गाउँमा रोजगारी र आम्दानीको भरपर्दो आधार नहुँदा जुम्लाका सयौं युवा हरेक वर्ष भारत जाने गरेका छन् । उत्पादनशील उमेरका युवा बाहिरिएपछि खेतीपाती, बालबालिकाको शिक्षा र गाउँको सामाजिक जीवन प्रभावित बनेको छ ।
जुम्लाका गाउँमा यतिबेला युवा भेटिन मुस्किल छ । खेतबारीमा काम गर्ने उमेरका युवा रोजगारीको खोजीमा भारततिर लागेपछि गाउँमा बूढाबूढी, महिला र बालबालिका मात्रै देखिन थालेका छन् ।
दसैँ सकिएसँगै सुरु हुने कालापहाड यात्राले हरेक वर्ष जुम्लाका गाउँ रित्तिँदै जान्छन् । असोज–कात्तिक लागेपछि गाउँ छाड्ने युवाको लर्को लाग्छ । कोही मजदुरी गर्न त कोही सानोतिनो व्यापार गरेर परिवारको गर्जो टार्न भारत पुग्छन् ।
पातारासी गाउँपालिका–२ का खड्कबहादुर ऐडीका लागि यो कुनै नयाँ यात्रा होइन । उनी हरेक वर्ष रोजगारीको खोजीमा कालापहाड पुग्छन् । गाउँमा काम र आम्दानीको भरपर्दो अवसर नहुँदा परिवारको खर्च जुटाउन भारत जानुको विकल्प नभएको उनको भनाइ छ । 'कालापहाड रहर होइन, यो त बाध्यता हो,' उनले भने । उनीसहित पातारासीका सयौँ युवा कामको खोजीमा भारत पसेका छन् ।
सिंजा गाउँपालिका–५ का मुनबहादुर बुढाको कथा पनि उस्तै छ । रोजगारीको खोजीमा उनी गत कात्तिक पहिलो साता नै कालापहाड हानिए । चार दिदीबहिनीका एक्ला दाजु उनले यसपालि बहिनीहरूसँग भाइटीका समेत लगाउन पाएनन् । गाउँमै बसेर केही गर्ने चाहना हुँदाहुँदै पनि परिवारको जीविकोपार्जनका लागि भारत जानुपरेको उनी बताउँछन् । 'गाउँमा बसेर केही काम गर्ने चाहना त थियो, तर परिवार पाल्नैपर्ने भएपछि भारत जानुपर्ने बाध्यता बन्यो,' उनले भने ।
गाउँमा पर्याप्त आम्दानी हुने काम छैन, न त अन्य कमाउने आधार नै । खेतीपातीबाट मात्रै परिवारको खर्च धान्न कठिन छ । त्यसैले उत्पादनशील उमेरका युवा वर्षको अधिकांश समय घरबाहिर बिताउन बाध्य छन् । 'गाउँका थुप्रै युवा रोजगारीको खोजीमा कालापहाड पस्ने गरेका छन्,' मुनबहादुरले भने ।
सिंजाकै दलबहादुर र राजेश बुढा दाजुभाइ हुन् । उनीहरू पनि मजदुरीका लागि भारत पुगिसकेका छन् । घरको खेतीपातीले परिवारको आवश्यकता पूरा गर्न नसकेपछि उनीहरूले भारतको बाटो रोजेका हुन् । 'भारत नगएर घरमै बस्ने हो भने बालबालिका पढाउन र परिवार पाल्न कठिन छ । घरको खेतीपातीले छ महिना पनि राम्रोसँग खान पुग्दैन,' दलबहादुरले भने, 'त्यही भएर हरेक वर्ष कालापहाड यात्रा गर्नुपरेको छ ।'
जुम्लाका सिंजा, हिमा, कनकासुन्दरी, तिला, तातोपानी, गुठीचौर र पातारासीका युवा अहिले रोजगारीका लागि भारत पुगेका छन् । केही युवा दसैँ सकिएलगत्तै गाउँ छाडिसकेका छन् भने अधिकांश भारत जाने तयारीमा छन् । स्थानीयका अनुसार पछिल्लो समय दैनिक दुईदेखि चार समूहसम्म गाउँबाट बाहिरिने गरेका छन् ।
तिला गाउँपालिका–९ का दलजीत बुढा गाउँमा काम र आम्दानीको भरपर्दो स्रोत नहुँदा युवाहरू कालापहाड जान बाध्य भएको बताउँछन् । उनका अनुसार अहिले जुम्लाका युवाको रोजीरोटीको मुख्य आधार नै कालापहाड बनेको छ । त्यहाँ केहीले मजदुरी गर्छन् त केहीले व्यापार गरेर कमाइ गर्छन् ।
युवाहरू बाहिरिएपछि गाउँको दैनिकीसमेत फेरिएको छ । खेतबारीमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ । खेतीपातीदेखि गाउँका विकास निर्माण, सामाजिक गतिविधि र सामुदायिक कामसम्म प्रभावित हुन थालेका छन् । गाउँमा भेडीगोठाला, बूढाबूढी, महिला र बालबालिका मात्रै भेटिन थालेका छन् । उत्पादनशील उमेरका नागरिक बाहिरिँदा गाउँको सामाजिक र पारिवारिक जीवनमा समेत त्यसको असर देखिन थालेको स्थानीय बताउँछन् ।
स्थानीय ददिमल बुढाका अनुसार गाउँगाउँमा स्थानीय सरकार भए पनि नागरिकले भरपर्दो रोजगारी पाउन सकेका छैनन् । 'सीपमूलक तालिम, आयआर्जन र रोजगारीका नाममा करोडौँ खर्च देखिन्छ, तर त्यसको उपलब्धि शून्य छ,' उनले भने । गाउँमै आम्दानीको भरपर्दो आधार तयार नहुँदा परिवारको जीविकोपार्जनका लागि भारत जानुपर्ने बाध्यता कायम रहेको उनको भनाइ छ ।
कालापहाड यात्राको असर घरपरिवार र गाउँको अर्थतन्त्रमा मात्रै सीमित छैन । यसले बालबालिकाको शिक्षालाई समेत प्रभावित पारेको छ । अभिभावकसँगै कतिपय विद्यार्थी पनि मजदुरीका लागि भारत जाने गरेका छन् । यसले विद्यालयमा नियमित उपस्थितिदेखि सिकाइ प्रक्रियासम्म असर पार्ने गरेको शिक्षाका सरोकारवालाहरू बताउँछन् ।
सिंजा गाउँपालिकाका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शंकर धितालका अनुसार हरेक हिउँदमा भारत जाने क्रम यहाँ परम्पराकै रूपमा विकास भएको छ । अभिभावकसँगै विद्यार्थी पनि भारत जाने भएकाले यो समयमा विद्यालयमा उनीहरूको नियमित उपस्थिति घट्ने गरेको छ । 'अभिभावकसँगै विद्यार्थी पनि मजदुरीका लागि भारत जान्छन् । उनीहरू विद्यालयमा पढ्न पाउँदैनन् । विद्यार्थी संख्यामा समेत कमी आउँछ । दुई महिना पढेका कुरा बिर्सिसकेका हुन्छन्,' उनले भने ।
युवालाई गाउँमै रोक्न स्थानीय सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो पनि उत्तिकै छ । युवा लक्षित कार्यक्रमका नाममा भलिबल तथा फुटबल वितरण र मनोरञ्जनात्मक गतिविधि सञ्चालन भए पनि त्यसले रोजगारी र आयआर्जनमा प्रत्यक्ष योगदान गर्न नसकेको स्थानीय जगतबहादुर रोकायाको भनाइ छ । 'युवालाई लक्षित गरेर कार्यक्रम त भएका छन् । भलिबल वितरण गरिएको छ, फुटबल बाँडिएको छ, मनोरञ्जनात्मक कार्यक्रम पनि भएका छन् । तर अहिले भइरहेका गतिविधिले युवालाई गाउँमै रोक्न सक्ने अवस्था छैन,' उनले भने ।
उनका अनुसार युवालाई गाउँमै टिकाइराख्न प्रत्यक्ष आम्दानीसँग जोडिएका सीपमूलक कार्यक्रम आवश्यक छन् । गाउँमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र युवालाई उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सके कालापहाड जाने बाध्यता कम गर्न सकिन्छ ।
स्थानीय तहले वर्षेनी विभिन्न शीर्षकमा बजेट खर्च गरे पनि त्यसको प्रत्यक्ष लाभ युवाको आयआर्जनमा देखिन सकेको छैन । फलतः जुम्लाका उत्पादनशील जनशक्ति हरेक वर्ष गाउँ छाडिरहेका छन् । उनीहरूको अनुपस्थितिले कृषि उत्पादन, बालबालिकाको शिक्षा, पारिवारिक सम्बन्ध र गाउँको सामाजिक जीवन प्रभावित भइरहेको छ । गाउँका युवा फर्किने र गाउँमै टिक्ने अवस्था बनाउन स्थानीय स्रोतसाधनमा आधारित रोजगारी र उद्यमशीलताको विकास गर्नुपर्ने स्थानीयको माग छ ।
डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।