व्यक्तिगत तथा व्यावसायिक प्यान दर्तादेखि विवरण संशोधनसम्मको सुविधा उपलब्ध भएपछि करसम्बन्धी कामका लागि बुटवल धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिकाले करदाता सेवा सुरु गरेको छ। स्थायी लेखा नम्बर (प्यान) र व्यवसाय दर्ता प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाले करदाता सेवा सुरु गरेको अध्यक्ष नारायणबहादुर कार्कीले बताए।
अर्थ मन्त्रालयले करदाता सेवा कार्यालयको काम स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति लिएपछि गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता सेवा सुरु गरेको उनले जानकारी दिए।
आन्तरिक राजस्व कार्यालय बुटवल, रुपन्देहीको समन्वय तथा सहकार्यमा गाउँपालिकाको कार्यालयबाटै करसम्बन्धी सेवा सुरु गरिएको हो। प्रणालीगत सुधारमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सरकारी प्राथमिकताअनुरूप सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय तहमै सेवा उपलब्ध भएपछि समय र यातायात खर्च बचत हुनुका साथै करसम्बन्धी कामका लागि टाढा जानुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यसअघि करसम्बन्धी सामान्य कामका लागि समेत बुटवल पुग्नुपर्ने बाध्यता थियो। गाउँपालिकाबाटै सेवा पाउने भएपछि स्थानीय नागरिक, व्यवसायी तथा करदातालाई सहज हुने विश्वास गरिएको छ।
गाउँपालिका उपाध्यक्ष एवं राजस्व परामर्श समितिकी संयोजक कान्ता अधिकारीले स्थानीय तहमै करदाता सेवा सुरु भएपछि विशेषगरी व्यक्तिगत तथा व्यावसायिक प्यान लिन चाहने सेवाग्राहीलाई सहज हुने बताइन्। अब व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता र त्यससँग सम्बन्धित विवरण संशोधनका लागि गाउँपालिकाबाटै प्रक्रिया अघि बढाउन सकिने उनले जानकारी दिइन्।
प्यान दर्तासँग सम्बन्धित आवश्यक विवरण संकलन तथा बायोमेट्रिक प्रक्रिया पनि स्थानीय तहमार्फत गर्न सकिने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर घिमिरेले बताए।
सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, आन्तरिक राजस्व कार्यालय बुटवलका कर्मचारी तथा गाउँपालिकाका सम्बन्धित कर्मचारीको उपस्थितिमा सेवा शुभारम्भ गरिएको थियो। कार्यक्रममा आयकरमा व्यवसाय दर्ता, कारोबारसम्बन्धी विवरण अद्यावधिक, प्यानको विवरण परिवर्तन तथा आवश्यकताअनुसार दर्ता खारेजीसम्बन्धी काममा समेत सहजीकरण हुने जानकारी दिइएको थियो।
मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि आवश्यक प्रक्रिया र सिफारिस, अन्तःशुल्क लाग्ने वस्तुको कारोबारका लागि इजाजतपत्र जारी तथा नवीकरण गर्न आवश्यक कागजात जाँच र सम्बन्धित कार्यालयसँग समन्वय गर्ने काम पनि स्थानीय तहबाट हुने गाउँपालिकाका प्रशासकीय अधिकृत रुकलाल भट्टराईले बताए।
कर चुक्ता प्रमाणपत्र, कर भुक्तानी तथा अन्य करसम्बन्धी काममा समेत आवश्यक सहजीकरण र समन्वय गर्न सकिने उनले जानकारी दिए। केही सेवाको अन्तिम स्वीकृति भने आन्तरिक राजस्व कार्यालयबाटै हुने व्यवस्था रहेको उनले बताए।
करसम्बन्धी सेवा लिन बुटवल पुग्नुपर्ने अवस्थाले विशेषगरी ग्रामीण क्षेत्रका नागरिक तथा साना व्यवसायीलाई समय र यातायात खर्चको समस्या हुने गरेको थियो। अब गाउँपालिकाबाटै सेवा उपलब्ध हुँदा सर्वसाधारण, व्यवसायी, संघसंस्था तथा विभिन्न पेसा व्यवसायमा संलग्न करदातालाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
सरकारले कर प्रशासनलाई नागरिकको नजिक पुर्याउने र सेवा प्रवाह सहज बनाउने उद्देश्यले आन्तरिक राजस्व विभागअन्तर्गतका करदाता सेवा स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था अघि बढाएको हो। रिब्दीकोटमा पनि सेवा सुरु भएपछि करसम्बन्धी आधारभूत कामका लागि टाढा जानुपर्ने बाध्यता कम हुने गाउँपालिकाले अपेक्षा गरेको छ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।