कुशल भुर्तेल, लोकेश बम र सन्दीप लामिछानेको प्रदर्शनले बलियो भारतीय टोलीविरुद्ध नेपालको सुरुआत कति प्रभावशाली हुन्छ भन्ने तय गर्नेछ।
काठमाडौँ — नेपालले बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध खेल्दै शुक्रबार एसिया कप राइजिङ स्टार्स प्रतियोगिता सुरु गर्दै छ । कतारको दोहामा एसियाका इमर्जिङ खेलाडीबीचको प्रतियोगिता बिहीबार सुरु भइसकेको छ । नेपालले वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउॅसो पौने ४ बजे हुने खेलमा भारत ‘ए’ को सामना गर्नेछ । प्रतियोगिताअघि भारत ‘ए’ का कप्तान तिलक बर्माले नेपाली क्रिकेटको प्रशंसा गरेका छन् ।
कप्तानहरूको पत्रकार सम्मेलनमा उनले पछिल्ला केही वर्षमा नेपालले क्रिकेटमा उल्लेखनीय प्रगति गरेको बताए । ‘पछिल्ला केही वर्षलाई हेर्ने हो भने नेपालले अफगानिस्तानसॅग निकै राम्रो प्रदर्शन गरिरहेको छ । इमर्जिङ लेभलमा मात्र होइन, सिनियर टोलीको स्तरमा पनि उनीहरूको प्रदर्शन राम्रो छ । नेपाल र अफगानिस्तानसँग खेल्न निकै उत्साही छु । सबै प्रतिद्वन्द्वी राम्रा छन्, तर नेपाल र अफगानिस्तानसॅगको प्रतिस्पर्धा विशेष रोमाञ्चक हुनेछ,’ तिलकले भने ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर अन्तर्राष्ट्रिय अनुभव र युवा प्रतिभाको राम्रो संयोजन छ । कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, देव खनाल र लोकेश बमजस्ता खेलाडी टोलीका महत्वपूर्ण सदस्य हुन् ।
विशेषगरी बलिङमा सन्दीप लामिछाने र ललित राजवंशी प्रमुख हतियार बन्न सक्छन् । सोमपाल कामीले चोटका कारण प्रतियोगिता गुमाउने भएपछि उनलाई प्रतिश जिसीले प्रतिस्थापन गरेका छन् भने यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई टिममा समावेश गरिएको छ ।
जारी एनपीएलमा शीर्ष चारमा नपरेका टोलीका खेलाडीमात्र नेपाली टोलीमा छन् । त्यसअनुरुप मयनले स्थान बनाएका छन् । एनपीएल फाइनलमा पुगेको डिफेन्डिङ च्यम्पियन लुम्बिनी लायन्सका सन्दीप जोरा र अविशेष गौतम पनि टिममा छन् । साथै सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले राइजिङ स्टार्सको शीर्षक्रममा ब्याटिङ गर्ने छन् ।
ब्याटिङतर्फ कुशल भुर्तेल र लोकेश बमबाट नेपालले ठूलो अपेक्षा गरेको छ । एनपीएलमा २ सय ४२ रनसहित लोकेश शीर्ष रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । कुशलको पोखरा एभेन्जर्सले खास प्रदर्शन गर्न नसके पनि उनले एनपीएल ३ मा २ सय ३५ रन प्रहार गर्दै लय समातेका थिए ।
तर, भारत ‘ए’ विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । भारतीय टोलीमा अन्तर्राष्ट्रिय र आईपीएलको अनुभव बटुलेका खेलाडीको बाहुल्य छ । आक्रामक ओपनर अभिषेक शर्मा, युवा ब्याटर वैभव सूर्यवंशी र विस्फोटक फिनिसर रिंकु सिंह मुख्य आकर्षणका रूपमा छन् । तीव्र गतिका बलर हर्षित राणा पनि भारतीय टोलीमा फर्किएका छन् । बलिङमा हर्षितको गति र आक्रामण नेपालका ब्याटरका लागि चुनौती बन्न सक्छ ।
यी दुई टोलीबीच यसअघि सन् २०२३ को इमर्जिङ टिम्स एसिया कपमा प्रतिस्पर्धा भएको थियो । श्रीलंकाको कोलम्बोमा भएको खेलमा भारत ‘ए’ ले नेपाललाई ९ विकेटले हराएको थियो । १६८ रनको लक्ष्य भारतले एक विकेटमै पूरा गरेको थियो ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो । समूह ‘बी’ मा रहेको नेपालले आइतबार यूएई र मंगलबार पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।
सुबास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।