चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै पुनः कपाल उमार्न मद्दत गर्ने वैज्ञानिकहरूको दाबी छ ।
यद्यपि, यो प्रविधि अहिले परीक्षणकै चरणमा छ । अहिलेसम्म मुसामा मात्र यसको परीक्षण गरिएको छ । बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबाट पुरुषहरूमा हुने कपाल झर्ने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) को उपचार गर्न सकिने सम्भावना देखिएको बताएका छन् ।
‘डिट्याङ्गल’ विद्युतीय काइँयोसम्बन्धी अध्ययनको रिपोर्ट यसै महिना प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर कम्युनिकेसन्स’ मा प्रकाशित भएको हो । अध्ययनको शीर्षक ‘कम्बिङ–ट्रिगर्ड इलेक्ट्रोस्टिमुलेसन सिन्क्रोनाइजिङ डीप डेलिभरी फर र्यापिड हेयर रिग्रोथ इन एन्ड्रोजेनेटिक एलोपेसिया’ रहेको छ।
यस अध्ययनले लोकप्रिय कपाल झर्ने उपचार औषधि मिनोक्सिडिलभन्दा नयाँ विद्युतीय काइँयो प्रभावकारी देखिएको उल्लेख गरेको छ।
कसरी काम गर्छ यो विद्युतीय काइँयो ?
‘डिट्याङ्गल’ काइँयोका दाँतमा विशेष विद्युतीय इलेक्ट्रोड र औषधि पुर्याउने अणुहरू जडान गरिएका छन् । यसले कपालको जरासम्म विद्युतीय तरंग सिर्जना गरी कपालका जराहरूलाई सक्रिय बनाउन भूमिका खेल्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एन्ड्रोजेनेटिक एलोपेसियाबाट प्रभावित मुसामा गरिएको परीक्षणमा परम्परागत रूपमा छालामा लगाइने मिनोक्सिडिलको तुलनामा यो प्रविधिले राम्रो नतिजा दिएको थियो।
परम्परागत मिनोक्सिडिल उपचारको तुलनामा एक महिनाभित्र कपाल पुनः उमार्ने सफलता करिब ७० प्रतिशतबाट बढेर झन्डै शतप्रतिशत पुगेको दाबी अनुसन्धानकर्ताहरूको छ ।
पुरुषमा देखिने कपाल झर्ने समस्या निकै सामान्य छ । जीवनकालमा करिब ८० प्रतिशत पुरुष यसबाट प्रभावित हुने बताइएको छ । यसले मानिसको मानसिक अवस्था र जीवनको गुणस्तरमा समेत असर पार्न सक्छ।
हाल कपाल झर्ने समस्या रोक्न प्रयोग गरिने मिनोक्सिडिलले कपाल झर्ने गति कम गर्नुका साथै नयाँ कपाल उमार्न मद्दत गर्न सक्छ । तर यसको प्रभाव व्यक्तिअनुसार फरक हुन्छ । नतिजा देखिन एक वर्षसम्म लाग्न सक्छ । यसको फाइदा कायम राख्न निरन्तर प्रयोग गर्नुपर्ने हुन्छ ।
यसको प्रयोगले टाउकोको छालामा जलन हुन सक्छ । केही प्रयोगकर्ताले टाउको दुख्ने समस्या पनि अनुभव गरेका छन्।
त्यस्तै, फिनास्टेराइड पनि कपाल झर्ने समस्या रोक्न प्रयोग गरिने अर्को औषधि हो । प्रोपेसिया नामबाट बजारमा उपलब्ध यो औषधि विशेषगरी कपाल झर्ने समस्याको सुरुवाती चरणमा प्रभावकारी देखिएको छ ।
पछिल्लो समय कपाल प्रत्यारोपण पनि लोकप्रिय हुँदै गएको छ । यस प्रक्रियामा टाउकोका पछाडि वा छेउको भागबाट कपालका जरा निकालेर कपाल झरेको भागमा प्रत्यारोपण गरिन्छ । यो विधि प्रभावकारी भए पनि शल्यक्रियाको झन्झट र खर्चिलो हुन सक्छ ।
वैज्ञानिकहरूले विकास गरेको ‘डिट्याङ्गल’ काइँयो मानिसमा पनि प्रभावकारी हुन्छ भन्ने प्रमाण अहिलेसम्म उपलब्ध छैन । मुसामा गरिएको परीक्षणले मानिसमा यसको प्रभावकारिता कस्तो हुन सक्छ भन्ने प्रारम्भिक सङ्केत दिन सक्छ ।
तर मानिसमा यसको सुरक्षा र प्रभावकारिता पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ । त्यसपछि मात्र मानिसमा चिकित्सकीय परीक्षण गर्न सकिनेछ। त्यसैले अहिले नै यो काइँयोले मानिसको कपाल झर्ने समस्या निको पार्छ वा झरेको कपाल शतप्रतिशत फर्काउँछ भन्ने निष्कर्ष निकाल्न सकिँदैन।