Trending
Prev Story
Next Story

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल

Ekantipur •
November 17, 2026 • 05:02 PM
2
2 reads 0 reactions

ब्याजदर कम, तरलता पर्याप्त, सञ्चिति बलियो, तैपनि किन लगानी बढेन ? कर दिवसमा सम्मानित कम्पनीहरूले नै उच्च कर र नीतिगत अनिश्चिततालाई कारण औंल्याए ।

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल

ब्याजदर कम, तरलता पर्याप्त, सञ्चिति बलियो, तैपनि किन लगानी बढेन ? कर दिवसमा सम्मानित कम्पनीहरूले नै उच्च कर र नीतिगत अनिश्चिततालाई कारण औंल्याए ।

भाटभटेनी सुपरमार्केटका लागि गत वर्षको भदौ एउटा असाधारण परीक्षा थियो । सडकमा जेन–जी पुस्ताको प्रदर्शन भइरहेको थियो । देशको राजनीतिक भविष्य अनिश्चित थियो । त्यसैबीच भाटभटेनीका स्टोरहरू आगजनी र तोडफोडको निसानामा परे । १२ वटा स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भए ।

उक्त प्रदर्शनमा भाटभटेनीको ११ अर्ब रुपैयाँ बराबरको सम्पत्ति क्षति भयो र ५ हजारभन्दा बढी कर्मचारीको काम प्रभावित भयो । तैपनि संस्थाले एक जना कर्मचारीलाई पनि निकालेन । क्षतिग्रस्त सुपरस्टोर पुनर्निर्माण गरिरहँदा पनि कर्मचारीलाई तलबभत्ता दिइनै रह्यो । आजको दिनसम्म आइपुग्दा भाटभटेनीका १२ स्टोरमध्ये १० फेरि सञ्चालनमा आइसकेका छन् । आउँदो पुससम्म हेटौंडा र दमकका सुपरस्टोर पुनः सञ्चालन गर्ने तयारी छ । पुनर्निर्माणमा मात्रै करिब १५ अर्ब लाग्ने संस्थाको अनुमान छ । पहिलेभन्दा भवनहरू अत्याधुनिक बनाइएकाले निर्माण लागत बढेको भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले बताए ।

त्यही भाटभटेनी सुपरमार्केटलाई ‘राष्ट्रिय कर दिवस २०८३’ को अवसरमा मंगलबार सरकारले ‘एक्सेप्सनल बिजनेस रेजिलियन्स’ सम्मान दिएको छ । ‘विधागत रूपमा हामी धेरै वर्षदेखि नम्बर वान नै छौं । अब देशकै नम्बर वान करदाता बन्ने हाम्रो उद्देश्य हो,’ भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।

उनका अनुसार भाटभटेनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४ करोड ६१ लाख रुपैयाँ कुल कर तिरेको थियो । यो संस्थाले करिब १० हजार जनालाई रोजगारी दिएको छ ।

सरकारले सबैभन्दा बढी कर तिरेको आधारमा नभई प्रतिकूल परिस्थितिका बाबजुद व्यवसाय टिकाइराखेको भन्दै भाटभटेनीलाई सम्मान गरेको हो । यो सम्मानले एउटा गम्भीर प्रश्न उठाएको छ । नेपालमा व्यवसाय चलाउनु भनेको बजारमा प्रतिस्पर्धा गर्नु र नाफा कमाउनु मात्र हो कि राजनीतिक अस्थिरता, नीतिगत अनिश्चितता र सम्पत्तिको सुरक्षासम्बन्धी जोखिमसँग पनि निरन्तर जुध्नु हो ?

मंगलबार ‘राष्ट्रिय कर दिवस तथा कर सप्ताह’ का अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गर्दा यो प्रश्न अझ सान्दर्भिक बनेको छ । विभागले आव २०८१/८२ मा सबैभन्दा बढी आयकर तिरेको भन्दै निकायतर्फ सूर्य नेपाल र व्यक्तिगत आयकरतर्फ राजबहादुर शाहलाई सम्मान गरेको छ । बैंकिङ, रेमिट्यान्स, ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रका कम्पनी पनि सम्मानित भए ।

सम्मानित संस्थाहरूको व्यवसाय फरक भए पनि उनीहरूलाई जोड्ने साझा विषय औपचारिक अर्थतन्त्रका हिस्सा हुनु हो । तर कर तिर्ने क्षमता र लगानी गर्ने आत्मविश्वास एउटै कुरा होइनन् । लामो समयदेखि निजी लगानीको गति अपेक्षाअनुसार बढ्न सकेको छैन । करदाता सम्मान कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानीका लागि आर्थिक सूचकहरू अनुकूल रहे पनि लगानी बढ्न नसकेको बताए । मुलुकमा ७ देखि १० प्रतिशतसम्मको आर्थिक वृद्धिदर धान्ने करिब ३० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको उनको भनाइ छ ।

‘ब्याजदर कम र स्थिर छ, तरलता पर्याप्त छ, मुद्रास्फीति नियन्त्रणमा छ र उच्च आर्थिक वृद्धि धान्ने विदेशी मुद्रा सञ्चिति पनि छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘यति अनुकूल माहोल हुँदाहुँदै पनि किन लगानीको मात्रा बढाउन सकिरहेका छैनौं भन्ने विषयमा सामूहिक मन्थन आवश्यक छ ।’

तर उद्योगीहरू बजारको अनिश्चितता, प्रशासनिक झन्झट, नीतिगत परिवर्तन, उच्च लागत र कमजोर पूर्वाधारको गुनासो गर्छन् । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र चुनौतीपूर्ण घडीमा रहेको भन्दै करका दरहरू पुनरावलोकन गर्न जोड दिए । दक्षिण एसियाकै तुलनामा नेपालमा करको दर उच्च रहेको र त्यसले व्यवसायीहरूलाई थप आर्थिक भार पारेको उनको भनाइ थियो । सम्मानित कम्पनीमध्ये सूर्य नेपाल र आईएमई समूहका प्रतिनिधिले पनि यही कुरा दोहोर्‍याए ।

नयाँ लगानीकर्ताका लागि यी समस्या व्यवसायको लागत मात्र होइन, लगानी गर्ने वा नगर्ने निर्णयलाई प्रभावित गर्ने जोखिम पनि हुन् । यही कोणबाट हेर्दा कर दिवसको सम्मानित सूचीले नेपालको निजी क्षेत्र कति विविध छ र त्यसलाई विस्तार गर्न राज्यले कस्तो वातावरण बनाउनुपर्छ भन्ने प्रश्न अघि सार्छ ।

सूर्य नेपाल प्रालि निजी क्षेत्रका औद्योगिक तथा बहुराष्ट्रिय लगानीमा सञ्चालित ठूला कम्पनीमध्ये एक हो । सन् १९८६ देखि सञ्चालनमा रहेको यो कम्पनी मुख्यतः चुरोट उत्पादकका रूपमा चिनिए पनि बिस्कुट, अगरबत्ती र कन्फेक्सनरी व्यवसायमा पनि छ ।

लगानीसम्बन्धी कतिपय विद्यमान नियम कानुनहरू लगानीमैत्री नभएको, दोहोरो अर्थ लाग्नेलगायत अवस्थामा रहेकाले त्यसलाई संशोधन गर्न निजी क्षेत्रले पटकपटक आग्रह गरे पनि सरकारी पक्षबाट खासै सुनुवाइ नभएको सूर्य नेपालका उपाध्यक्ष रवि केसीले बताए । ‘सरकारले नीतिगत काम पनि गरिरहेको छ, तर त्यो पर्याप्त छैन, अहिलेको अवस्थामा नेपालमा स्वदेशी तथा विदेशी लगानी बढाउन व्यापक रूपमा नीतिगत सुधार गर्नुपर्छ,’ उनले भने, ‘यद्यपि दक्षिण एसियामै उच्च कर हुँदा पनि हामी सधैं सरकारको साथमा छौं ।’

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शाह लगातार तेस्रो वर्ष सम्मानित भएका छन् । शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हुन् । यो कम्पनीले मदिरा तथा पेय पदार्थ उत्पादनलगायत व्यवसाय सञ्चालन गर्दै आएको छ । उनका बुवा विजयकुमार शाहसहित शाह परिवार ६ पटक सम्मानित भएको हो । यो विधामा सबैभन्दा धेरै, ७ पटक सम्मानित हुने व्यक्ति भने सिद्धार्थ राणा हुन् ।

सरकारले एकलौटी फर्मतर्फ आयकरमा थर्ड आई इन्टरनेसनल र वस्तुगततर्फ आयकरमा डाबर नेपाललाई सम्मान गरेको छ । थर्ड आई इन्टरनेसनल हातले बुनेका ऊनी गलैंचा उत्पादन तथा निर्यात गर्ने फर्म हो । सन् १९९२ मा व्यावसायिक उत्पादन सुरु गरेको डाबर नेपाल भारतको डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी हो, जसले जुस, च्यवनप्राश, टुथपेस्ट, कपालमा लगाउने तेल, महलगायत उत्पादन गर्छ । सूर्य नेपाल र डाबर नेपालले नेपालमा औद्योगिक उत्पादन र निर्यातको सम्भावना देखाइरहेका छन्, तर त्यही सम्भावना विस्तार गर्न कठिन रहेको उनीहरू बताउँछन् ।

सरकारले बैंक विधामा नबिल बैंकलाई सम्मान गरेको छ । नबिल बैंकले चार दशकभन्दा बढी समयदेखि वित्तीय मध्यस्थताको काम गर्दै आएको छ । सीजी कर्प ग्लोबल (चौधरी ग्रुप) को ५१ प्रतिशत सेयर रहेको नबिलले नवौं पटक यो सम्मान पाएको हो । बैंकहरू अर्थतन्त्रमा बचतलाई लगानीमा रूपान्तरण गर्ने माध्यम हुन् । तर बैंकमा पर्याप्त निक्षेप हुनु र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्नु फरक कुरा हो । लगानीको माग कमजोर हुँदा वा व्यवसायीले भविष्यप्रति भरोसा गुमाउँदा बैंकिङ प्रणालीमा रहेको तरलताले मात्रै आर्थिक वृद्धि हुँदैन — अर्थमन्त्रीले उल्लेख गरेको पर्याप्त तरलताको अर्को पाटो यही हो ।

वस्तु व्यापारतर्फ चौधरी ग्रुपकै सीजी इम्पेक्स पनि सम्मानित भएको छ । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार समग्रमा सीजी र नबिल परिवारले नेपालको कुल कर राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान गर्दै आएका छन् ।

सरकारले रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडलाई सम्मान गरेको छ । सन् १९९४ देखि चलिरहेको आईएमई समूहले विदेशमा काम गर्ने नेपालीले पठाएको रकम औपचारिक माध्यमबाट परिवारसम्म पुर्‍याउने प्रणालीको विकासमा मुख्य भूमिका खेलेको छ । समूहले २० हजारलाई रोजगारी दिएको जनाएको छ । ‘सरकारले करका दरमा सहुलियत गरेर तथा लगानीमैत्री वातावरण सिर्जना गरेर धेरै अरू कम्पनीलाई पनि राम्रो काम गर्न प्रोत्साहन गर्नुपर्छ,’ समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले भने ।

रेमिट्यान्सले उपभोग, विदेशी मुद्रा सञ्चिति र घरपरिवारको आम्दानीमा महत्त्वपूर्ण योगदान गरेको छ । तर यही तथ्यले अर्थतन्त्रको एउटा विरोधाभास देखाइरहेको छ । एकातिर विदेशमा श्रम गर्ने नागरिकको आम्दानीले देशको आर्थिक स्थिरता धानेको छ, अर्थमन्त्रीले उल्लेख गरेको विदेशी मुद्रा सञ्चिति पनि धेरै हदसम्म यसैको देन हो । अर्कोतिर स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्ने उत्पादनशील लगानी अझै चुनौती छ ।

सन् १९६६ देखि सञ्चालनमा रहेको सोल्टी होटल पर्यटन विधामा सम्मानित भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार समूहमा झन्डै २ हजार २ सय कर्मचारी कार्यरत छन् र यसको व्यवस्थापन तथा फ्रेन्चाइजअन्तर्गत ११ वटा होटल सञ्चालनमा छन् । पर्यटकको बसाइ लम्ब्याउनुपर्ने र त्यसका लागि सरकारले हवाई तथा सडक पूर्वाधारमा लगानी बढाउनुपर्ने होटलका लगानीकर्ता बताउँछन् ।

कुनै बेला १८ घण्टाभन्दा बढी अन्धकारमा बस्नुपरेको अवस्थाबाट अहिले नेपालले भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको छ । ऊर्जामूलक उद्योगतर्फ सम्मानित भोटेकोशी पावर कम्पनी निजी क्षेत्रबाट जलविद्युत् उत्पादन सुरु गर्ने अग्रणी कम्पनीमध्ये एक हो । नेपालको पहिलो विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्रिएको यो कम्पनीले सिन्धुपाल्चोकमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी आयोजना सञ्चालन गर्दै आएको छ । जलविद्युत्मा नेपालसँग ठूलो सम्भावना भए पनि आयोजना निर्माण, वित्तीय व्यवस्थापन, प्रसारण लाइन र बजारको सुनिश्चितता अझै निर्णायक चुनौती हुन् । उत्पादित बिजुलीलाई उद्योग, निर्यात र रोजगारीसँग जोड्न नसकिँदा सम्भावना पूर्ण आर्थिक लाभमा बदलिन सकेको छैन ।

सूचना प्रविधितर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस सम्मानित भएको छ । सूचना प्रविधि सेवा निर्यातले नेपाललाई भूगोल र ढुवानी लागतका सीमाबाट केही हदसम्म मुक्त हुन सक्ने अवसर दिएको छ । तर दक्ष जनशक्ति पलायन, अन्तर्राष्ट्रिय भुक्तानीमा कठिनाइ र नीतिगत अस्पष्टताले यो क्षेत्रको विस्तारमा अवरोध पुर्‍याउन सक्छ ।

यस्तै, कृषि एवं पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एन्ड फिड्स, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, ५० देखि १०० करोडसम्म कारोबार गर्नेमा फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, ५० करोडसम्म कारोबार गर्नेमा इम्पेरियल सेक्युरिटिज, विशेष उद्योगमा वरुण बेभरेज, जीवन बिमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र निर्जीवन बिमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सम्मानित भएका छन् ।

हिमालयन डिस्टिलरी मूल्य अभिवृद्धि करतर्फ र छिमेक लघुवित्त लघुवित्ततर्फ सम्मानित भएका छन् । २०७७ देखि २०८३ असार मसान्तसम्म भ्याट विवरण र कर समयमै बुझाएको भन्दै हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो । कर दिवसको अवसरमा करदातासँगै ११ कर्मचारीलाई समेत सम्मान गरिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले करको दायरा थप विस्तार गरिने प्रतिबद्धता जनाए ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
12h ago
कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

कर दिवसमा भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

१ मंसिर, काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. …

#भाटभटेनी #सम्मान
Compare →
Nagarik News
7h ago
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

#तिर्ने #सम्मान
Compare →
Hamro Patro News
8h ago
सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

काठमाडौं । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित व...

#तिर्ने #सम्मान
Compare →
Bizshala
8h ago
बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई नवौँपटक सरकारी सम्मान, दुई वर्षमा ६ अर्ब ६० करोड कर भुक्तानी

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई नवौँपटक सरकारी सम्मान, दुई वर्षमा ६ अर्ब ६० करोड कर भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा लगातार आफ्नो बलियो उपस्थिति...

#तिर्ने #सम्मान
Compare →
Arthasansar
11h ago
सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित

राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर...

#तिर्ने #सम्मान
Compare →

Related Stories

Business & Economy
Build #2612