शुक्रबार दिउँसो साढे २ बजे विद्यालयको कक्षाकोठाभित्र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो ।
बर्दिया — विद्यालयमा दराजले च्यापिएर एक बालिकाको मृत्यु भएको छ । बर्दिया गुलरिया सिकोहियाकी चार वर्षीया रिद्धि तमौलीको टाउकोमा गम्भीर चोट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
मृतक बालिका श्री जानकी माध्यमिक विद्यालयमा बालविकास कक्षामा अध्ययनरत थिइन् । शुक्रबार दिउँसो साढे २ बजे विद्यालयको कक्षाकोठाभित्र टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताए ।
'अहिले अबेर भइसकेकाले बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ,' उनले भने, 'घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।'
बालविकास कक्षाकी बालिकालाई कक्षा २ मा राखिएको दराजले च्याप्दा टाउकोमा चोट लागेको मृतकका बुवा रामनिरञ्जन तमौलीले बताए । 'दुःख गरेर हुर्काएर विद्यालयको जिम्मा लगाएको छोरीलाई विद्यालयको चरम लापरबाहीले गुमाउनुपर्यो,' उनले भने, 'घटना शंकास्पद छ । कक्षाकोठाभित्र राखिएको दराज छोरीमाथि कसरी खस्यो ?' उनले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे ।
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।