Trending
Prev Story
Next Story

चराको आहारा खोस्दै बदलिँदो खेती प्रणाली

Ekantipur •
November 15, 2026 • 09:32 AM
4
4 reads 0 reactions

धान काटेपछि खेत बाँझै छाड्ने चलन हराउँदै जानु र नदी तथा घोल आसपासका सिमसार पुरिँदै जानुले चराका लागि आवश्यक आहारा र सुरक्षित बासस्थल साँघुरिँदै गएको छ।

चराको आहारा खोस्दै बदलिँदो खेती प्रणाली

धान काटेपछि खेत बाँझै छाड्ने चलन हराउँदै जानु र नदी तथा घोल आसपासका सिमसार पुरिँदै जानुले चराका लागि आवश्यक आहारा र सुरक्षित बासस्थल साँघुरिँदै गएको छ।

चितवन — हिउँद सुरु भएसँगै हजारौं किलोमिटर उडेर हिमाल पार गर्दै चितवन आइपुग्ने पाहुना चराका लागि धान काटेपछि खेतमा पलाउने हरियो टुसा उत्तम आहारा हो । तर खेती प्रणालीमा आएको परिवर्तन र सिमसार क्षेत्र मासिँदै जाँदा हिउँदमा चितवन आउने चराको आहारा र बासस्थान दुवै संकटमा पर्न थालेका छन् ।

मनेश लिम्बु पेशाले पुराना नेचर गाइड हुन् । मेघौली घट्गाई नेचर गाइड एसोसिएसनका अध्यक्षसमेत रहेका लिम्बु चरा संरक्षणमा पनि प्रतिबद्ध छन् । भोटेकोशी बाढी, असोज ११ को बाढी र बूढीगण्डकीको बाढीपछि नारायणी नदीको रूप परिवर्तन भएको छ । यसले चरामा कस्तो असर देखिन्छ भनेर हेर्न उनी प्रायः नदी किनारतिर टहलिने गर्छन् ।

कात्तिक १७ गते मंगलबार उनी नारायणी नदीको हिरापुर क्षेत्रमा थिए । चखेवा र अन्य पानीचराको आवाज सुन्दा र बथानका बथान देख्दा उनले भने, ‘ल, अब चरा आउने क्रम सुरु भयो ।’ उनी नदीतर्फ तिखो नजर लगाइरहेका थिए । अचानक एउटा चरा पानीमा रमाउँदै डुबुल्की मारिरहेको देखे । उनले दूरबिन निकालेर हेर्दा त्यो ‘फेरुजिनस डक’ रहेछ ।

‘त्यति साह्रो दुर्लभ त होइन तर मैले चितवनमा यो चरा पहिलो पटक देखेँ । हिमाल पार गरेर आउने यो चरा यसअघि मैले कपिलवस्तुको जगदीशपुर तालमा देखेको थिएँ,’ मनेशले भने । चितवन राष्ट्रिय निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने नारायणी नदी किनारका बस्तीका स्थानीयलाई उनले चरा संरक्षणका लागि जागरुक बनाउँदै आएका छन् ।

‘यहाँ चुहाडी घोल भन्ने छ । त्यो घोललाई सफा राख्यौँ । घोलको राम्रो व्यवस्थापन भए त्यसमा चराका लागि आहारा हुन्छ । हिउँदमा धेरै टाढाबाट उड्दै चराहरू यहाँसम्म आउँछन् । टाढाबाट आएका पाहुना चरालाई सुरक्षित बासस्थल दिनुपर्छ,’ लिम्बुले भने । उनले सुधारिएको चुहाडी घोल पनि देखाए । आडैमा धान काटेर जमिन खाली थियो । काटेको धानको ठुटाबाट टुसा पलाएको थियो ।

यसरी पलाएको टुसा देख्दा लिम्बु झनै खुसी भए । ‘धानखेतमा पलाएको यस्तै टुसा मन पराएर खान्छन् पाहुना चराहरूले,’ उनले थपे । धान काटेपछि काम नलाग्ने ठानिएका यस्ता ठुटा चराका लागि राम्रो आहारा भएको हेक्का कमैलाई छ । त्यो पनि हजारौँ किलोमिटर दूरी पार गरेर हिमाल नाघ्दै आउने चराका लागि यो उत्तम भोजन भएको लिम्बु बताउँछन् । खेतमा झरेका धानका दाना पनि चराका लागि राम्रै आहारा हुन् ।

तर खेतको हालत सधैँ यस्तो हुँदैन । धान काटेपछि जमिन बाँझै छाड्ने क्रम अचेल हट्दै गएको छ । ‘तोरी लगाउँछन्, फापर लगाउँछन् । मसुरो, केराउ पनि छर्छन् । मकै लगाउने चलन पनि बढेको छ । मान्छेलाई आहारा चाहियो । त्यसैले जमिन बाँझो नछाड्दा पाहुना चरालाई समस्या छ,’ मनेशले भने । यो त खाने खेतको कुरा भयो । हिउँदमा आएर बस्ने र रमाउने खोला–नालामा पनि समस्या छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालमा पार्टनरसिप डेभलपमेन्ट प्रमुखका रूपमा कार्यरत राजेन्द्र सुवाल चरा विशेषज्ञ पनि हुन् । हिउँदमा बसाइँसराइ गरेर आउने चरा र पानीको सम्बन्धबारे प्रस्ट पार्न उनले एउटा अंग्रेजी कविताको प्रसिद्ध पंक्ति ‘वाटर, वाटर एभ्रीवेयर, बट नट अ ड्रप टु ड्रिङ्क’ को उदाहरण दिए । पानी नै पानी हुँदैमा पनि हिउँदे चराका लागि राम्रो हुँदैन भन्छन् उनी ।

बसाइँसराइ गरेर हिउँदयाममा नेपाल आउने चराका लागि आहारा उत्पादन हुन सक्ने पानीको स्रोत आवश्यक पर्ने सुवालले बताए । यस्तो ठाउँलाई सिमसार भनिन्छ । चार फिट गहिरो पानी हुने पोखरी, घोल या ताल माछा पाल्न उपयुक्त भए पनि चराका लागि त्यति उपयुक्त नहुने उनी बताउँछन् ।

हिउँदमा हिमाल नाघेर चितवन आएका चराका लागि आधा वा एक फिट मात्र पानी भएको सिमसारमा राम्रो आहारा पाइने सुवालले बताए । त्यसैगरी, धान काटेपछि त्यत्तिकै छाडेको र अलिअलि पानीले भिजिरहने चिस्यानयुक्त बाँझो जमिन पनि पाहुना चराका लागि आवश्यक हुन्छ । ‘नारायणी या खोलाको पानीमा दिनभरि खेल्छन् या बस्छन् । खाना यस्तो ठाउँमा खोज्छन्,’ सुवालले भने ।

कालाबञ्जर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पर्ने भरतपुरको पश्चिम भेगको दिव्यनगरको फाँट चराका लागि राम्रो आहारा स्थल मानिन्छ । तर खेती गर्ने शैलीमा आएको परिवर्तनले अब यो क्रम टुट्दै छ । धान काटेपछि प्रायः अरू बाली नलगाउने चलन हट्दै धेरै बाली लगाउने क्रम बढेको छ । नारायणी नदीमा तटबन्ध गरेपछि खेतमा पानी कम जाने र चिस्यान नरहने सुवालले बताए ।

‘चितवनको कालाबञ्जर समितिको दिव्यनगर फाँट, चुहाडी घोल हिउँदयाममा आउने चराका लागि राम्रो आश्रयस्थल र आहारा स्थल हो । त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लामिचौर उपभोक्ता समिति अन्तर्गतको बुढौलीकुना घोल पनि त्यस्तै महत्त्वपूर्ण क्षेत्र हो । यो घोलको आडमा ठूलो फाँट छ,’ सुवालले भने ।

घोल, धानको फाँट र दक्षिणतिर चितवन निकुञ्जको जंगल तथा नारायणी नदी छन् । त्यसैले हिउँदयाममा बसाइँ सरेर आउने चराहरू चितवन–नवलपरासीको यो भेगमा निकै बस्ने सुवालले बताए । चखेवा र खोया हाँसका ठूला–ठूला झुन्ड यहाँ आउँछन् । अन्य पानीचरा र लक्ष्मण सारस पनि यही मार्ग हुँदै आउँछन् र अडिन्छन् । करिब ६० प्रजातिका हिउँदे आगन्तुक चरा यहाँ आउने सुवालले बताए । अक्टोबरको अन्तिमदेखि नोभेम्बरसम्म चराहरू यहाँ आइपुग्छन् ।

सन् २०२५ मा यो क्षेत्रमा चखेवा चार हजार पाँच सय र खोया हाँस (बार हेडेड गुज) दुई हजार पाँच सय गणना भएको सुवालले बताए । गत वर्ष यो संख्या १५ प्रतिशत बढेको थियो । तर आउँदा दिन सहज छैनन् भन्छन् उनी । ‘खेती गर्ने शैली बदलियो । धान काटेर खेत बाँझो कमैले राख्छन् । फेरि खेती नगरे घडेरीमा बिक्री हुन्छ । अहिले धान फल्ने खेत केही वर्षमा घरैघरले भरिनेछन्,’ सुवालले भने ।

चितवन निकुञ्ज चराका लागि राम्रो क्षेत्र हो । तर त्यहाँ घाँसेमैदान घट्दो छ । घाँसेमैदान जसरी ताल–सिमसार पनि घट्दो छ । देवितालजस्तो निकुञ्जको पश्चिम क्षेत्रमा घना जंगलभित्र रहेको ठूलो ताल पनि पुरिँदै गएको छ । विसं २०१८ सालको बाढीमा चितवन निकुञ्जभित्र धेरै ताल र घोल बनेका थिए । ती ताल राम्रा सिमसार थिए । तर अहिले पुरिँदै गएर हराउन थालेको सुवालले सुनाए । ‘अहिले नै केही नगर्ने हो भने आउँदो २० वर्षमा चराका लागि यहाँ खाने–बस्ने ठाउँ हुँदैन । त्यसैले अहिलेदेखि नै केही गर्नुपर्छ,’ सुवालले भने ।

बासस्थल सुधारका साथै समुदायमा चराका बारेमा चेतना फैलाउन आवश्यक रहेको उनले बताए । स्थानीयलाई चराले के फाइदा गर्छन् भन्ने ज्ञान नहुन सक्छ । उनीहरूलाई चराका बारेमा बुझाउन डब्लुडब्लुएफ नेपालले युवा अभियन्ताहरू परिचालन गरेको थियो ।

लामिचौर मध्यवर्ती उपभोक्ता समितिको समुदायमा आधारित चोरी सिकार नियन्त्रण इकाइ (सीबीएपीयू) का अध्यक्ष प्रेम महतोले तीन वर्षदेखि समितिका २० जना युवाले चराका बारेमा समुदायलाई बुझाउँदै आएको बताए । बसाइँ सरेर आउने चरा संरक्षणका लागि डब्लुडब्लुएफ नेपालले लामिचौर र कालाबञ्जरमा स्थानीयलाई प्रशिक्षित गर्न युवाहरूको स्वयंसेवी समूह तयार गरेको हो ।

‘हाम्रो तीनवर्षे परियोजना थियो, अब यो सकिँदै पनि छ । यसमा जहाँ बसाइँसराइ गरेर धेरै चरा आउँछन्, उनीहरूको संरक्षणका लागि युवालाई परिचालन गर्नेदेखि सिमसार व्यवस्थापनमा पनि सहयोग गरेका छौँ,’ सुवालले भने ।

बुढौलीकुना घोल आडैमा विसं २०२० सालमा डेढ बिघा खेत किनेका मानबहादुर केसी ८० वर्षको उमेरमा पनि खेतमै भेटिए । उनी चरा धपाउन आएका थिए । ‘धान पाकेको छ । घोलमा आउने ठूला हाँसहरूले त केही गरेका छैनन् तर साना चराको झुन्ड नै हुन्छ । त्यसले धान खाएर सक्ने भयो भन्ने डरले धपाउन आएको हुँ,’ केसीले भने । उनले प्लास्टिकका दुईवटा ठूला खाली बोतल एकआपसमा ठोक्दै चर्को आवाज निकालेर चरा धपाउँदै थिए । राजेन्द्र सुवाल चरालाई हानी नहुने यस्तो तरिकाले चरा धपाउनु राम्रो हुने बताउँछन् । ‘गुलेलीले हान्ने, पासोमा पार्ने र कतैकतै त विषादी दिएर मार्ने गरिन्छ । त्यसो गर्न भएन । तर बुख्याँचा राख्ने, आवाज दिएर धपाउने राम्रो हो,’ सुवालले भने ।

बसाइँ सरेर आउने चराले लेउ, किरा, माछा र खसेका अनाजका दाना खाने हुँदा किसानलाई कुनै हानि नगर्ने उनी बताउँछन् । कुनै चराले मुसा समाएर खान्छन् । अन्न खाने र बिरुवा खाने किरालाई चराले खान्छन् । त्यसैले चरा किसानका मित्र हुन् । ‘तर वर्षमा तीन बाली लगाउने, तीन पटक विषादी छर्ने क्रम सुरु भएको छ । यो ठूलो संकट हो,’ सुवालले भने । बसाइँ सरेर आउने हिउँदे चराले कतैकतै मसुरो लगायतका बाली खाने गरेको प्रमाण स्थानीयले दिने गरेको मनेश लिम्बुले बताए । यो नयाँ खालको चुनौती हो । ‘लगाएको बाली चराले खाए मान्छे रिसाउँछन् । यो सन्दर्भमा के गर्नु राम्रो हुन्छ ? हामीले सोच्नुपर्छ,’ मनेशले भने ।

स्थानीयलाई चराभन्दा पनि आफूहरूले सुरुमा पानीका बारेमा बुझाउने गरेको राजेन्द्र सुवालले बताए । पानीको स्रोत संरक्षण भए किसानलाई फाइदा हुन्छ । परियोजनाअन्तर्गत डब्लुडब्लुएफ नेपालले ११ वटा पुराना सिमसार मर्मत गरेको र चारवटा नयाँ बनाएको सुवालले जानकारी दिए । कावासोतीमा रहेको बोरिङधाप घोल तीन हेक्टरमा फैलिएको खेतनजिकैको सिमसार हो । तर यो पुरिँदै गएको थियो ।

चार लाख ४८ हजार रुपैयाँ खर्च गरेर यो घोल सफा गरेको कृष्णसार मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बिकनकुमारी महतोले बताइन् । घोलवरपर धानखेत हुने जमिन प्रशस्त छ । चराका लागि भनेर घोल सफा गर्दा सुरुमा स्थानीयले अन्यथा बुझेको उनले बताइन् । चराले दुःख देलान् भन्ने डरले उनीहरूले त्यस्तो सोचेका थिए । सिमसारले चरालाई मात्र नभएर सबैको हित गर्छ भनेपछि सहयोग गरे ।

‘यो पर्यटनसँग पनि जोडिन्छ । तालतलैया, घोल, सिमसार वन्यजन्तुका राम्रा आश्रयस्थल हुन्, चराका मात्रै होइनन् । सिमसारको संरक्षणबाट हुने प्रभावले पर्यापर्यटन सुरु हुन्छ । स्थानीयले आयआर्जन गर्छन्,’ सुवालले भने । चराबारे सचेतना फैलाउन समुदायमा सक्रिय युवाहरू प्रायः नेचर गाइड पेसामा छन् । नेचर गाइड भएकाले उनीहरू संरक्षणप्रति प्रतिबद्ध छन् । यसले उनीहरूलाई फाइदा नै हुन्छ ।

खोया हाँस सगरमाथाभन्दा पनि उचाइबाट उड्दै आउँछ । हिमालपारिको तिब्बत, मंगोलिया र साइबेरियाबाट चराहरू उड्दै हिउँदमा चितवन आउँछन् । त्यहाँ हिउँ नपर्दासम्म दिन लामो हुन्छ । गुँड लगाउने, अण्डा पार्ने, बच्चा कोरल्ने र हुर्काउने काम त्यहीँ सम्भव हुन्छ । सूर्यको प्रकाश लामो समय कायम रहने भएकाले बच्चाहरू छिटो हुर्कन्छन् । आहारा प्रशस्त हुन्छ, त्यसैले खानाको चिन्ता हुँदैन भन्छन् सुवाल ।

‘यता हिउँदयाम सुरु हुँदा त्यता सबै कुरा हिउँले ढाक्छ । त्यहाँ मान्छेको कुनै चाप हुँदैन । बस्न र खान राम्रो र ठूलो ठाउँ हुन्छ । तर हिउँले सबै ढाकेपछि खानेकुरा खोज्दै यता आउँछन् । यहाँ खाने–बस्ने ठाउँ साह्रै सानो हुँदै गएको छ । मान्छेको चाप त कति हो कति,’ सुवालले भने । त्यसैले बसाइँ सरेर आउने चराहरूको बारेमा चिन्ता गर्दै पानी संरक्षण र व्यवस्थापनमा सबै लाग्नुपर्ने उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
फैलिंदै कालानमक धान खेती

फैलिंदै कालानमक धान खेती

बर्दियामा रैथाने बास्नादार कालानमक धान खेती बढ्दै गएको छ । गत चार वर्षदेखि ठाकुरबाबा नगरपालिकाले सहकारीसँग सहकार्य गरी कालानमक धानको प्रवर्धन र संरक्षणको सुरुवात गरेकोमा अहिले खेती गर्ने किसान बढ्द...

#धान #खेती
Compare →

Related Stories

Business & Economy
Build #2612