गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली ४ का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो।
सुर्खेत — हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली ४ का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहीबार अध्यक्ष शाही र चालक सिंहबीच पारिश्रमिकको विषयलाई लिएर विवाद भएको थियो।
गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका सिंहले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै रकम माग गरेका थिए। अध्यक्ष शाहीले कर्मचारीको तलब भुक्तानी गर्ने जिम्मेवारी कार्यालय प्रमुखको भएको, आफूले दिनुपर्ने होइन भनेपछि विवाद बढेको प्रारम्भिक जानकारी आएको छ। हुम्लाका प्रहरी प्रमुख डीएसपी शंकर खड्काका अनुसार चालक मादक पदार्थ सेवन गरेर गाउँपालिका कार्यालय पुगेका थिए। पारिश्रमिकको विषयमा भनाभन भएपछि घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। कुटपिटबाट घाइते भएका सिंहलाई सिटी स्क्यानका लागि नेपालगन्ज लगिएको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।