पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी आयोगलाई गराएको थियो ।
आयोगका अनुसार पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय समन्वय समितिको निर्णयसहित जानकारी गराइएका जनप्रतिनिधिको पद रिक्त भएको हो । आयोगले २०८३ असोज २ मा निर्णय गर्दै सम्बन्धित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् ।
सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–५ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।
त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सात जनप्रतिनिधिको पद रिक्त भएको छ । उक्त नगरपालिकाबाट वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नालको पद रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष दाहालबहादुर गुरुङको पद पनि रिक्त भएको छ ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोड्गियाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।