पछिल्लो समयमा गाउँ छाडेर सहर पस्ने र सहर छाडेर विदेशिनेको लर्को लाग्ने गरेको छ । नेपालमा केही हुँदैन भन्ने भाष्य नै पछिल्लो समयमा स्थापित जस्तै बन्दै गएको छ । तर गुल्मीमा भने राजधानीदेखि रुपन्देहीको भैरहवाजस्ता मुख्य सहरमा लामो समयसम्म व्यवसाय गरेर बसेका व्यवसायीहरुले गाउँमै सम्भावनाको खोजी गर्दै गाउँ फर्केर करोडौँको लगानी गरिरहेका छन् । गाउँको माया र गाउँलाई नै सहर बनाउने उद्येश्यसहित आफूहरुले गाउँमै सम्भावना देखेर गाउँ फर्केको लगानीकर्ता बताउँछन् ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ७० वर्षीय कुलप्रसाद न्यौपानेले (छोरासहित) रुपन्देहीको भैरहवामा धेरै ठाउँको पक्कड जमाएको मदिराको डिलर सञ्चालन गर्दै आउनुभएको थियो । उक्त डिलरबाट उत्कृष्ट कमाइ भएपनि उहाँलाई भित्रभित्रै गाउँकै मायाले सताइरहेको थियो । सहरको कमाइभन्दा पनि गाउँलाई नै सहरसरह बनाउनुपर्छ भन्ने उद्देश्यले केही महिना अघि दश करोडको लगानीमा शिला शालीग्राम पेट्रोलपम्पसहित सुविधासम्पन्न होटल कोरला दरवार एण्ड लज सञ्चालन गर्नुभएको छ । उहाँले आम्दानी पनि राम्रै हुने र सेवा पनि हुने भएकाले यो व्यवसाय रोजेको बताउनुहुन्छ । यसका साथै उहाँले केही महिनाभित्रै विद्युतीय चार्जिङ स्टेसनसहित ग्यारेज पनि सञ्चालन गर्ने योजना रहेको बताउनुहुन्छ । दुर्गमका गाउँबस्तीमा पनि सडक सञ्जालले छोएको र कालीगण्डकी करिडोर व्यस्त सडक अन्तर्गत पर्ने भएकाले यो व्यवसाय राम्रै चल्ने उहाँको दाबी छ ।
Read full story at source ( gorkhapatraonline.com )