Trending
Prev Story
Next Story

बेंसीसहरका ७४० कृषकलाई अनुदानमा जै घाँसको बीउ

Ekantipur •
November 20, 2026 • 05:33 AM
4
4 reads 0 reactions

हिउँदमा हरियो घाँसको अभाव टार्ने यो पौष्टिक घाँसले गाईभैंसीको दूध उत्पादन र शारीरिक वृद्धिमा समेत सहयोग पुर्‍याउने अपेक्षा छ ।

बेंसीसहरका ७४० कृषकलाई अनुदानमा जै घाँसको बीउ

हिउँदमा हरियो घाँसको अभाव टार्ने यो पौष्टिक घाँसले गाईभैंसीको दूध उत्पादन र शारीरिक वृद्धिमा समेत सहयोग पुर्‍याउने अपेक्षा छ ।

लमजुङ — हिउँदमा हरियो घाँसको अभाव हुने समस्या टार्न लमजुङको बेंसीसहर नगरपालिकाका किसान जै घाँस खेतीतर्फ आकर्षित भएका छन् ।

गाईभैंसीका लागि पौष्टिक मानिने जै घाँसले हिउँदमा पशु आहारको अभाव पूर्ति गर्नुका साथै दूध उत्पादनमा समेत सहयोग पुर्‍याउने भएपछि यसको खेतीप्रति किसानको चासो बढेको हो ।

किसानलाई जै घाँस खेतीमा प्रोत्साहन गर्न बेंसीसहर नगरपालिकाले यस वर्ष ७ सय ४० जनाभन्दा बढी कृषकलाई अनुदानमा बीउ वितरण गरेको छ । बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने बीउ नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्रतिकिलो ४१ रुपैयाँमा उपलब्ध गराएको हो। सस्तो मूल्यमा बीउ पाउने भएपछि नगरपालिकामा बीउ लिन आउने किसानको भीड लागेको थियो ।

बेंसीसहर नगरपालिका–६, सारिङका रामबहादुर अधिकारीले हिउँदमा बस्तुभाउलाई हरियो घाँसको अभाव हुने र यसका लागि जै घाँसको खेती गरिने बताए। बजारमा महँगो मूल्य पर्ने बीउ नगरपालिकाले सहुलियतमा उपलब्ध गराएपछि खेती गर्न सहज भएको उनले बताए ।

‘बजारमा प्रतिकिलो डेढ सय रुपैयाँ पर्ने बीउ यहाँ ४१ रुपैयाँमै पाइयो । पशुका लागि आफ्नै बारीमा घाँस उत्पादन गर्न पाइने भएपछि १५ किलो बीउ लिएको छु,’ उनले भने । उनका अनुसार चैत–वैशाखमा हरियो घाँसको अभाव हुन्छ। त्यतिबेला आफ्नै बारीमा उत्पादन भएको घाँस खुवाउन पाइने भएकाले जै घाँस खेती गर्न लागेको उनले बताए ।

बेंसीसहर नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखामार्फत वितरण गरिएको बीउ गोरखाबाट प्रतिकिलो ८२ रुपैयाँका दरले खरिद गरिएको हो । खरिद मूल्यमा ५० प्रतिशत अनुदान दिएर कृषकलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यस वर्ष ४ हजार ८ सय किलो जै घाँसको बीउ वितरणका लागि ल्याएको थियो। यसमध्ये बेंसीसहर नगरपालिका–११, चिती क्षेत्रका कृषकलाई ४ सय किलो वितरण गरिएको छ । बाँकी बीउ नगरपालिकाभित्रका अन्य वडाका कृषकलाई उपलब्ध गराइएको शाखाले जनाएको छ । एक जना कृषकलाई अधिकतम ३५ किलोसम्म बीउ वितरण गरिएको छ ।

बेंसीसहर नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पशु चिकित्सक डा. अन्जली पुलामी मगरका अनुसार जै घाँस हिउँदमा उत्पादन लिन सकिने पौष्टिक र एकवर्षे घाँस हो । असोजदेखि मंसिरसम्म लगाउन सकिने यस घाँसबाट पुस, माघ र फागुनमा उत्पादन लिन सकिन्छ । तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिने जै घाँस विशेषगरी हिउँदमा हरियो घाँसको अभाव हुने किसानका लागि उपयोगी हुने उनले बताइन् ।

‘हिउँदको समयमा हरियो घाँस पर्याप्त नहुने भएकाले पशु आहार व्यवस्थापनका लागि जै घाँस प्रभावकारी विकल्प हो । किसानले यसको महत्त्व बुझेर नै बीउ वितरण भएको छोटो समयमै लिनुभएको छ,’ उनले भनिन् । उनका अनुसार गत सोमबारदेखि बीउ वितरण गरिएको हो। गाईभैंसीले रुचाएर खाने यो घाँसले दूध उत्पादन र पशुको शारीरिक वृद्धिमा समेत सहयोग पुर्‍याउने उनले बताइन्। पशुका लागि पौष्टिक आहारको व्यवस्था गर्न जै घाँस खेती उपयोगी हुने उनी बताउँछिन् ।

एक रोपनी जग्गामा डेढ किलोदेखि ५ किलोसम्म जै घाँसको बीउ छर्न सकिन्छ । बजारमा महँगो मूल्य तिरेर बीउ खरिद गर्नुपर्ने बाध्यता कम गर्दै पशुपालनमा आबद्ध किसानलाई घाँस खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

उनका अनुसार जै घाँस खेती विस्तारसँगै हिउँदमा पशु आहारको व्यवस्थापन सहज हुने र व्यावसायिक पशुपालनमा लागेका किसानका लागि लाभ पुग्ने अपेक्षा गरिएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ उपलब्ध गराएको हो …

#बीउ #कृषक #अनुदान
Compare →

Related Stories

Business & Economy
Build #2612