सडक २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा २०८२ असार २४ मा सम्झौता भई साउन ८ बाट निर्माण सुरु भएको हो ।
दाङ — घोराही–तुलसीपुर फोरलेन सडक स्तरोन्नतिमा हालसम्म १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक निर्माणमा १५ प्रतिशत वित्तीय प्रगति भएको डिभिजन सडक कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।
सडक २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा २०८२ असार २४ मा सम्झौता भई साउन ८ बाट निर्माण सुरु भएको हो । सडक २०८५ असार २३ मा सम्पन्न गर्नुपर्ने समयसीमा रहेको उनले जानकारी दिए ।
सडक निर्माणको जिम्मा दिवा/बन्दन भगवती जेभी काठमाडौंले लिएको छ । घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१ दशमलव ५८ किलोमिटर सडक चारलेन बनाउन थालिएको छ ।
सुरुमा तीव्र गतिमा काम भए पनि पछिल्लो समय सुस्तता आएको छ । दसैंतिहारका कारण काममा केही ढिलाइ भए पनि अब कामले गति लिने विष्टले बताए । पाँच वर्षमा आठ ठेकेदार परिवर्तन गर्दा र पाँचपटक म्याद थप्दा पनि प्रगति नभएको उक्त सडकमा फेरि पनि ढिलाइ हुन्छ कि भन्ने चिन्ता जिल्लावासीलाई छ । मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत सडक निर्माण भइरहेको छ ।
हालसम्म कालोपत्रे गरेको क्षेत्रबाहेक सडकको दायाँबायाँ माटो पटान कार्य १४ किलोमिटरसम्म सम्पन्न भएको विष्टले बताए । उनका अनुसार रतनपुरदेखि बेलझुण्डीसम्म ३८ वटा बक्स कल्भर्ट निर्माण भइसकेका छन् । घोराहीदेखि दुधराससम्मका विभिन्न क्षेत्रमा सडक छेउका संरचनाहरू निर्माण भइरहेको उनले बताए ।
दुईवटा स्ल्याब कल्भर्ट निर्माण भइसकेको र एउटा निर्माणाधीन रहेको उनले जानकारी दिए । खैरा, दुधरास, सौडीकुला र नारायणपुर क्षेत्रमा ६ किमि नालीको काम सम्पन्न भइसकेको छ । गुर्जे खोलादेखि बेलझुण्डीसम्म बिजुलीका पोलहरू स्थानान्तरण गर्ने कार्य सम्पन्न भइसकेको छ भने घोराहीदेखि गुर्जे खोलासम्मका बिजुलीका पोलहरू स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।
निर्माणमा ४ वटा एक्स्काभेटर, १ वटा ग्रेडर, २ वटा रोलर, ४ वटा ब्याकहो लोडर, १६ वटा टिपर, २ ट्रेलर, एउटा सानो क्रेन, ५ वटा ट्र्याक्टर र २ वटा पानीट्यांकी प्रयोग भइरहेको उनले बताए । यस्तै, १ वटा डोजर, १ वटा ह्वील लोडर, १ युनिक्रेन र २ टेलिग्यान्डर गरी ४० वटा निर्माणसँग सम्बन्धित सवारीसाधन तथा उपकरण सञ्चालनमा रहेको विष्टले जानकारी दिए ।
घोराही–तुलसीपुर सडक खण्डमा पर्ने रुखहरू नियमअनुसार व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको उनले बताए । विष्टका अनुसार अब विभिन्न ठाउँहरूमा ग्राभेलिङको तयारी भइरहेको छ ।
नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सहयोगमा २०७५ माघ १४ गतेदेखि फोरलेन सडक निर्माण सुरु भएको थियो । सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलर थियो । सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सर्त थियो । सडक निर्माणको म्याद पाँचपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको थियो ।
अन्तिममा २०८० असार ३१ गतेसम्म म्याद थपिएको थियो । यसरी पाँचपटक म्याद थप भए पनि फिल्डमा कुनै पनि काम नभएपछि अन्ततः सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो । पहिले भारतीय निर्माण कम्पनी नै मुख्य ठेकेदार हुनुपर्ने प्रावधान र भारत सरकारका अन्य प्राविधिक सर्तहरूले सडक निर्माण जटिल बनेको थियो । अहिले नेपालकै बजेटमा नेपाली कम्पनीले नै ठेक्का पाएकाले समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।
फोरलेन सडक निर्माणका क्रममा सडकको दुवैतिर भत्काएर मुख्य सडकको दुवैतिर खाल्डा पारिएको छ । जसका कारण यात्रा निकै जोखिमपूर्ण छ । फोरलेन निर्माण सुरु गरेयता यस सडकमा भएका सवारी दुर्घटनामा ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।