Trending
Prev Story
Next Story

जोखिमपूर्ण हेटौंडा-काठमाडौं सडक : भीमफेदीमा १० महिनामै ३ ठूला दुर्घटना, २३ जनाको मृत्यु

Ekantipur •
November 19, 2026 • 10:32 AM
2
2 reads 0 reactions

एक साताअघि मात्रै भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । रातिको सवारी आवागमनमा प्रतिबन्ध लगाइए पनि साँघुरो सडक, जोखिमपूर्ण घुम्ती र सुरक्षित पूर्वाधारको अभाव हट्न सकेको छैन ।

जोखिमपूर्ण हेटौंडा-काठमाडौं सडक : भीमफेदीमा १० महिनामै ३ ठूला दुर्घटना, २३ जनाको मृत्यु

एक साताअघि मात्रै भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । रातिको सवारी आवागमनमा प्रतिबन्ध लगाइए पनि साँघुरो सडक, जोखिमपूर्ण घुम्ती र सुरक्षित पूर्वाधारको अभाव हट्न सकेको छैन ।

काठमाडौँ — मकवानपुरको भीमफेदी क्षेत्रमा लगातार भइरहेका सवारी दुर्घटनाले हेटौंडा–काठमाडौं सडकखण्डको सुरक्षामाथि फेरि प्रश्न उठाएको छ । दुर्घटना न्यूनीकरणका लागि प्रशासनले रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ भने सडक पूर्वाधार सुधारसहित थप सुरक्षा उपाय अपनाउनेबारे छलफल भइरहेको छ ।

बिहीबार बिहान हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–१ मा यात्रुवाहक जिप भैंसे खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना१ज २१४३ नम्बरको जिप बिहीबार बिहान करिब ८ः३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा चालकसहित जिपमा सवार सबै १० जना घाइते भएका थिए। प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो। अस्पतालमा चिकित्सकले बिहान ९ः२० बजे तीन जनालाई मृत घोषणा गरेका थिए। मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरका २५ वर्षीया अनुसा लामा, २० देखि २२ वर्ष उमेरकी जेशिका भन्ने अस्मिता तिमल्सिना र ५० वर्षीय बमबहादुर वाइबा छन्।

घाइते हुनेमा चालक चन्द्रनिगाहपुरकै ३३ वर्षीय कालुमान लोप्चन, १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

भीमफेदीमा एक साताअघि मात्रै कात्तिक २६ गते भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । टीकाथलीबाट सर्लाही जाँदै गरेको माइक्रोबस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको थियो । उक्त दुर्घटनापछि प्रशासनले भीमफेदी, कुलेखानी हुँदै फाखेल वा सिस्नेरी भएर जाने हेटौंडा–काठमाडौं सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ ।

कात्तिक ३० देखि लागू भएको व्यवस्थाअनुसार काठमाडौं जाने सवारीसाधन बिहान ५ बजेपछि मात्रै चलाउन पाइन्छ। सबै सवारीसाधनले साँझ ६ बजेसम्म भैंसे प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार सडकमा विभिन्न ठाउँमा घुम्ती हुनुका साथै सडक साँघुरो र बत्तीको व्यवस्था नहुँदा चालक तथा यात्रु दुवैलाई जोखिम छ। त्यसैले रातिको आवागमनमा प्रतिबन्ध लगाइएको हो।

‘कात्तिक २६ गतेको दुर्घटना चालक निदाएका कारण भन्ने जानकारी आएको छ। सडक सुरक्षाका लागि नै आवागमनमा प्रतिबन्ध लगाइएको हो,’ पौडेलले भने।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ८२ किलोमिटर लामो हेटौंडा–काठमाडौं सडकखण्डमा धेरै घुम्ती र मोड छन्। सडकका २२ देखि २३ वटा स्थानमा एकतर्फी मात्रै सवारीसाधन आवागमन गर्न मिल्ने अवस्था रहेकाले दुर्घटनाको जोखिम बढेको उनले बताए। विशेषगरी चाडपर्वका बेला यस सडकखण्डमा बढी दुर्घटना हुने गरेको काफ्लेको भनाइ छ । त्यतिबेला सरकारले सडक अनुमति पत्र (रुट परमिट) बिना नै सवारीसाधन सञ्चालन गर्न दिने गरेको छ। 'सडकसँग परिचित नभएका चालकलाई कहाँ घुम्ती र मोड छन् भन्ने जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको हो,' उनले भने ।

पौडेलका अनुसार सडक सुरक्षा र उक्त खण्डको पूर्वाधार सुधारका विषयमा छलफल गर्न मुख्यमन्त्रीले मकवानपुरमा सरोकारवालासहित बैठक बोलाएका थिए। बैठकमा प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाको सहभागिता थियो। बैठकले सडक सुरक्षा र पूर्वाधार सुधारसम्बन्धी केही निर्णय गरे पनि ती निर्णयबारे जिल्ला प्रशासन कार्यालयलाई औपचारिक जानकारी आइसकेको छैन।

कात्तिक २६ को दुर्घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएपछि जिल्ला प्रशासन कार्यालयले सडक सुरक्षाका लागि थप कदम चाल्ने पौडेलले बताए।

भीमफेदी क्षेत्रमा यसअघि पनि गम्भीर दुर्घटना भएका छन्। २०८२ पुस २० गते भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा यात्रुवाहक भ्यान सडकबाट करिब सय मिटर खस्दा ६ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए। प्रहरीका अनुसार बिहीबार भएको दुर्घटनासहित भीमफेदी क्षेत्रमा १० महिनामै हलुका सवारीसाधन दुर्घटनाका तीन ठूला घटना भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा मात्रै हेटौंडा–काठमाडौं सडकखण्डमा ३० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्।

२०७९ साल देखि २०८३ साल कात्तिक मसान्तसम्म उक्त सडकखण्डमा ९२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ भने २२८ जना घाइते भएका छन्। २०७९ सालमा उक्त सडकखण्डमा चारवटा मात्रै दुर्घटना भएका थिए। ती दुर्घटनामा दुई जनाको मृत्यु र १४ जना घाइते भएका थिए।

भीमफेदीमा दोहोरिइरहेका दुर्घटना देशभरको उच्च सवारी दुर्घटना दरको पृष्ठभूमिमा भएका छन्। नेपाल प्रहरीको वार्षिक प्रगति प्रतिवेदनअनुसार २०८२/८३ मा देशभर २९ हजार ९८८ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २ हजार ७०७ जनाको मृत्यु भएको थियो भने ६ हजार ९७६ जना सामान्य र ७ हजार ८०४ जना गम्भीर घाइते भएका थिए।

प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा दैनिक औसत ८२ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा औसत सात जनाको मृत्यु र २१ जना गम्भीर घाइते भएका थिए।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८३/८४ को असोज मध्यसम्म देशभर १ लाख ८७ हजार ९४९ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा २१ हजार ३१ जनाको मृत्यु भएको छ भने ५१ हजार ४९ जना गम्भीर घाइते भएका छन्।

प्रितम भट्टराई काठमान्डु पोस्टका पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5h ago
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन …

#दुर्घटना #मृत्यु #भीमफेदी
Compare →
Hamro Patro News
4h ago
भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरमा भएकाे सुमो दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको पहिचान खुलेको छ । भीमफेदी गाउँपालिका–१, भैँसेस्थित राप्ती खोलामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते छन् ...

#भीमफेदी #दुर्घटना #मृत्यु
Compare →
Nagarik News
2d ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#दुर्घटना #मृत्यु #सवारी
Compare →

Related Stories

National (Nepal)
Build #2612