राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको खेल तालिका, स्थान र खेलाडी संख्याका आधारमा मंसिर ८ देखि १४ गतेसम्म करिब ३ हजार २ सय खेलाडी कर्णाली आइपुग्ने भएकाले उपलब्ध बेड संख्या पर्याप्त रहेको संयोजक हमालको दाबी छ।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशमा ५ हजार ९ सय बेड संख्या सुनिश्चित गरिएको खेलकुद परिषद्का उपाध्यक्ष तथा बास व्यवस्थापनका संयोजक प्रमोद हमाले बताए । उनका अनुसार होटलहरूको स्थलगत अनुगमन गरी एक/एक होटलको कोठा र बेड संख्या यकिन गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको खेल तालिका, स्थान र खेलाडी संख्याका आधारमा मंसिर ८ देखि १४ गतेसम्म करिब ३ हजार २ सय खेलाडी कर्णाली आइपुग्ने भएकाले उपलब्ध बेड संख्या पर्याप्त रहेको संयोजक हमालको दाबी छ।
‘हामी आफैं होटलमा पुगेर अनुगमन गरेका छौं। प्रदेश खेलकुद परिषद्का अध्यक्षसहितको टोलीले एक एक होटल जाँच गरेको छ। ५ हजार ९ सय बेड संख्या सुनिश्चित गरेका छौं। यस्तो अवस्थामा बसोबासको समस्या हुन्छ भन्नु वास्तविकताभन्दा बाहिरको कुरा हो,’ उनले भने। उनका अनुसार बसोबास व्यवस्थापनमा मुख्य चुनौती खेलाडीको स्तर र बजेटअनुसार होटल छनोट गर्नु हो। विभागीय टोलीका खेलाडीले आफ्नो सुविधाअनुसार फरक–फरक मूल्यका होटल खोज्ने भएकाले एउटै मापदण्डमा व्यवस्थापन गर्न कठिनाइ भएको उनले बताए। केही खेलाडी एक हजारदेखि १२ सय रुपैयाँसम्मको होटलमा बस्न तयार रहेको र कतिपयले सात सय रुपैयाँमै पनि बस्ने गरेको उनको भनाइ छ।
होटलको मूल्यअनुसार सुविधा फरक हुने भएकाले सस्तो होटल रोज्ने खेलाडीलाई त्यसअनुसारको सुविधा स्वीकार गर्न आग्रह गरिएको उनले बताए। ‘हामीले सस्तो होटल खोजिदिएका छौं भने खाना, पानी र बसोबासको सुविधाबारे अनावश्यक गुनासो नगर्न पनि आग्रह गरेका छौं,’ उनले भने। सातै प्रदेशका प्रतिनिधिसँग होटल व्यवस्थापनबारे निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए। कोशी र बागमती प्रदेशका प्रतिनिधिले होटलको स्थलगत निरीक्षण गरिसकेको तथा मधेश र लुम्बिनी प्रदेशले आफूहरूसँग सम्बन्धित होटल व्यवस्थापनमा सहमति जनाएको उनको भनाइ छ। सुदूरपश्चिमका प्रतिनिधिसँग पनि समन्वय भइरहेको उनले बताए।
विभागीय टोलीका प्रतिनिधिसँग भने होटल छनोटका क्रममा पर्याप्त समन्वय हुन नसकेको उनको भनाइ छ। विभागीय टोलीका प्रतिनिधि आफैं आएर होटल निरीक्षण गरेको भए बजेट र सुविधाअनुसार कोठा देखाएर व्यवस्थापन गर्न सहज हुने उनले बताए। ‘हामीले एक हजार रुपैयाँको कोठा खोज्ने हो भने त्यहीअनुसारको कोठा देखाएर सुविधा बुझाउन सक्थ्यौं। तर उहाँहरू आफैं होटल खोज्न जाँदा केही समस्या भयो,’ उनले भने।
होटल बुकिङका क्रममा समस्या आएपछि होटल व्यवसायीले समेत आफूलाई सम्पर्क गरेको उनले बताए। त्यसपछि सम्बन्धित पक्षसँग समन्वय गरेर समस्या समाधानको प्रयास गरिएको उनको भनाइ छ।
उनका अनुसार खेलाडी बस्ने होटलका कोठाको तस्बिरसमेत संकलन गरिएको छ। बाँकेलगायत अन्य जिल्लामा पनि होटलसँग समन्वय गरी बसोबासको व्यवस्था मिलाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्रीले समेत त्यहाँको व्यवस्थापनबारे चासो राखेर जानकारी लिएको उनले बताए।
‘बसोबासको अवस्था बुझ्न हामी आफैं मैदानमा छौं। होटल अनुगमन गरेका छौं। आवश्यक परे थप होटल पनि तयारी अवस्थामा राख्न सकिन्छ,’ उनले भने, ‘कर्णालीमा बसोबासका कारण कुनै पनि खेलाडीलाई अप्ठ्यारो हुन दिँदैनौं।’
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।