Trending
Prev Story
Next Story

कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?

Ekantipur •
November 17, 2026 • 10:32 AM
2
2 reads 0 reactions

विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ ।

कांग्रेसमा वरिष्ठ उपसभापतिको पद कति शक्तिशाली ?

विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्मामाथि जिम्मेवारीको थुप्रो लागेको छ । विधान संशोधनपछि नयाँ पद सिर्जना भएसँगै उनले यस्तो जिम्मेवारी पाएका हुन् । कांग्रेसमा यसअघि वरिष्ठ उपसभापतिको पद थिएन । विगतमा महामन्त्रीअन्तर्गत रहेका कतिपय अधिकारसमेत यस महाधिवेशनबाट वरिष्ठ उपसभापतिको जिम्मेवारीमा ल्याइएको छ । त्यति मात्र होइन, सभापतिको तजबिजी अधिकारसमेत विधानमै व्यवस्था गरेर वरिष्ठ उपसभापतिमातहत ल्याइएको छ ।

संशोधन हुनुभन्दा अघिको विधानको धारा २७ मा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीअन्तर्गत रहने व्यवस्था थियो । महामन्त्रीले नै केन्द्रीय कार्यालयको रेखदेख तथा सञ्चालन गर्ने जिम्मेवारी पाएका थिए । संशोधनपछि पनि उक्त धारा यथावत् छ । तर, सोही व्यवस्थामा भएजस्तै गरी धारा २६ (क) को उपधारा ३ मा केन्द्रीय कार्यालयको संयोजन गर्ने जिम्मेवारी वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत राखिएको छ ।

विगतमा केन्द्रीय कार्यालयको सम्पूर्ण काम महामन्त्रीले नै गर्दै आएका थिए । १४औँ महाधिवेशनपछि गगन थापा र विश्वप्रकाश शर्माले पनि महामन्त्रीका रूपमा यही जिम्मेवारी निर्वाह गरेका थिए । तर, पछिल्लो समय केन्द्रीय कार्यालयको सञ्चालन र रेखदेखको सबै जिम्मेवारी शर्मामातहतमै आएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई पार्टीको महत्त्वपूर्ण र शक्तिशाली निकाय मानिन्छ । विगतमा सभापतिले तोकेको व्यक्ति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था थियो । विधानको धारा ३६ अनुसार सभापतिले तोकेको केन्द्रीय उपसभापति प्रतिष्ठानको प्रमुख रहने प्रावधान थियो । तर, संशोधनमार्फत उक्त व्यवस्था परिवर्तन गर्दै वरिष्ठ उपसभापति नै प्रतिष्ठानको प्रमुख रहने व्यवस्था गरिएको छ । यसलाई पनि वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकारको सूचीमा समेटिएको छ ।

यसरी विगतमा सभापतिको तजबिजमा रहने अधिकारसमेत वरिष्ठ उपसभापतिमार्फत प्रयोग हुने गरी व्यवस्था गरिएको छ । सभापति शेरबहादुर देउवाका दुई कार्यकालमा पहिलो कार्यकालमा विमलेन्द्र निधि र दोस्रो कार्यकालमा पूर्णबहादुर खड्कालाई उपसभापतिको जिम्मेवारी दिइएको थियो । सभापतिले आफूअनुकूल उपसभापतिलाई महत्त्वपूर्ण जिम्मेवारी दिने सुविधा पाएका थिए । तर, यसपटक भने सभापति गगन थापाले त्यस्तो सुविधा पाउने अवस्था छैन ।

त्यस्तै, धारा २६ (क) को उपधारा १ मा केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापतिले कार्यवाहक सभापतिको रूपमा काम गर्ने व्यवस्था गरिएको छ । विगतमा सभापतिको अनुपस्थितिमा स्वतः उपसभापति कार्यवाहक हुने व्यवस्था थिएन । बरु, धारा २५ अन्तर्गत केन्द्रीय कार्यसमितिमा रहेको सभापतिको काम, कर्तव्य र अधिकारसम्बन्धी सूचीको बुँदा १३ मा सभापति विदेश गएको अवस्थामा वा आवश्यकताअनुसार उपसभापतिलाई कार्यवाहक सभापति तोक्ने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार सभापतिले उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिने प्रचलन थियो ।

यसै व्यवस्थाअनुसार जेनजी आन्दोलनपछि पार्टीभित्र विवाद र बहस चर्किएका बेला देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । तर, अहिले विधानको धारा २६ (क) को उपधारा १ मा सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापतिले कार्यवाहक सभापतिको रूपमा काम गर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति अनुपस्थित हुँदा स्वतः विश्वप्रकाश शर्मा कार्यवाहक सभापति बन्नेछन् ।

पार्टीको यस्तो नीतिगत व्यवस्थाले विश्वप्रकाश शर्मालाई शक्तिशाली बनाएको छ । गगन थापानिकट एक पदाधिकारीका अनुसार सभापति थापाले शर्मामाथि अतिरिक्त विश्वास गर्ने र उनका कुरामा असहमति नजनाउने भएकाले पनि पार्टीभित्र उनको प्रभाव बढ्दै गएको टिप्पणी गरे । तर, यसबारे खुलेर बोल्न भने उनले स्वीकार गरेनन् ।

नेपाली कांग्रेसको विधानमा यसअघि वरिष्ठ उपसभापतिको पदको परिकल्पना थिएन । बरु, २०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेताका रूपमा स्वीकार गरिएको थियो ।

त्यसपछि कांग्रेस महाधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धीलाई वरिष्ठ नेताका रूपमा सम्मान गर्ने परम्परा विकास भयो । ११औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग र १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएपछि देउवालाई वरिष्ठ नेताका रूपमा सम्मान गरिएको थियो । त्यस्तै, १३औँ महाधिवेशनमा देउवासँग पराजित रामचन्द्र पौडेललाई पनि वरिष्ठ नेताका रूपमा सम्मान गर्ने प्रचलन थियो । तर, त्यतिबेला अहिलेका वरिष्ठ उपसभापतिले पाएजस्तो अधिकारको कल्पना गरिएको थिएन ।

कांग्रेस महामन्त्री उदयशमशेर राणाले वरिष्ठ उपसभापतिको नयाँ पदले कसैको अधिकार कटौती नगरेको बताए । उनले भने, ‘कार्यालयको काम महामन्त्रीको मात्रै हो भन्ने होइन, यो सबैको साझा जिम्मेवारी हो । महामन्त्रीको अधिकार कटौती गरिएको होइन, सबैको सहमतिमा जिम्मेवारी प्रत्यायोजन गरिएको हो । वरिष्ठ उपसभापतिले समग्र कार्यालयको कामको संयोजन र समन्वय गर्ने हो ।’

प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि

कांग्रेसमा शक्तिसंघर्ष: देउवाको उत्तराधिकारी खोजी थापा नेतृत्वमा असन्तुष्टि

नेपाली कांग्रेस इतर पक्षको महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वको प्रतिस्पर्धा सुरु भएको छ।

#महाधिवेशन #कांग्रेस
Compare →
Hamro Patro News
2d ago
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन्। छठ पर्व मनाउन ...

#जिम्मेवारी #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612