भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ
काठमाडौँ — बङ्गालको खाडीमा विकसित चक्रवात ‘अकवान’ थप शक्तिशाली बन्दै गएको छ । यो चक्रवात करिब ११५ किलोमिटर प्रतिघण्टाको गतिमा आन्ध्र प्रदेशतर्फ अगाडि बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो आँधी नोभेम्बर २० को दिउँसो नेल्लोर र विशाखापट्टनमबीच यनम तटमा ठोक्किने सम्भावना छ। त्यसबेला हावाको गति १३० देखि १४५ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ।
आँधीका कारण आन्ध्र प्रदेश, ओडिशा र तेलङ्गानालगायत आठवटा राज्यमा भारी वर्षाको चेतावनी दिइएको छ। आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भारी वर्षाको खतरा छ। सुरक्षाका लागि एनडीआरएफ र एसडीआरएफका टोलीहरू परिचालन गरिएका छन् भने माछा मार्न प्रतिबन्ध लगाइएको छ।
ओडिशाको दक्षिण क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिम छ। जोखिमयुक्त ठाउँबाट दुई लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।
तमिलनाडु र पुडुचेरीका तटीय क्षेत्रमा भारी वर्षा र तीव्र हावाद्वारी चल्ने सम्भावना छ। समुद्रमा उच्च छाल उठ्ने भएकाले सतर्कता अपनाइएको छ।
तेलङ्गाना र पश्चिम बंगालमा २० देखि २१ नोभेम्बरसम्म भारी वर्षा र तल्लो क्षेत्रमा बाढीको सम्भावना छ।
(अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा)