Trending
Prev Story
Next Story

मकवानपुरमा चार वर्षमा साढे २२ हजार मात्र मतदाता थपिए

Ekantipur •
November 19, 2026 • 10:32 AM
2
2 reads 0 reactions

दुर्गम पालिकाबाट सहरतर्फको बसाइँसराइले ग्रामीण क्षेत्रको मतदाता संरचना बदलिरहेको छ।

मकवानपुरमा चार वर्षमा साढे २२ हजार मात्र मतदाता थपिए

दुर्गम पालिकाबाट सहरतर्फको बसाइँसराइले ग्रामीण क्षेत्रको मतदाता संरचना बदलिरहेको छ।

हेटौंडा — मकवानपुरमा करिब चार वर्षको अवधिमा साढे २२ हजार मतदाता थपिएका छन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा कात्तिक १५ गतेसम्म ३ लाख १७ हजार ४ सय ३५ मतदाता रहेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ मतदाता थिए । करिब चार वर्षमा जिल्लामा २२ हजार ५ सय १६ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

मकवानपुरका १० वटा पालिकामध्ये सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा छन् । उक्त उपमहानगरपालिकामा २०८३ कात्तिक १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका १ लाख १७ हजार ७ सय १ मतदाता रहेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौंडामा १ लाख ४ हजार ४ सय ७३ मतदाता थिए । करिब चार वर्षको अवधिमा यहाँ १३ हजार २ सय २८ मतदाता थपिएका छन् ।

मकवानपुरमा थपिएका कुल मतदातामध्ये ५० प्रतिशतभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा मात्रै थपिएको निर्वाचन अधिकारी ढकालले बताए ।

मकवानपुरका १० वटा पालिकामध्ये एउटा पालिकामा भने करिब चार वर्षमा मतदाता संख्या बढ्नुको सट्टा घटेको छ । जिल्लाको भौगोलिक क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा सानो इन्द्रसरोवर गाउँपालिकामा चार वर्षमा १ सय ५२ मतदाता घटेका छन् । पालिका छाडेर अन्यत्र बसाइँ सरेका कारण मतदाता संख्या घटेको हुन सक्ने प्रदेश निर्वाचन कार्यालयका कर्मचारीको अनुमान छ ।

संघीय राजधानीसँग जोडिएको उक्त गाउँपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा १२ हजार ४ सय ७१ मतदाता थिए । २०८३ कात्तिक १५ सम्म यो संख्या घटेर १२ हजार ३ सय १९ पुगेको छ । पाँचवटा वडामा विभाजित उक्त पालिकामा मतदाता संख्या घट्नुको कारणबारे जिज्ञासा राख्दा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बसाइँसराइकै कारण यस्तो भएको बताए ।

यसैगरी मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा करिब चार वर्षको अवधिमा २ हजार १ सय ७७ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार थाहा नगरपालिकामा २०८३ कात्तिक १५ सम्म १८ वर्ष उमेर पूरा भएका ३४ हजार ४ सय ८४ मतदाता छन् । २०७९ को स्थानीय तह निर्वाचनमा यहाँ ३२ हजार ३ सय ७ मतदाता थिए ।

मकवानपुरका अन्य पालिकामा भने चार वर्षको अवधिमा तुलनात्मक रूपमा कम मतदाता थपिएका छन् । मनहरी गाउँपालिकामा २ हजार ४ सय ७६ मतदाता थपिएका छन् भने दुर्गम राक्सिराङ गाउँपालिकामा ३ सय ४२ जना मात्र थपिएका छन् । अर्को दुर्गम पालिका कैलाश गाउँपालिकामा १ हजार ४ सय ८९ मतदाता थपिएका छन् ।

यसैगरी मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकामा चार वर्षको अवधिमा ४ सय ५८ मतदाता मात्र थपिएका छन् । जिल्लाका गाउँपालिकामध्ये भौगोलिक क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो बकैया गाउँपालिकामा ९ सय ७८ र जिल्लाको पूर्वसदरमुकाम भीमफेदी गाउँपालिकामा ५ सय ३२ मतदाता थपिएका छन् ।

दुर्गम पालिकाका विकट गाउँबस्तीमा सडक, बिजुली, शिक्षा र अन्य आधारभूत सुविधा विस्तार भए पनि मानिसको बसाइँ गाउँमा टिक्न सकेको छैन । रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुविधासम्पन्न जीवनको खोजीमा युवा तथा परिवार वैदेशिक रोजगारी, संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडालगायत सहरतर्फ जाने क्रम रोकिएको छैन । ‘गाउँमा विकास पुगेको छ तर ग्रामीण भेगका बासिन्दा सहर कुदेका छन्,’ इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भने ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ३२ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा मकवानपुरको जनसंख्या वृद्धिदर ० दशमलव ९९ प्रतिशत छ । २०७८ को जनगणनाअनुसार मकवानपुरको जनसंख्या ४ लाख ५८ हजार ४ सय ९४ रहेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसा...

#मतदाता #निर्वाचन
Compare →
Nagarik News
6h ago
मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, १० जना घाइते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, १० जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

#मकवानपुर
Compare →
Arthasansar
1d ago
मकवानपुरको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

मकवानपुरको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

काठमाडौं–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका...

#मकवानपुर
Compare →

Related Stories

National (Nepal)
Build #2612