लिम्बू समुदायले नयाँ अन्न प्रकृतिलाई चढाएर मात्रै खाने परम्पराअनुसार ताप्लेजुङको फुङलिङमा र्याली र सांस्कृतिक कार्यक्रमसहित पर्व मनाएको छ।
ताप्लेजुङ — पूर्वी नेपालमा लिम्बू समुदायको न्वागी पूजा अर्थात् चासोक तङनाम सुरु भएको छ । पाकेको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्रै खाने परम्पराअनुसार लिम्बू किरात समुदायले सामूहिक तथा व्यक्तिगत रूपमा यो पर्व मनाउन थालेका हुन् ।
याक्थुङ चुम्लुङ र युमा साम्यो महासभा ताप्लेजुङले हरेक वर्ष मंसिर १ गते संयुक्त रूपमा चासोक तङनाम मनाउँदै आएका छन् । मंगलबार सदरमुकाम फुङलिङमा र्यालीसहित नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गरेर पर्व मनाइएको छ ।
यस अवसरमा धान नाच, च्याब्रुङ नाच (यालाङ केलाङ), हाक्पारे, ख्याली, तुहा ताम्के, यबा साम्बा लाङ, झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका नृत्यलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
याक्थुङ चुम्लुङका सचिव इन्द्रबहादुर पालुङ्वाका अनुसार मंगलबार बिहान धान, कोदो लगायतका अन्नबाली सामूहिक रूपमा प्रकृतिलाई चढाइएको छ । फेदाङ्बाहरूले मन्त्रोच्चारण र विधिअनुसार प्रकृतिको पूजा गरी नयाँ पाकेको अन्नबाली चढाएको उनले बताए ।
युमा साम्यो महासभाका अध्यक्ष भुवानीप्रसाद लिम्बूका अनुसार अन्नबाली भित्र्याइसकिएको र कतिपयले खानसमेत थालिसक्ने भएकाले मंसिर १ गते नै चासोक मनाउन थालिएको हो । याक्थुङ चुम्लुङका अध्यक्ष हाङमाया लेछर्बोले भनिन्, ‘सरकारले सार्वजनिक बिदा दिने चासोक तङनाम कहिले मंसिर अन्तिममा त कहिले पुसमा पर्ने र त्यतिबेलासम्म अन्नबाली चढाउन ढिलो हुने भएकाले विगत चार वर्षयता मंसिर १ गते नै मनाउन थालेका हौं ।’
लिम्बू समुदायमा पाकेको अन्न प्रकृतिलाई नचढाई खाए अनिष्ट हुन्छ भन्ने मान्यता रहेको हाङमाया बताउँछिन् । ‘धेरैले पहिल्यै घरमा न्वागी पूजा गर्ने र औपचारिकताका लागि चासोकमा पनि भेला हुने गर्नुभएको थियो,’ उनले थपिन्, ‘हामीले चाहिँ मंसिर १ मा अन्न चढाउने उपयुक्त समय हुने भएकाले यही बेला सामूहिक रूपमा मनाऔं भनेर गर्दै आएका छौं ।’
न्वागी पूजा ठाउँ र परिवेशअनुसार फरक शैली र समयमा मनाउने गरिएको स्थानीय बताउँछन् । सामूहिक रूपमा पर्व मनाउन स्थानीय सरकारले पनि सहयोग गर्दै आएको छ । मंसिर १ गते मनाइने चासोक तङनामका लागि फुङलिङ नगरपालिकाले आर्थिक सहयोग गर्ने गरेको नगर प्रमुख अमिर मादेनले बताए ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।