जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक नेताले बताए । शुक्रबार साँझ जनकपुर आइपुगेका यादवले आफ्नो दल जसपा नेपालका प्रदेश सांसदसँग एक्ला–एक्लै भेटेर छलफल गरिरहेका छन् ।
जनकपुर — सरकारको दाबी पेश गर्ने आज(शुक्रबार) अन्तिम दिन रहे पनि मधेश प्रदेशका ठूलो दल जसपा नेपालले एमालेसँग सहकार्य गर्न नसकिने अडान राख्दा नयाँ सरकार गठन प्रकृया लम्बिने देखिएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक नेताले बताए । शुक्रबार साँझ जनकपुर आइपुगेका यादवले आफ्नो दल जसपा नेपालका प्रदेश सांसदसँग एक्ला–एक्लै भेटेर छलफल गरिरहेका छन् ।
अध्यक्ष यादवसित भेटेका जसपा नेपालका एक प्रदेश सांसदका अनुसार उनी एमालेसँग सहकार्य गर्न तयार छैनन् । ‘एमालेले दल टुक्रयाएको, लुम्बिनीमा आफ्नो सांसद तानेर सरकार बनाएको र मधेश प्रदेशमा पनि लुम्बिनीजस्तै हविगत ल्याउन खोजेको भन्दै जसपा नेपालका अध्यक्ष यादव एमालेसँग रुष्ट हुनुहुन्छ,’ ती सांसदले भने, ‘एमालेसँग सरकारमा नजाने अध्यक्षजीको प्रष्ट अडान आइसकेको छ । अब अर्को कुन विकल्पमा जाने भने छलफल भइरहेको छ ।’
जसपा नेपालका अध्यक्ष यादव मधेश प्रदेशमा कांग्रेस र जनमत पार्टीसँग मिलेर सरकार बनाउन चाहेका छन् । तर, कांग्रेसले यस मामिलामा प्रष्ट पारेको छैन । दुई दिनअघि कांग्रेसको जनकपुरमा बसेको संसदीय दलको बैठकमा सरकार लागि आफूहरु खुला रहेको सहमति गरेको थियो ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न तोकेको समय आज सकिँदै छ ।
संविधानको धारा १६८ को २ बमोजिम शुक्रबारसम्म दलहरुको दाबी पेश नभए फेरि केही समय दिने विषयमा प्रदेश प्रमुख कर्ण कानुनी परामर्शमा छन् । शुक्रबारको समय घर्किए र केही समय नथपिए संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालका संसदीय दलका नेता मुख्यमन्त्री बन्ने छन् ।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।