दल त्याग गरेको सिफारिसपछि आयोगको निर्णयसँगै वडाध्यक्ष, महिला तथा दलित महिला सदस्य र दुई वडा सदस्यको पद रिक्त भएको हो।
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन भएको छ । दल त्याग गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले वडाध्यक्ष लगायत ५ जनाको पद रिक्त गर्ने निर्णय गरेपछि वडा जनप्रतिनिधिविहीन भएको हो ।
जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट निर्वाचित वडाध्यक्ष मुगाधन राई, महिला वडा सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गीता विश्वकर्मा तथा वडा सदस्यहरू शहरमनि राई र रामधन राईको पद निर्वाचन आयोगको बुधबारको निर्णयले रिक्त भएको हो ।
जनप्रतिनिधिविहीन भएपछि कसरी काम गर्ने भन्नेबारे संघीय मामिला मन्त्रालयमा राय माग गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । उनीहरूमध्ये शहरमनि, कल्पना र गीता तत्कालीन नेकपा माओवादी केन्द्र तथा रामधन नेकपा एकीकृत समाजवादीका भए पनि चुनावी तालमेलका क्रममा जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएका हुन् । मुगाधन श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
वडा जनप्रतिनिधिविहीन भएपछि बिहीबारदेखि कामकाज ठप्प भएको छ । जनप्रतिनिधिविहीन भएपछि कसरी काम गर्ने भन्नेबारे संघीय मामिला मन्त्रालयमा राय माग गरिएको नगरप्रमुख भट्टराईले बताए । ‘वडा जनप्रतिनिधिविहीन भएपछि संघीय मामिला मन्त्रालयमा राय माग गरिएको छ,’ भट्टराईले भने, ‘के राय आउँछ, त्यसको आधारमा कामकाज अघि बढ्छ ।’
उनीहरूसहित निर्वाचन आयोगले जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलगायत जिल्लाका ८ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । आयोगले बुधबार जारी गरेको सूचनाअनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य विरेन्द्र दर्नालको पद रिक्त भएको छ ।
उनीहरूले जनता समाजवादी पार्टी परित्याग गरेको सिफारिसका आधारमा पद रिक्त भएको हो ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।