भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
अस्ट्रेलिया — भिक्टोरिया राज्यमा हुन गइरहेको निर्वाचनमा नेपालीमूलका शंकर धरेल संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । अस्ट्रेलियाको दोस्रो ठूलो पार्टी लिबरलबाट राज्यको निर्वाचनमा उम्मेदवार बन्ने धरेल नेपालीमूलका पहिलो व्यक्ति हुन् ।
भिक्टोरिया राज्यमा यही महिनाको २८ तारिख शनिबार निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लिबरल पार्टीबाट उनी राज्यको नर्दन मेट्रोपोलिटन क्षेत्रबाट उम्मेदवार बनेका हुन् । भिक्टोरियामा तल्लो सदनमा ८८ जना निर्वाचित हुने प्रावधान छ भने माथिल्लो सदनलाई ८ क्षेत्रमा विभाजन गरिएको छ, जसमा हरेक क्षेत्रबाट ५ जना निर्वाचित हुने ब्यवस्था गरिएको छ । भिक्टोरिया राज्यमा हरेक ४ वर्षमा निर्वाचन हुने गर्दछ ।
लामो समयदेखि भिक्टोरियामा बसोबास गर्दै आएका धरेल नेपालको चितवनबाट सन् २०१३ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका हुन् । उनी अहिले भिक्टोरियामा अधिवक्ताका रुपमा कार्यरत छन् । लिबरल पार्टीमा लामो समयदेखि आबद्ध उनी उक्त पार्टीबाट राज्यको संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउने पहिलो नेपालीमूलका अस्ट्रेलियाली नागरिक हुन् ।
अबको करिब एकसातापछि हुने निर्वाचनको प्रि–पोल यसअघि नै खुलिसकेको छ । जसमा नागरिकलाई निर्वाचनको दिनभन्दा अघि नै मत खसाल्न पाउने अधिकार दिइएको छ । हरेक दिन मतदान केन्द्रमा उपस्थित भएर मत मागिरहेका भेटिने धरेलले कान्तिपुरसँगको कुराकानीमा नेपालीमूलको नागरिकले संसदमा दोस्रो ठूलो दलको तर्फबाट उम्मेदवारी पाउनु गर्वको विषय भएको सुनाए ।
उनले आफूलाई नेपाली समुदायबाट उल्लेख्य सहयोग प्राप्त भइरहेको सुनाउँदै जितहार जे भए पनि आफ्नो समुदाय र निर्वाचनक्षेत्रका लागि गरिरहेको कामलाई निरन्तरता दिने बताए । ‘विद्यार्थीको रुपमा आएको नेपालीले यो स्तरको अवसर विस्वास पाउनु आफैंमा गर्वको विषय हो,’ धरेलले सुनाए ।
उनले अस्ट्रेलियामा हुर्किरहेका दोस्रो पुस्ताका नेपालीलाई स्थानीय राजनीतिमा आउन प्रेरित गर्ने बताए । ‘अहिले हामीले विस्तारै जुन अवसर पाइरहेका छौं, त्यसले यहाँ जन्मिएर हुर्किरहेका दोस्रो पुस्ताका नेपालीलाई अस्ट्रेलियाली राजनीति बुझ्न र अघि बढ्न प्रेरित गर्छ ।’ उनी आफूले पाएको अवसरले यहाँ रहेका समग्र नेपालीको परिचयलाई समेत विस्तृत बनाउन मद्दत गर्ने बताए । उनले लिबरलबाट उम्मेदवारी पाए पनि जितेपछि आफूले कुनै दल वा समूह नभनी सबैको लागि प्रतिनिधिका रुपमा काम गर्ने विश्वास दिलाए ।
‘हो निर्वाचनमा हारजीत हुन्छ नै, तर नतिजा जे भए पनि नेपाली र अन्य सबै समुदाय र समग्र पार्टीको गरिरहेको काममा कुनै कमी हुन दिनेछैन ।’ उनले आफू विजयी हुनेमा विश्वस्त रहेको समेत सुनाए ।
अस्ट्रेलियामा विगत केही समयदेखि रास्ट्रिय, राज्य र स्थानीयस्तरको राजनीतिमा नेपालीमूलका नेपालीले स्थान पाउने क्रम बढ्दै गएको छ । यसपहिले न्यु साउथ वेल्स राज्यबाट प्रमेज श्रेष्ठ, विनोद पौडेल, पश्चिम अस्ट्रेलियाबाट भुवन खड्काले पनि मुख्य दलहरुबाट उम्मेवारी पाएका थिए । यद्यपी उनीहरुले जीत भने हासिल गर्न सकेनन् भने दक्षिण अस्ट्रेलिया, न्यु साउथ वेल्स राज्यबाट स्थानीय राज्यतहमा केही नेपालीमूलका उम्मेदवारले काउन्सिलरमा जीत हासिल गरिसकेका छन् ।
नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।