सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।
बर्दिया — सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले ढिलो गरी धान खरिद सुरु गरेको छ । खाद्यले आज शुक्रबारदेखि धान खरिद सुरु गरेको हो । खाद्यले धान खरिदमा ढिलाइ गर्दा अधिकांश किसानले निजी व्यापारीलाई सस्तोमा धान बेचिसकेका छन् ।
सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । तर, धान खरिदमा ढिलाइ हुँदा अधिकांश किसानले निजी व्यापारीलाई मोटो धान प्रतिक्विन्टल २ हजार ८ सय र मध्यम धान ३ हजार २ सय रुपैयाँमा बेचिसकेका छन् ।
धान खरिदका लागि खाद्यले बिहीबार राजापुरअन्तर्गतका ४ सय किसानलाई कुपन वितरण गरेको छ । कुपन वितरण गरिएका किसानको धान खरिद सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले बताए । ‘राजापुर र बारबर्दिया नगरपालिकामा धान खरिद सुरु भएको छ,’ उनले भने, ‘गोदाम व्यवस्थापन गर्ने पालिकामा धान खरिद गर्ने तयारी छ ।’ प्रत्येक किसानबाट २० क्विन्टलका दरले धान खरिद गर्ने उनले जनाए ।
चालु आर्थिक वर्षमा ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले जनाएको छ । मोटो २५ हजार क्विन्टल र मध्यम ५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ । जिल्लास्थित आठवटै पालिकाबाट ३/३ हजार क्विन्टलका दरले र बाँकी खाद्य कम्पनी राजापुर मुख्य शाखाबाट खरिद गरिने जनाइएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुन्छ । यस वर्षको हालसम्म स्थानीय तहबाट धान उत्पादनको तथ्यांक प्राप्त नभएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकी प्रमुख कमला अधिकारीले बताइन् । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा २ लाख २५ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्ष पनि खाद्यले ३० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । उत्पादन बढी र सरकारले धान खरिद गर्ने कोटा कम हुँदा अधिकांश किसान निजी व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य छन् । उत्पादनअनुसार सरकारले धान खरिदको कोटा निर्धारण गर्नुपर्ने स्थानीय किसानहरूको माग छ ।
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।