Trending
Prev Story
Next Story

हराउँदै गएका ‘होम मुभी’ जोगाउने अभियान

Ekantipur •
November 19, 2026 • 08:02 AM
2
2 reads 0 reactions

स्टेफनी अन्ज, पियरे बुसु र मार्गो लेस्टियनको एक समुह ‘अफ्निबस’ अचेल फ्रान्सका सहर–सहर घुम्दै पुराना ‘होम मुभी’ संकलन गर्छन् र अभिलेखका लागि तिनलाई डिजिटाइज गर्छन् । उनीहरूका लागि तस्बिर संरक्षण प्रत्येक रिल पिच्छे लडिने लडाइँ हो ।

हराउँदै गएका ‘होम मुभी’ जोगाउने अभियान

स्टेफनी अन्ज, पियरे बुसु र मार्गो लेस्टियनको एक समुह ‘अफ्निबस’ अचेल फ्रान्सका सहर–सहर घुम्दै पुराना ‘होम मुभी’ संकलन गर्छन् र अभिलेखका लागि तिनलाई डिजिटाइज गर्छन् । उनीहरूका लागि तस्बिर संरक्षण प्रत्येक रिल पिच्छे लडिने लडाइँ हो ।

एन्टिब्स (फ्रान्स) — सानो पर्दामा दृश्यहरू झल्याक–झुलुक गर्न थाल्छन् । ती दानेदार र लगभग छायाजस्ता लाग्ने दृश्यहरूमा यस्ता जीवन र समयका कथा छन्, जसका बारेमा रोमेन जिमेनेसले बुबा–हजुरबुबाबाट वर्षौंदेखि सुन्दै आएका थिए तर आफैंले भने कहिल्यै भोगेका थिएनन् ।

अभिलेख संरक्षण अभियानमा लागेका अभियन्ताहरूले दिएका ‘भ्युइङ मेसिन’ मा दशकौं पुराना ‘सुपर ८’ फिल्मका रिल बिस्तारै हातले घुमाउँदै हेर्दा ३० वर्षीय फ्रेन्च रिभियराका स्कुलका शिक्षक जिमेनेस छक्क पर्छन् । उनका हजुरबुबाले सन् १९७० को दशकमा खिचेका प्रियजन र स्थानहरू पहेंलो फुस्रो रङमा जीवन्त भएर पर्दामा नाच्न थाल्छन् ।

‘ओहो ! ती त मेरा हजुरबुबा पो हुनुहुँदो रहेछ,’ जिमेनेस दंग पर्छन् । दाह्री पालेका ती व्यक्तिको अनुहार पर्दामा क्षणभरका लागि देखिन्छ, जसलाई उनले कहिल्यै भेटेका थिएनन् तर उनै हजुरबुबाबाट आफ्नो दोस्रो नाम ‘ग्याब्रियल’ पाएका थिए ।

आफ्नी आमा, ९४ वर्षीया हजुरआमा, जिजुहजुरआमा र अरू आफन्तका दृश्यहरूसँगै एउटा मोहक दृश्य पनि देखा पर्छ— परिवारले पहिले चलाउने गरेको पेट्रोल पम्प (सर्भिस स्टेसन) को फुटेज । एन्टिब्स सहरमा रहेको त्यो पेट्रोल पम्प पछि भत्काएर त्यहाँ बेकरी सप बनाइएको थियो ।

जिमेनेस तुरुन्तै आफ्नो मोबाइल निकाल्छन् र एनालग तस्बिरको डिजिटल प्रतिलिपि खिच्छन्– आफ्नी आमालाई ती सुनौला दिनहरू देखाउन र सम्झाउन ।

आफ्नो ‘इन्स्टाग्राम युग’ को बानीमाथि विचार गर्दै उनी भन्छन्, ‘तस्बिरको तस्बिर । आज हामी सबै कुरा खिच्छौं र सबै कुराको भिडियो बनाउँछौं । तर ती सबै हेर्न कसले समय निकाल्छ ? अचेल ती चीजहरूलाई साँच्चिकै हेर्न र मनैदेखि नियाल्न कसले समय निकालोस् ?’ उनी थप्छन्, ‘त्यो त हाम्रो समयको एउटा इसारा मात्र हो– स्वाइप गर्ने बानी ।’

केवल २ सय वर्षअघिसम्म समय र संसारलाई एउटा फोटोग्राफिक तस्बिरमा कैद गर्ने शक्ति एक जना मानिस, ती पनि एक फ्रान्सेलीसँग मात्र थियो । फोटोग्राफीका जनक निसेफर निप्सेले सन् १८२४ मै आफूले विशेष कुरा आविष्कार गरेको थाहा पाएका थिए । झ्यालबाट देखिएको दृश्य खिचेर उनले आफ्ना भाइलाई लेखेका थिए, ‘त्यो साँच्चै केही जादुमय कुरा हो ।’

आज संसारका सबैभन्दा तीव्र गतिमा चल्ने क्यामेराले प्रतिसेकेन्ड खरबौं फ्रेम खिच्न सक्छन् । बच्चाका पहिलो पाइला अमर बनाउन, खिचेर अन्याय–अत्याचार उदांगो पार्न, तस्बिर बदलेर वा बनाएर सत्य बंग्याउन, तत्क्षणहरूलाई रिल र स्टोरीमा सम्पादन गर्न तथा हर्ष, पीडा, सौन्दर्य र कुरूपतालाई आँखा र मस्तिष्कमा गहिरो छाप पार्न यति धेरै मानिस कहिल्यै सक्षम भएका थिएनन् ।

र, मानिसहरू यो शक्तिको यति धेरै लतमा परेका र सायद त्यति नै संवेदनहीन पनि कहिल्यै भएका थिएनन् ।

गुगल फोटोजको क्लाउडमा मात्र प्रयोगकर्ताहरूले ९ अरबभन्दा बढी तस्बिर र भिडियो भण्डारण गरेका छन् । तस्बिरहरूले यति धेरै डिजिटल स्पेस ओगट्छन् कि त्यसलाई ‘जेटाबाइट’ मा नाप्नुपर्छ, जुन कल्पनाभन्दा बाहिरको विशाल एकाइ हो । अमेरिकी प्रविधि कम्पनी सिस्को सिस्टम्सका अनुसार एउटा जेटाबाइट २५० अर्ब डिभिडी बराबर हुन्छ । यदि त्यसका १,०००,०००,०००,०००,०००,०००,००० बाइट्स डेटा प्रत्येकलाई एक–एक लिटर पानी मान्ने हो भने एउटा जेटाबाइटले ७ हजारभन्दा बढी प्रशान्त महासागर भर्न सक्छ ।

बोस्टनस्थित डेटा अनुसन्धान कम्पनी आईडीसीको अनुमानअनुसार सन् २०२६ मा विश्वभर तस्बिर र चलायमान दृश्यहरूले करिब १४४ जेटाबाइट डेटा सिर्जना गर्नेछन् ।

आईडीसीका वरिष्ठ अनुसन्धान प्रबन्धक एडम राइटले इमेलमार्फत भनेका छन्, ‘यसमा खिचिएका, स्ट्रिम गरिएका, प्रसारण गरिएका र प्रतिलिपि बनाइएका सबै डेटा समावेश छन् । उच्च रिजोलुसनका स्मार्टफोन क्यामेरा र भिडियो–प्रधान सामाजिक सञ्जालले धेरैको हातमा थप सामग्री पुर्‍याउँदै जाँदा तथा अचेल मानिसले खिच्ने सामग्रीमा एआई–निर्मित तस्बिर र भिडियो पनि थपिएकाले सन् २०३० सम्ममा यो आँकडा करिब २३४ जेटाबाइट पुग्ने अनुमान छ ।’

तर अर्कातिर यस्ता तस्बिर र दृश्य पनि छन्, जसले अहिलेसम्म कुनै जेटाबाइट बनाएका छैनन् र तिनलाई अभिलेख गर्नेहरूका अनुसार ती उद्धारको पर्खाइमा छन् ।

स्टेफनी अन्ज, पियरे बुसु र मार्गो लेस्टियन फ्रान्सका सहर–सहर घुम्दै पुराना ‘होम मुभी’ संकलन गर्छन् र अभिलेखका लागि तिनलाई डिजिटाइज गर्छन् । उनीहरूका लागि तस्बिर संरक्षण प्रत्येक रिल पिच्छे लडिने लडाइँ हो ।

उनीहरूले आफ्नो समूहको नाम ‘अफ्निबस’ राखेका छन्, जुन ‘युएफओ’ का लागि प्रयोग हुने फ्रेन्च शब्दसँग मिल्दोजुल्दो छ । मानिसहरूले ल्याउने फिल्म र भिडियो क्यासेटमा के भेटिन्छ भन्ने उनीहरूलाई कहिल्यै निश्चित हुँदैन । प्रायः ल्याउनेहरूलाई नै त्यसमा के छ भन्ने खासै जानकारी हुँदैन । ग्यारेज, बुँइगल, दराज र घर्राबाट खोजेर ल्याइएका र अक्सर बितिसकेका मानिसहरूले खिचेका ती सामग्री बुसुले फिल्म–स्क्यानरमा बेस्मारी नचलाएसम्म वा भिडियो क्यासेट (भीएचएस) मेसिनमा नराखेसम्म शाब्दिक रूपमै ‘अभिलेख नगरिएका दृश्यांत्मक वस्तु’ मात्र हुन्छन् ।

पाँच वर्षमा २३ वटा रेसिडेन्सी (बसाइ/सराइका कार्यक्रम) का क्रममा बुसुले ‘जीवनमा देख्न सकिने सबै कुरा’ देखेका छन् ः विवाह, ब्रतबन्ध र जन्मदिनका थुप्रै दृश्य त छँदैछन्, साथै किसानले घरपालुवा  सुँगुर काट्नेदेखि दोस्रो विश्वयुद्धका क्रममा जर्मन सैनिकहरूसँग सम्बन्ध राखेको आशंकामा सजाय र अपमानस्वरूप महिलाहरूको कपाल जबरजस्ती खौरिदिएका ‘क’ देखि ‘ज्ञ’ सम्मका दृश्य पनि छन् ।

उनले थुप्रै अनौठा र अप्रिय लाग्न सक्ने दृश्य पनि देखेका छन्, जसमा आजको भाषामा ‘सेक्स टेप’ भन्न सकिने सामग्री पनि पर्छन् । ‘मलाई पिकनिक मन पर्छ र फ्रान्स भ्रमणबारे त सबैले त्यो खिचेका छन्,’ उनी भन्छन् । जति धेरै हेर्छन्, उनलाई त्यति नै लाग्छ कि सबै कुरा बदलिन्छ, तर केही पनि बदलिँदैन ।

‘अतीतमा बच्चाहरू खासै बढी अनुशासित रहेनछन् जस्तो लाग्छ । मानिसहरूले आज जत्तिकै रमाइलो गर्थे,’ उनी थप्छन्, ‘यसबाट एउटा सर्वव्यापीपन झल्किन्छ, जसले तपाईंलाई मानवतामाथि थोरै विश्वास दिन्छ ।’

तर समय बित्दै जाँदा ती दृश्यमा के देखिन्छ भनेर चिन्ने मानिसहरू पनि बित्दै गइरहेका छन् । लेस्टियन भन्छिन्, ‘सामग्री भेट्टाउनु, फेरि हेर्न सक्नु र डिजिटाइज गर्नु एउटा कुरा हो, तर तपाईंले त्यसको व्याख्या र बुझाइ पनि गर्न सक्नुपर्छ । हतारो यहीं छः घटना र फिल्ममा के तालुक छ भन्ने अझै सम्झने मानिसहरू मर्दै गइरहेका छन् ।’

सन् १९६५ मा कोडाकले ‘सुपर ८ एमएम’ फर्म्याट ल्याएपछि हातमा बोक्न मिल्ने क्यामेराबाट चलचित्र बनाउने काम सर्वसाधारणमाझ फैलियो, जसमा ५० फिट (१५ मिटर) फिल्म भएको कार्ट्रिज घुम्थ्यो । तर परिवारहरूले सँगै बसेर पारिवारिक चलचित्र हेर्न बेलाबेला चलाउने चालु प्रोजेक्टर (र पछि भिसीआर) राख्ने घरहरू अब घट्दै गएका छन् । कुनै बेला अमूल्य ठानिएका फिल्महरू ती उत्तराधिकारमा पाउने पुस्ताका लागि हेर्नै नसकिने थुप्रो बन्न सक्छन् ।

लेस्टियन भन्छिन्, ‘अन्ततः उनीहरू त्यसलाई फालिदिन्छन् किनभने त्यसले ठाउँ ओगट्छ, नराम्रो गन्ध आउन थाल्छ र त्यसको के गर्ने भन्ने उनीहरूले खासै देख्दैनन् ।’ तर अफ्निबस टोलीले फ्रान्सभर बोकेर हिंड्ने प्रोजेक्टर र भिडियो हेर्ने मेसिनहरूले बिर्सिएका पारिवारिक चलचित्रलाई फेरि जीवन्त बनाइरहेका छन् ।

एन्टिब्समा उनीहरूले २२ घण्टाका दृश्य डिजिटाइज गरेर अभिलेखका लागि राखे र दाताहरूलाई तिनका सम्झना तथा पारिवारिक इतिहाससँग पुनः जोडे । उनीहरूले एक सम्पादकमार्फत छानिएका दृश्यहरूलाई ३० मिनेटको चलचित्रमा रूपान्तरण गरी सार्वजनिक प्रदर्शन पनि गरे, जहाँ ५० जना सहरवासी सहभागी थिए । त्यसमा फ्रेन्च रिभियरामा बस्ने चलचित्रकी आइकन ब्रिजित बार्दो गुलाबको टोकरीसहित देखिएको पुनः फेला परेको फुटेज पनि समावेश थियो ।

६५ वर्षीया अवकाशप्राप्त ट्राभल एजेन्ट सोफी रु–नान्तासले आफ्नो ग्यारेजमा थन्किएर बसेका १९३० देखि १९६० को दशकसम्मका १६ वटा फिल्मका रिल ल्याइन् । उनले आफूलाई ३ वर्षीया बालिकाका रूपमा समुद्र किनारमा देखिन्, ‘बच्चाहरू जसरी खेल्छन्, नयाँ पुस्ताले जसरी खेल्छ, त्यसैगरी खेलिरहेकी । हामीले बालुवाका घर बनायौं । त्यो बदलिएको छैन र हामी त्यसैगरी पौडी खेल्थ्यौं ।’

बाकसभित्र थन्किएर बसेका आफ्ना २८ वटा भिडियो क्यासेटमध्ये एउटामा ४१ वर्षीय फिजियोथेरापिस्ट योहान शाबेर् १९९० को दशक र परिवारसँग खेलेको मोनोपोली खेलमा पुगे ।

‘यो भावुक बनाउने खालको छ,’ उनले भने, ‘र मलाई लाग्छ, यो बाँड्ने कुरा हो । किनभने घरमा रिल राखेर दराजमा थन्क्याउनु अलि लाजमर्दो कुरा हो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा

टर्किएलाई २–१ ले हराउँदै फ्रान्स शीर्ष स्थानमा

काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले टर्किएमाथि २–१ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा फ्रान्सलाई जित दिलाउन एली जुनियर क्रुपी...

#फ्रान्स #हराउँदै
Compare →

Related Stories

Technology
Build #2612