जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो ।
पर्सा — प्रहरीले वीरगन्जबाट भन्सार छली भारतबाट भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका लत्ताकपडा तथा तरकारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार वीरगन्जको इनर्वागाउँबाट ९ लाख ५३ हजार ३ सय ४५ रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ताकपडा बरामद गरिएको हो । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका ती कपडा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी, भन्सार छली ल्याउँदै गरेको २३ हजार ४ सय ८५ रुपैयाँ बराबरका तरकारी शुक्रबार सोही वडाको रजतजयन्ती चोकबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुई दिनमा प्रहरीले कुल ९ लाख ७६ हजार ८ सय ३० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।