पछिल्लो समय वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक रोमानियामा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या बढेको छ।
मलेसिया र खाडी राष्ट्रका विभिन्न देशमा केन्द्रित नेपाली कामदारको आकर्षण अहिले युरोपियन मुलुक रोमानियातर्फ मोडिएको छ। वैदेशिक रोजगारीका लागि नेपाली कामदारको नयाँ गन्तव्यका रूपमा विस्तार भएको युरोपियन मुलुक रोमानियामा श्रम स्वीकृति लिने चाप क्रमशः बढिरहेको छ।
अन्य देशको तुलनामा रोजगारीका अवसर, श्रमिकको माग र युरोपमा काम गर्ने आकर्षणका कारण अहिले रोमानिया जाने नेपाली कामदारको संख्या उल्लेख्य रूपमा बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बितेका तीन महिना साउन देखि असोज मसान्तसम्ममा कुल सात हजार १७९ जना नेपाली कामदारले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ हजार ९०८ जना, भदौमा एक हजार ७९३ जना र असोज महिनामा दुई हजार ४७८ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा कुल ३३ हजार ९२० जना नेपाली कामदारले रोमानियाका लागि श्रम स्वीकृति लिएका थिए। चालु आवको बितेका तीन महिनाको यस विवरणसँगै नेपाली कामदारको प्रमुख वैदेशिक रोजगार गन्तव्यको सूचीमा रोमानिया छैटौं स्थानमा छ।
खाडीका चार देश युएई, कतार, साउदी अरेबिया, कुवेत र मलेसियापछि वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीको संख्या धेरै छ। वैदेशिक रोजगार विभागको पछिल्लो विवरणअनुसार युरोपेली मुलुकहरूमध्ये हाल रोमानिया नेपाली कामदारको सबैभन्दा आकर्षक गन्तव्य बन्दै गएको छ।
युरोपियन मुलुक रोमानियामा विशेषगरी निर्माण, होटल तथा रेस्टुरेन्ट, कृषि, उत्पादनमूलक उद्योग र विभिन्न सेवा क्षेत्रमा नेपाली लगायत आप्रवासी कामदारको माग रहेको छ। नेपाली कामदार पनि रोमानियाको यस्तै क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिएर जाने गरेका छन्।
यसैबिच रोमानियाले विदेशी कामदार भिœयाउने प्रक्रियामा समेत नयाँ व्यवस्था लागु गरेको छ। रोमानिया सरकारको बुधबार सार्वजनिक नयाँ श्रम अभावसम्बन्धी सूचीमा विदेशी कामदार भर्ना गर्न सकिने पेसाको संख्या २८९ बाट बढाएर ३७२ पुर्याइएको छ।
रोमानिया सरकारले आप्रवासी कामदार आफ्नो देशमा भित्र्याउन गरेको यो नयाँ निणर्यले नेपालीलगायत विदेशी कामदारका लागि थप रोजगारीका अवसर खुल्न सक्ने देखिएको छ तर रोमानिया जाने तयारीमा रहेका नेपाली कामदारले वैदेशिक रोजगार कम्पनीको आधिकारिकता, रोजगार सम्झौता, तलब, आवास सुविधा र भिसा प्रक्रियाबारे राम्रोसँग बुझ्न आवश्यक रहेको विभागले जनाएको छ।
विभागकाअनुसार बढ्दो रोजगारीको मागसँगै रोमानिया नेपाली कामदारका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता हो।
विगत केही वर्षदेखि रोमानियामा नेपाली कामदारको आकर्षण निकै बढेको छ। व्यक्तिगत तथा संस्थागत रूपमा म्यानपावरमार्फत नेपाली कामदार श्रम स्वीकृति लिएर रोमानिया गइरहेका छन्।
चालु आर्थिक वर्षको बितेका तीन महिनामा समग्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा खाडी मुलुक युएई पहिलो रोजाइमा छ।
युरोपेली देशहरूमध्ये रोमानिया जाने नेपाली कामदारको संख्या सबैभन्दा उच्च छ। रोमानियापछि बुल्गेरिया, माल्टा, क्रोएसिया र पोल्यान्डमा जाने नेपाली कामदारको आकर्षण बढ्दो छ। यसअघि २०८० सालको असोजमा युरोपियन देश रोमानियासँग नेपालले श्रम सम्झौता गरेको थियो।
विदेशी कामदार भर्ना गर्न ‘सरकारी पोर्टल’
श्रम गन्तव्यमुलुक रोमानिया सरकारले विदेशी कामदार भर्ना गर्ने प्रक्रिया व्यवस्थित, पारदर्शी र डिजिटल बनाउन ‘वर्क इन रोमानिया’ नामक एकीकृत सरकारी पोर्टल सञ्चालन गरेको छ। केही समय अवरुद्ध भएको यस पोर्टल आगामी नोभेम्बर १५ (आइतबार) देखि पुनः सञ्चालन हुने भएको हो।
पछिल्लो समय नेपाली कामदारको आकर्षक श्रम गन्तव्य देश बनेको रोमानियाको आन्तरिक मन्त्रालयले सन् २०२६ अगस्ट ६ मा ‘वर्क इन रोमानिया’ पोर्टल सञ्चालनमा ल्याएको घोषणा गरेको थियो।
रोमानिया सरकारले जानकारी गराएअनुसार यो पोर्टल युरोपेली संघ (इयु) बाहिरका देशबाट कामदार भर्ना गर्ने रोजगारदाता, वैदेशिक रोजगारसम्बन्धी एजेन्सी र सरकारी निकायका लागि तयार गरिएको हो। यस नयाँ प्रणालीमार्फत विदेशी कामदार भर्नासम्बन्धी विभिन्न प्रशासनिक प्रक्रिया एउटै डिजिटल माध्यमबाट अघि बढाउन सकिने व्यवस्था गरिएको रोमानिया सरकारको भनाइ छ।
रोजगारदाताले आफ्नो दर्ता तथा अनुमति लिने, वैदेशिक कामदार पठाउने एजेन्सीले अनुमति लिने वा नवीकरण गर्ने, आवश्यक कागजात अनलाइन पेस गर्ने र आवेदनको अवस्थाबारे जानकारी लिने सुविधा यस पोर्टलमा राखिएको छ।
यसैगरी विदेशी कामदारको लामो अवधिको रोजगार भिसा र कामका आधारमा बसोबास अनुमति लिने प्रक्रियालाई पनि एउटै प्रणालीमा जोड्ने सरकारको योजना छ।
यसका लागि रोजगारदाता वा अनुमति प्राप्त एजेन्सीले कामदारका तर्फबाट एकीकृत आवेदन पेस गर्ने व्यवस्था गरिएको छ। आप्रवासी कामदारले भने आफैंले आवेदन पेस गर्ने व्यवस्था छैन। रोमानियाको आन्तरिक मन्त्रालयकाअनुसार पोर्टलमार्फत रोजगारदाता र एजेन्सीको विवरण सरकारी निकायले जाँच गर्न, आवश्यक कागजात अनलाइन आदान–प्रदान गर्न तथा आवेदनको अवस्थाबारे जानकारी लिन सक्नेछन्। आवेदनमा थप कागजात आवश्यक परे वा निर्णय भए प्रयोगकर्ताको खातामै सूचना पठाइनेछ। यस पोर्टलमा विदेशी कामदारका लागि पनि छुट्टै जानकारी राखिएको छ।
यसबाट रोमानियामा काम गर्न आवश्यक कानुनी प्रक्रिया, रोजगारीका सर्त, तलब, आवास तथा कामदारका अधिकारबारे जानकारी लिन सकिने सो मन्त्रालयले जनाएको छ।
त्यस्तै अनुमति प्राप्त वैदेशिक रोजगार एजेन्सीको विवरण हेर्न र शोषण वा दुव्र्यवहारका घटनाबारे उजुरी गर्न सकिने व्यवस्था पनि गरिएको सो मन्त्रालयले जनाएको छ।
यो पोर्टल सञ्चालन भएपछि करिब दुई महिनादेखि अवरुद्ध प्रक्रिया (नोभेम्बर १५ देखि) पुनः सुरु हुने छ। यो पोर्टल सञ्चालनमा आएपछि सम्बन्धित रोजगारदाताले नयाँ कामदार भर्नासम्बन्धी प्रक्रिया अघि बढाउन र रोमानियामा रहेका विदेशी कामदारले आफ्नो बसोबास अनुमति नवीकरण तथा रोजगारदाता परिवर्तन सम्बन्धी प्रक्रिया अघि बढाउन सक्नेछन्।
रोमानियामा अहिले इयुबाहिरका करिब दुई लाख विदेशी कामदार कार्यरत छन्। रोमानिया सरकारले सन् २०२६ भरिमा ९० हजार नयाँ विदेशी कामदार भर्ना गर्ने कोटा निर्धारण गरेको छ।
हाल रोमानियाको श्रम बजारमा निर्माण, होटल तथा रेस्टुरेन्ट, उत्पादन, यातायात र सेवा क्षेत्रका कामदारको माग रहेको छ। रोमानिया सरकारले विदेशी कामदार भर्ना प्रक्रियालाई व्यवस्थित गर्न र रोजगारदाता तथा एजेन्सीको गतिविधिमाथि निगरानी बढाउन यो नयाँ प्रणाली सञ्चालन गरेको बताएको छ।
पूर्वी युरोपमा पर्ने रोमानिया युरोपको १२औं ठूलो देश हो। यसको सिमाना दक्षिणी भेगमा बुल्गेरिया, उत्तरमा युक्रेन, पश्चिममा हंगेरी, दक्षिणपश्चिममा सर्बिया र पूर्वमा मोल्डोभासँग जोडिएको छ। १ जनवरी २०२५ देखि रोमानियाले सेन्जेन सदस्यता लिएको छ। त्यसैले पनि पछिल्लो समय रोमानिया धेरैको गन्तव्य बन्दै गएको छ।
रोमानियाको भिसामार्फत सेन्जेन क्षेत्रभित्र पर्ने युरोपका २९ देशमा आवतजावत गर्न सकिन्छ। भूगोलका दृष्टिले पनि नेपालमा जस्तै भौगोलिक रूपमा रोमानियामा समेत हिमाल, पहाड र समथर तराईका भूभाग छन्।
रोमानियाको आफ्नै मुद्रा छ। यहाँको मुद्रालाई ‘रोमानियाली ल्यु’ भनिन्छ। एक ‘रोमानियाली ल्यु’ बराबर नेपालमा करिब ३२ नेपाली रुपैयाँ हुन्छ तर नेपालमा समयअनुसार विनिमय दर घटबढ हुन सक्छ।
रोमानिया सन् २००७ मा युरोपेली संघमा सामेल भएको देश हो। त्यसयता रोमानियाले युवा पलायनको समस्या भोग्दै आएको छ। हाल युरोपेली संघका जुनसुकै देशमा बस्ने र काम गर्ने अधिकार पाएसँगै लाखौं रोमानियाली नागरिक देश छोडेर अन्य देशमा गइरहेका छन्। पछिल्लो समय त्यहाँका स्थानीयले राम्रो अवसरको खोजीमा धमाधम देश छोड्न थालेपछि रोमानियामा कामदारको अभाव छ।
त्यसैले पनि रोमानियाले नेपालसहित अन्य एसियाली देशहरूबाट श्रमिक लगिरहेको छ। नेपाल र रोमानियाबिच २०८० साल असोज १९ गते श्रम समझदारी भएको हो।
यस समझदारीले रोमानियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारले त्यहाँका स्थानीय श्रमिकसरह सेवा सुविधा पाउनेदेखि सामाजिक सुरक्षाको समेत प्रत्याभूति गरेको छ। पछिल्लो समय रोमानिया सरकारले ४ हजार ३२५ ‘रोमानियाली ल्यु’ अर्थात् झन्डै १ लाख ३६ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक तोकेको छ तर सिप र काम गर्ने क्षेत्रका आधारमा बढी पैसा कमाउन पनि सकिन्छ।
यहाँ काम भने दैनिक ८ घण्टा र सातामा ४० घण्टा गर्नुपर्ने नियम छ। शनिबार र आइतबार प्रायः बिदा हुन्छ। काम गर्ने समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको छ।
रोमानियामा सामान्य कामदारदेखि दक्ष श्रमिकका लागि पनि रोजगारीका अवसरहरू रहेका छन्। नेपालसहित संसारका विभिन्न देशबाट रोजगारीका लागि जानेहरूको रोजाइमा रोमानियाको राजधानी बुखारेस्ट पर्दछ।
विशेष गरी रोमानियामा उत्पादनमूलक, निर्माण, वेयरहाउस, लजिस्टिक्स, कृषि, इन्जिनियरिङ, आइटी विशेषज्ञ र विभिन्न क्षेत्रका टेक्निसियनहरूका लागि राम्रो अवसर रहेको त्यहाँ कार्यरत नेपालीहरू बताउँछन्।
यसैगरी होटल र रेस्टुरेन्टहरूमा पनि रोजगारीका अवसर पाइन्छन्। होटल तथा रेस्टुरेन्टमा कुक, बारटेन्डर, वेटर एन्ड वेट्रेस, हाउसकिपिङ, क्यासियरदेखि रेस्टुरेन्ट म्यानेजरजस्ता काम पाइन्छन्। सिप बिना जानेहरूले विशेषगरी कृषि क्षेत्रमा फलफूल तथा तरकारी टिप्ने, ग्रीनहाउसमा काम गर्ने र पशुपालन तथा कृषि उत्पादन र प्याकेजिङको काममा अवसर पाउने गरेका छन्।
नेपालबाट जाने कतिपय नेपालीले सामान डेलिभरी तथा स्टोर सहायकका साथै गोदामहरूमा प्याकिङ तथा प्याकेजिङ, सामान लोड - अनलोड र अर्डर पिकरजस्ता काम पनि गरिरहेका छन्।
युरोपेली देश भए पनि रोमानियामा अंग्रेजी भाषाको प्रयोग एकदमै कम हुन्छ। यहाँको आधिकारिक भाषा रोमानियन हो। सरकारी अड्डादेखि हरेक ठाउँमा त्यहाँको स्थानीय भाषा नै बढी प्रयोग हुन्छ। बोलचालमा सबैभन्दा धेरै रोमानियन भाषा नै प्रयोग हुन्छ। त्यहाँका स्थानीयले बोलचालका लागि आफ्नै मातृ भाषा प्रयोग गर्छन्। रोमानियन भाषाका अलावा यहाँ कतिपय व्यक्तिहरूले हंगेरियन र जर्मन भाषाको पनि प्रयोग गर्छन्।
प्रकाशित: २८ कार्तिक २०८३ १३:३२ शनिबार