५ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–७ कदमहा चोकदेखि चकदह, प्रमाणपुर हुँदै वडा नम्बर १० को पटेर्वा चोकसम्म जोड्ने ग्रामीण सडक कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि रोकिएको सडक निर्माणले गति लिएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।
कुल ८ किलोमिटर ५०० मिटर लामो सडकखण्डमध्ये हालसम्म करिब ६ किलोमिटर कालोपत्र भइसकेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । बाँकी खण्डमा पनि निर्माण तथा कालोपत्रको काम भइरहेको छ ।
गौरी पार्वती के एन्ड केजी जेभीले २०७९ मंसिर १८ गते ठेक्का सम्झौता गरी २०८१ मंसिर १७ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, बजेट सुनिश्चित नहुँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी विश्व सुवेदीले बताए । उनका अनुसार अहिले थपिएको समयमा काम तीव्र पारिएको छ र यसै साताभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।
सडक डिभिजन कार्यालय लहानका इन्जिनियर राजेश यादवका अनुसार केही स्थानमा आवश्यक डेन्सिटी नपुगेपछि थप ग्राभेल र बेस राख्न लगाइएको छ । निर्माणको गुणस्तर कायम गर्दै सडक सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर टेकनाथ महतोका अनुसार २७ करोड ८ लाख १६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको सडकको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । केही स्थानमा नाला निर्माण र नालाको आउटलेट बनाउने कामसमेत भइरहेको उनले बताए ।
सुरुङ्गा नगरपालिका–१० का वडाध्यक्ष चन्द्रनारायण यादवले अधिकांश सडक कालोपत्र भइसकेको र बाँकी खण्डमा काम भइरहेको बताए । सडक निर्माण सम्पन्न भएपछि चन्हीदेखि लहानसम्म आवतजावत गर्न सहज हुने उनको भनाइ छ ।
स्थानीयवासीका अनुसार बलान नदीको किनार हुँदै निर्माण भइरहेको सडकले आवागमन सहज बनाउनुका साथै नदी कटान र डुबानको समस्याबाट राहत पुग्ने अपेक्षा गरिएको छ । बैरवनका स्थानीय जीवछ यादवले सडकलाई क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।
सडक स्तरोन्नतिले स्थानीय कृषि उत्पादनको बजारीकरणमा समेत सहजता थपेको छ । चकदहका दीपक चौधरीका अनुसार पहिले साँघुरो र जीर्ण सडकका कारण गाउँमा उत्पादित तरकारी तथा दलहन बाली लहान बजार पुर्याउन समस्या हुने गरेको थियो । अहिले अटोरिक्सा चल्न थालेपछि किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सहज भएको छ । लहानका निजी विद्यालयका बससमेत विद्यार्थी लिन गाउँसम्म आउन थालेको उनले बताए ।
सुरुङ्गा नगरपालिका–९ टिकुलियाका स्थानीय मोहम्मद सागीर हुसेनले लामो समय रोकिएको सडक निर्माणले पुनः गति लिएको बताए । उनका अनुसार यसअघि ६ किलोमिटर सडकको कालोपत्र २०८१ फागुनमै सम्पन्न भएको थियो । त्यसपछि रोकिएको निर्माण कार्य अहिले पुनः सुरु भएको हो ।
कालोपत्र हुन थालेपछि सडक आसपासका बस्तीको स्वरूपसमेत फेरिन थालेको स्थानीयको भनाइ छ । कुनै समय साँघुरो, धुलाम्मे र अतिक्रमणको चपेटामा रहेको सडक स्तरोन्नति भएपछि आवागमन बढेको छ भने सडक आसपास पक्की घर निर्माण हुने क्रम पनि बढेको छ ।
उक्त सडक कालोपत्र गर्ने निर्माणकार्यको शिलान्यास तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रेणुकुमारी यादवले गरेकी थिइन् ।