एक व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।
‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ। अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ,' उनले भने, 'सबै प्रतिनिधि तथा नेताहरूले आफ्नो परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्छ ।’
बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिए ।