रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक सुमो बिहीबार बिहान भैंसेको घुम्तीबाट करिब १० मिटर तल खोलामा खसेपछि दुर्घटना भएको हो।
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।
दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो ।
हेटौंडा अस्पतालमा चिकित्सकले बिहान ९ : २० बजे तीन जनालाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।