सात दिनसम्म चल्ने प्रतियोगितामा खेलाडीहरूले ११ सयभन्दा बढी मेडल र एक सयभन्दा बढी ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन्।
भक्तपुर — भक्तपुरमा बिहीबारबाट नगरस्तरीय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । भक्तपुर नगरपालिकाले वार्षिक रुपमा आयोजना गर्दै अएको नगरस्तरीय खेलकुद प्रतियोगितामा नगरभित्रका संस्थागत र सामुदायिक गरी ८४ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाकारी दिएको छ ।
प्रतियोगितामा टेबुल टेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, ऐथलेटिक्स, बुद्धिचाल, करातें, उसु, पोर्टवबल लगाएत १५ वटा खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा हुने छ ।
सात दिनसम्म हुने प्रतियोगितामा ८४ विद्यायलयका ३ हजार २ सय ४५ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितमा विजयी खेलाडी तथा टिमलाई ट्रफी तथा मेडल प्रदान गरिने नगरपालिकाले जनाएको छ । विभिन्न खेलकुद मा सहभागि खेलाडीले ११ सय भन्दा बढी मेडल र एक सय भन्दा बढी ट्रफीको लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ । भक्तपुरको सहिद स्मृति खेल मैदानमा बिहीबार उद्घाटन भएको प्रतियोगित मंसिर ९ गतेसम्म चल्ने छ ।
नगरस्तरीय खेल प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले युवा तथा विद्यार्थी अवस्थामै शरीरलाई स्वस्थ राख्न सके असल र सक्षम नागरिक बनाउन सकिने बताए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिक जीवनको अभिन्न अंगका रूपमा विकास गर्न समय–समयमा अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, राष्ट्रिय प्रतियोगितामा विजयी तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भक्तपुरका खेलाडीहरूलाई सम्मान गर्ने र उपयुक्त स्थानमा खेलकुद कभर्ड हल निर्माण गर्ने विषय निर्वाचन घोषणापत्रमा समेटिएको बताए ।
भक्तपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण तथा खेलाडी उत्पादनमा समेत जोड दिँदै आएको बताउँदै उनले भक्तपुर नगरपालिका–८ लिबालीमा ब्याडमिन्टन कभर्ड हल र वडा १० बेखालमा टेबलटेनिस कभर्ड हल निर्माण सम्पन्न गरी खेल प्रशिक्षण सञ्चालन गरिरहेको उनको भनाई थियो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुद क्षेत्रलाई अझै अनिवार्य र व्यवस्थित बनाउन नसकिएको उल्लेख गर्दै उनले स्थानीय तहबाट भक्तपुर नगरपालिकाले गरेको अगुवाइ सराहनीय रहेको बताए।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन र्याली भक्तपुर नगरपालिका वडा ९ स्थित दत्तात्रयबाट सुरु भई गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो र दुधपाटी हुँदै सहिद स्मृति खेलमैदानमा पुगेर समापन भएको थियो ।
सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।