिए। उनले पन्नूले दायर गरेको मुद्दालाई समेत आधारहीन बताएका थिए। एजेन्सी
प्रकाशित: ५ मंसिर २०८३ ०८:४४ शनिबार