Trending
Prev Story
Next Story

पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

Ekantipur •
November 16, 2026 • 08:02 AM
4
4 reads 0 reactions

तरकारीदेखि सुन्तला, किवी, पशुपालन र होमस्टेसम्मका उद्यमले अर्घाखाँचीका गाउँमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गरेका छन्।

पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

तरकारीदेखि सुन्तला, किवी, पशुपालन र होमस्टेसम्मका उद्यमले अर्घाखाँचीका गाउँमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गरेका छन्।

अर्घाखाँची — विज्ञान विषयमा स्नातक गरेका भूमिकास्थान नगरपालिका–४ धारापानीका भेषबहादुर नेपाली जागिर खोज्दै सहर पस्ने बाटो रोजेनन् । पढाइ पूरा गरेपछि गाउँ फर्किएर कुटो–कोदालो समाते । पाखोबारी र खर्क्यान सम्याएर गरा बनाए । गोठमा गाईभैंसी पाल्नुका साथै अन्नबाली खेती र पशुपालनमा लागे । दशकदेखि थरीथरीका तरकारी, अन्नबाली उत्पादन, पशुपालन र उत्पादित वस्तुको बिक्रीमै उनको दैनिकी बितेको छ ।

उनले दशकदेखि गाउँमा तरकारी, मकैसहित अन्नबाली खेती गर्दै आएका छन् । दूधका लागि गाईभैंसी र खसीबोका उत्पादन गर्न बाख्रापालन पनि गरेका छन् । भिरालो खर्क्यान र बारी सम्याएर गरा बनाउन १० लाख रुपैयाँभन्दा बढी लगानी भएको छ । सुधारिएका गरा बनाएपछि उत्पादन वृद्धि भएको छ ।

‘पढेर जागिर खोज्दै लागिएन । कृषिकर्म नै रोजें,’ उनले भने, ‘समयले यस्तो भयो कि पढाइ एकातिर, काम अर्कोतिर भयो । बाल्यकालमा पनि कृषि नै गरेको अनुभव थियो । काम गर्दागर्दै थप सिक्न पाइयो । सिक्दै, काम गर्दै गरेको छु ।’ उनी स्कुल तहमा कक्षाका प्रथम विद्यार्थी हुन् ।

जति मेहनत गरेर तरकारीका बोट हुर्कायो, त्यति नै धेरै फल लाग्दा आम्दानी राम्रो हुने उनले बताए । उत्पादित तरकारी धारापानीसहित स्थानीय बजारमा र घरबाटै बिक्री हुन्छ । बारीमा काँक्रा, सिमी, फर्सी, गोलभेँडा, मूला, काउली, भण्टा लगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेका छन् । उनले १० रोपनी बारीमा खेती गरेका छन् ।

‘भविष्य जागिर, रोजगारीमा मात्रै हुँदो रहेनछ । कृषिमा पनि उत्तिकै सम्भावना छ,’ नेपालीले भने, ‘अहिले जे उत्पादन गरे पनि बिक्री भइहाल्छ । खसीबोका, कुखुरा, अण्डा, मकै, गहुँ, तोरी, कोदो लगायत खेती हुनेजति वस्तु उत्पादन गर्न सके बजारबाटै व्यापारीले फोन गरेर अर्डर गर्छन् । सहर झर्ने गाडीमा पठाइदिए व्यापारीले क्यूआर वा बैंक खातामा पैसा पठाइदिन्छन् ।’

परम्परागत तरिकाले गरेको खेतीले निर्वाह चल्ने भए पनि फार्मका रूपमा विकास गरेर धेरै क्षेत्रफलमा तरकारी तथा खाद्यवस्तु उत्पादन गर्न सके आम्दानी पनि राम्रो हुने उनको तर्क छ । नेपालीले अन्नबाली, तरकारी, खसीबोका, कुखुरा, अण्डा, दूध, घिउ लगायत बेचेर वर्षमा १०/१२ लाख रुपैयाँ कमाइ गर्छन् । किसानले उत्पादन गरेको तरकारीको बजारीकरण सरकारले गरिदिने हो भने अझ सहज हुने अपेक्षा उनको छ ।

पढेलेखेका र वैदेशिक रोजगारीबाट फर्किएका युवा गाउँमा जग्गा खरिद गरेर व्यावसायिक कृषि उद्यममा जोडिएका छन् । गाउँ र सहरनजिकै दूध उत्पादनका लागि पशुपालन, प्लास्टिक टनेलभित्र गोलभेँडासहित तरकारी खेती, मौरीपालन तथा मौसमी र बेमौसमी तरकारी खेतीप्रति आकर्षण बढ्दो छ ।

पाणिनि गाउँपालिका–१ पणेना सिम्लेका युवा माधव पौडेलका दौंतरीहरू वैदेशिक रोजगारीमा गए । कोही स्वदेशमै सरकारी तथा निजी क्षेत्रमा जागिरे भए भने कोही व्यापारी बने । तर, उनी १२ कक्षा गाउँकै विद्यालयमा पढेपछि कतै गएनन् । उत्पादन हुँदै आएको सुन्तला खेतीलाई विस्तार गरे । करिब ५ सय सुन्तलाका बोटमध्ये ३ सय ५० बोटले आम्दानी दिइरहेका छन् । यसबाट वर्षमा १२ लाख रुपैयाँ कमाइ हुन्छ ।

घरअगाडिका सुन्तलाका बोटलाई मलजल गरेर राम्रोसँग स्याहारसुसार गरेपछि धेरै र लटरम्म दाना फल्ने उनले बताए । मेहनतअनुसार फल लागेपछि आम्दानी पनि हरेक वर्ष वृद्धि हुँदै गएको उनको भनाइ छ ।

‘यसपालि राम्रो फल लागेको छ,’ पौडेलले भने, ‘स्वदेश तथा वैदेशिक रोजगारीभन्दा राम्रो आम्दानी सुन्तलाबाट भएपछि मैले कतैतिर सोच राखिनँ । सुन्तलाका बोटलाई मलजल, स्याहारसुसार गरेपछि फल दिइरहन्छ । मेरो ध्यान सुन्तला खेतीमै छ र योबाहेक गाउँमा सामाजिक सेवाका काममा पनि खटिन्छु ।’

कृषि उद्यममा भविष्य देखेका अर्का युवा हुन्, भूमिकास्थान नगरपालिका–१० धनचौर सेङलेङका विष्णुप्रसाद बञ्जाडे । गाउँमा मोटर पुग्नुअघि यो दुर्गम बस्ती र चिसो लेक थियो । अहिले बाह्रै महिना साना–ठूला गाडी चल्न थालेपछि बस्तीको विकास फेरिएको छ । यो चिसो ठाउँ पर्यटकीय गन्तव्य बन्न थालेको छ । चिसो ठाउँमा बस्न, रमाउन र खानाखाजा खान सदरमुकामसहित तराईबाट पनि पर्यटक भित्रिन थालेका छन् ।

पर्यटकलाई लक्षित गरेर उनले घरमा होमस्टे सञ्चालन गरेका छन् । बारीमा मौसमी तथा बेमौसमी तरकारी र घरगोठमा मौरी पालेका छन् । अहिले बारीमा काउली, फूल तथा बन्दागोभी, मूला, गाजर, आलु, सिमी, काँक्रा, गोलभेँडा, खुर्सानी, लसुन, प्याज लगायत दैनिक भान्सामा प्रयोग हुने अधिकांश तरकारी फलाएका छन् ।

‘सेङलेङ लेकबाट प्राकृतिक सुन्दरता, चारैतिरका दृश्य हेर्न पर्यटक आउँछन्,’ उनले भने, ‘होमस्टेमा आएका पाहुनालाई स्थानीय रैथाने खानाका परिकार, तरकारी, लोकल कुखुरा, खसीबोकाको मासु लगायत मैले र गाउँले उत्पादन गर्छौं । भैंसीको दूध, घिउसहित रैथाने अन्नबाली उत्पादनमा जोड दिएका छौं ।’ उत्पादित वस्तुमध्ये केही बजारमा बिक्री हुन्छन् । अरू होमस्टेमै खपत हुन्छन् ।

सेङलेङ लेक पहिले सुनसान हुने गरेकामा अहिले पर्यटकले भरिभराउ हुन थालेको उनले बताए । धार्मिक पर्यटकीय गन्तव्य सुपादेउराली मन्दिरमा आएका दर्शनार्थीमध्ये केही धनचौरमा रहेको मृगस्थली झरना हेर्दै सेङलेङ लेकमा पुगेर घुम्ने, तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा बाँड्ने गर्छन् । यसले प्रचारप्रसारसँगै घुम्न आउने पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको उनले बताए । भूमिकास्थान नगरपालिकाले यहाँका १० घरलाई होमस्टेका रूपमा विकास गरी स्थानीयलाई तालिमसमेत दिएको छ ।

धनचौरकै विष्णु भट्टराईले अन्न उत्पादन हुने बारीमा किवी खेती गरेका छन् । दुई रोपनी क्षेत्रफलमा उत्पादन हुने किवीले उनको भारतीय रोजगारी रोकिएको छ । ४० क्विन्टल किवी उत्पादन गरेर उनले घरखर्च चलाएका छन्।

भूमिकास्थान नगरपालिका–९ ढिकुराको काफलबासमा युवा रामप्रसाद भट्टराईले बारीमा सुन्तला खेती गरेका छन् । यहाँ उत्पादन हुन थालेपछि बारीमा अहिले ३ सय बोट छन् । अहिले बोटमा राम्रो फल लागेको छ । सुन्तलाका बोटमुनि विभिन्न थरीका तरकारी पनि उत्पादन गरेका छन् ।

‘सुन्तलाको उत्पादन हरेक वर्ष बढ्दो छ,’ उनले भने, ‘बोटमुनि तरकारी खेती गर्दा सुन्तलालाई मलजलको काम पनि गर्ने र तरकारी पनि फल्छ । अन्नबाली हुने बारीमा अहिले फलफूल र तरकारी उत्पादन हुँदा आम्दानी पनि राम्रो भएको छ ।’

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की – माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन्।

#गाउँ #खोज्दै
Compare →
Onlinekhabar
2d ago
छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै …

#गाउँ
Compare →
Nagarik News
2d ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#गाउँ
Compare →
Bizshala
2d ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Business & Economy
Build #2612