कांग्रेस सरकारबाट बाहिरिएपछि नयाँ गठबन्धनबारे छलफल गर्न नेताहरू सक्रिय भए पनि दलहरूबीच औपचारिक सहमति अझै जुट्न सकेको छैन।
जनकपुर — मधेश प्रदेशमा ठूलो दल रहेको जसपा नेपालका शीर्ष नेताहरू जनकपुर पुग्दैछन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहीबार जनकपुर आउँदैछन् भने वरिष्ठ नेता महन्थ ठाकुर र अर्का नेता शरदसिंह भण्डारी बुधबार नै जनकपुर आइसकेका छन् । जसपा नेपालका शीर्ष नेताहरू जनकपुर आउनुको पछाडि मधेश प्रदेशमा सरकार बनाउने कसरत नै रहेको बताइएको छ ।
मधेश प्रदेशमा कांग्रेसको सरकार बाहिरिएपछि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकार बनाउन दाबी पेस गर्न दिएको समय शुक्रबार सकिँदैछ । अर्को सरकार बनाउन गठबन्धन गर्ने वा अन्य विकल्प अपनाउने मामिलामा दलहरूबीच औपचारिक छलफल नहुँदा मधेश प्रदेशमा सत्तारोहण अनिश्चित बनेको हो ।
प्रदेश प्रमुख कर्णले शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
जसपा नेपालका एक नेताका अनुसार शीर्ष नेताहरूबीच जनकपुरमै छलफल गरेर मधेश प्रदेशमा नयाँ सरकार बनाउन देखिएको गतिरोध बिहीबार अबेरसम्म हट्नेछ ।
एमाले र नेकपाले जसपा नेपालले निर्णय नगर्दा मधेश प्रदेशमा अर्को सरकार गठनमा अन्योल देखिएको बताउँदै आएका छन् ।
अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।