बेलाबेला बजारमा चिनी प्रतिकिलो १ सय ३० भन्दा पनि बढी पुगिरहेकाले उखुको समर्थन मूल्य पनि उसैगरी बढाउनुपर्ने किसानको माग
काठमाडौँ — सरकारले यस वर्ष तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानले असहमति जनाएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ लागत बढाएर ६ सय २८ रुपैयाँ तोक्न लाग्दा लागत नउठ्ने भन्दै किसानले विरोध गरेका हुन् ।
उखुको मूल्य निर्धारण गर्दा बजारमा चिनीको मूल्य वृद्धिको अनुपातलाई आधार बनाउनुपर्ने किसानको माग छ । बेलाबेला बजारमा चिनी प्रतिकिलो १ सय ३० भन्दा पनि बढी पुगिरहेकाले उखुको समर्थन मूल्य पनि उसैगरी बढाउनुपर्ने किसानहरूको भनाइ छ ।
मन्त्रालयले किसानलाई भन्दा उद्योगीलाई प्रोत्साहन गर्न समर्थन मूल्य तोक्न लागेको नेपाल उखु उत्पादन संघका अध्यक्ष श्यामबाबु रायको आरोप छ । ‘गत वर्ष बजारमा चिनी प्रतिकिलो ८५ रुपैयाँमा बिक्री भइरहेको थियो । किसानका लागि प्रतिक्विन्टल उखुको समर्थन मूल्य ६ सय २० तोकियो,’ रायले भने, ‘अहिले चिनीको मूल्य बजारमा बढिरहेको छ । किसानको लागत भने कसरी उही पुरानै हुन्छ ?’
संघले कम्तीमा पनि प्रतिक्विन्टल १ हजार रुपैयाँ समर्थन मूल्य तोकिनुपर्ने माग राखेको रायले जनाए । ‘हामीले प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ मूल्य माग गरेका छौं । त्यसमा पनि केही घटाएर एक हजार रुपैयाँसम्म कायम भए चित्त बुझाउन सकिन्छ,’ उनले भने, ‘अहिलेको प्रस्तावअनुसार गतवर्षभन्दा ८ रुपैयाँ मात्रै बढाउँदा किसानको लागतसमेत उठ्दैन ।’
गत वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ थियो । त्यसमा सरकारले अुनदानबापत दिने रकम ७० रुपैयाँ थियो । उखु उत्पादनमा प्रतिक्विन्टल करिब ७ सय रुपैयाँ खर्च हुने गरेको राय बताउँछन् । एक क्विन्टल उखुबाट करिब ९ किलो चिनी उत्पादन हुन्छ । किसानले प्रतिक्विन्टल उखुको एक हजार रुपैयाँ मूल्य पाए पनि उनीहरूको हातमा मुनाफा करिब ३०० रुपैयाँ मात्रै बाँकी रहने रायको भनाइ छ ।
सरकारले प्रस्ताव गरेको मूल्यमा सहमति नजुटे आन्दोलनमा जानुपर्ने अवस्था आउने र उखु खेती नै छाड्नुपर्ने बाध्यता आइपर्ने रायको भनाइ छ । ‘मन्त्रालयसँग एक चरणमा छलफल भइसकेको छ, तर समर्थन मूल्यमा हामीले असहमति राख्यौं,’ उनले भने, ‘बिहीबार पुनः वार्ताका लागि बोलाइएको छ ।’
समर्थन मूल्य तोक्ने पहिलो चरणको छलफल निष्कर्षमा नपुगेपछि किसानलाई पुनः छलफलका लागि बोलाइएको मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्यालले पुष्टि गरे । सरकारले दिने अनुदानबाहेक प्रतिक्विन्टल ६ सय २८ देखि ६ सय ३० रुपैयाँसम्म कायम गर्ने तयारी भए पनि किसानले असहमति राखेको उनको भनाइ छ । थप छलफल गरेर यसै साता उखुको समर्थन मूल्य टुंगो लगाइने उनले जनाए ।
उखु क्रसिङको मुख्य सिजन मंसिर मध्यदेखि सुरु भई चैत–वैशाखसम्म चल्छ । गत वर्ष नेपालमा करिब २ करोड २१ लाख क्विन्टल उखु उत्पादन भएको थियो । यस वर्ष उत्पादन बढेर २ करोड २५ लाख क्विन्टल पुग्ने संघको अनुमान छ ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।