समयमै धान नभित्र्याए हात्तीले नष्ट गर्ने डरबीच सुरक्षा निकाय, जनप्रतिनिधिले खेतमै पुगेर किसानको दुःखमा साथ दिएका हुन् ।
झापा — जङ्गली हात्तीको बढ्दो आवागमनले धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि झापाको बाहुनडाँगीमा जनप्रतिनिधि र सुरक्षाकर्मी किसानको धान काट्न खेतमै पुगेका छन्।
हात्ती प्रभावित क्षेत्रका किसानको धानबाली जोगाउने र उनीहरूको दुःखमा साथ दिने उद्देश्यले सशस्त्र प्रहरी, नेपाल प्रहरी, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि र किसानहरू सामूहिक रूपमा धान काट्न खेतमा खटिएका हुन्।
पछिल्लो समय बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको आवागमन र चाप बढ्दै गएको छ। हात्तीले बालीनाली नष्ट गर्ने जोखिमका कारण किसानलाई समयमै धान भित्र्याउनुपर्ने दबाब छ। विगतमा हात्तीका कारण किसानलाई धान भित्याउनै सकस थियो । प्रभावित क्षेत्रको करिब २० बिघा वढी क्षेत्रको धान सामूहिक रुपमा काटिएको हो ।
सुरक्षा निकाय र समुदायको सामूहिक प्रयासले किसानलाई राहत पुगेको बाहुनडाँगी जेसिजका अध्यक्ष निकेशराज दाहालले जनाए। 'धान काट्ने अभियानले मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा स्थानीय समुदाय, जनप्रतिनिधि र सुरक्षा निकायबीचको सहकार्यलाई पनि उजागर गरेको छ', दाहालले भने। सुरक्षा निकायको जिम्मेवारी सीमा सुरक्षा, चोरी–तस्करी तथा अपराध नियन्त्रणमा मात्र सीमित नभई विपद् र संकटका बेला नागरिकको साथमा उभिनु सकारात्मक भएको स्थानीय अगुवाहरूको भनाइ छ।
अभियानमा जिल्ला प्रशासन कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, स्थानीय जनप्रतिनिधि र किसान सहभागी रहेको मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनाए।
स्थानीय तहले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले जनाए। 'किसानको बाली जोगाउने प्रयाससँगै मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने अभियानलाई व्यवहारमै अघि बढाउनुपर्ने हो', कार्कीले भने।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।