नेपालमा सुन तस्करीको जालो भत्काउन पटक–पटक ठूला अनुसन्धान भए, संगठित गिरोहका नाइकेदेखि प्रहरी अधिकारीसम्ममाथि मुद्दा चल्यो तर तस्करी रोकिएन
काठमाडौँ — सुन तस्करीको जालो भत्काउन पटक–पटक ठूला अनुसन्धान गर्नुका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चलाइँदा पनि तस्करी रोकिन सकेको छैन । पछिल्लो एक दशकमा देशमा हवाई र स्थलमार्ग हुँदै तस्करी गरिएको ५७९ किलो २ सय १८ ग्राम सुन बरामद भएको छ । पछिल्लो पटक बिहीबार काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो ७५०.६८ ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार चिनियाँ नागरिक ४७ वर्षीय झोउ लाङक्विन, ३७ वर्षीय हान फेई र ३६ वर्षीय वाङ जिआनजेङ बिहीबार पक्राउ परेका हुन् । लेदो बनाई ल्याएर राखिएको सुन उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले बरामद गरेको थियो । सुन तताउने र गलाउने, ढिक्का बनाउने र जोख्ने उपकरण पनि बरामद गरिएका छन् ।
तस्करीमा संलग्न चिनियाँ नागरिकले हाल अमेरिका बस्ने एक व्यक्तिको घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएर सुन पगाल्ने र बिस्कुट बनाउने गरेको पाइएको छ । उनीहरूले त्यो घर ८ साउनदेखि भाडामा लिएर चार महिनाको भाडा १३ लाख २० हजार रुपैयाँ अग्रिम दिएका थिए ।
‘घरबेटी पनि नभएको घर भाडामा लिएर उनीहरूले सानोतिनो कारखाना नै चलाएको देखिन्छ, घर भाडामा लिएका चिनियाँ नागरिक अहिले नेपालमा छैनन्,’ एसएसपी खड्काले भने, ‘अरूले पगाल्ने र बाहिर सुन पठाउने गरेको देखिन्छ ।’
विशेष सूचनाका आधारमा प्रहरीले बुढानीलकण्ठ नगरपालिकाको भंगालस्थित त्यस घरमा १० दिनभन्दा लामो समयदेखि निगरानी गरिरहेको थियो । त्यस क्रममा घरबाट सीमित व्यक्तिको मात्र आउजाउ भइरहेको देखिएको थियो । उक्त घरबाट बिहीबार बिहान ५ बजेतिर एउटा कार निस्किएको थियो । चिनियाँ नागरिकले भाडामा लिएको कार निस्किनेबित्तिकै कोही भाग्ने आशंकामा प्रहरी टोलीले गाडी रोक्यो ।
अर्को टोली घरभित्र प्रवेश गर्न खोज्यो । त्यस क्रममा केहीबेर तनाव भयो । प्रहरीका अनुसार त्यसपछि भित्र गएर खानतलासी लिँदा सुनको ढिक्का मात्र होइन, कारखाना नै भेटिएको थियो । घरबाट बाहिर निस्किँदै गरेको गाडीमा समेत सुनका दुई वटा बिस्कुट फेला परे । बरामद भएको सबै सुन बजार मूल्यअनुसार ५४ करोड ६० लाख रुपैयाँ पर्ने एसएसपी खड्काको भनाइ छ । ‘हालसम्म यो कुन स्थलमार्गबाट तस्करी भएर आएको हो कि विमानस्थलबाट आयो भन्ने पुष्टि भइसकेको छैन,’ उनले थपे ।
भाषाका कारण सोधपुछ गर्नसमेत समस्या रहेकाले कतिपय कुरा खुलाउन गाह्रो भएको एसएसपी खड्काले बताए । ‘अहिले दोभासे प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘अरू विभिन्न विधि प्रयोग गरेर थप पहिल्याउने प्रयास गरिरहेका छौं ।’
सुन बरामद भएको घर आसपासका व्यक्तिहरूका अनुसार १० भदौमा आएको भोटेकोशी बाढीपछि घरमा चिनियाँ नागरिकको चहलपहल थिएन । ‘बाढीमा आफन्त कोही हराएकाले नआएका होलान् भन्ने उनीहरूले ठानेका रहेछन्,’ अनुसन्धानमा खटिएका अर्का एक अधिकृतले भने, ‘तर पछि उनीहरू आए, हिजो हामीले सुन समात्दा स्थानीय धेरै मानिस छक्क परे ।’
पछिल्लो पटक चिनियाँ नागरिकको समूह त्यस घरमा आएको १७ दिनजति भएको थियो । अधिकृतहरूका अनुसार पक्राउ परेका तीन चिनियाँ नागरिकले नै घरमा भएको अर्धठोस प्रकृतिको सुनलाई प्रशोधन गरेर बजारमा पठाउन तयारी अवस्थामा राख्ने गरेको पाइएको छ । ‘त्यसपछि उनीहरूलाई अनलाइनमा दिइने निर्देशनअनुसार सम्बन्धित ठाउँमा डेलिभरी गर्ने गरेको देखिएको छ,’ ती अधिकृतले भने । त्यसरी निर्देशन दिने व्यक्ति चीनमै रहेको प्रहरीको भनाइ छ ।
यसअघि साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पार गरिसकेको अवस्थामा ‘ब्रेक सु’ भित्र ६० किलो सुन बरामद भएको थियो । ‘ब्रेक सु’ मा लुकाएर ल्याइने सुन स्थलमार्गबाट भारततर्फ तस्करी हुने गरेको थियो । त्यस बेला राजस्व अनुसन्धान विभागको टोलीले टोखामा प्रि–फ्याबको घरभित्र सुन गाल्ने, रि–फ्रेम गर्ने अनि अर्को स्वरूपमा परिणत गर्ने कारखाना नै फेला पारेर छापा मारेको थियो । त्यो सुन हङकङबाट ल्याइएको खुलेको थियो ।
मोटरसाइकलको ‘ब्रेक सु’ का रूपमा सुन भन्सार पास गराउने गरिएको थियो । त्यस क्रममा प्रहरीले एक बेल्जियन नागरिकमाथिसमेत अनुसन्धान गरेको थियो । नेपालका तत्कालीन माओवादी नेताहरूसँग उनको सम्पर्क देखिएको थियो । त्यसबेला पक्राउ परेका दावाजिन वाङको समेत तत्कालीन माओवादी नेताहरूसँग उठबस देखिएको थियो । ‘पछिल्लो प्रकरणमा भने चिनियाँ नागरिकको नेपालका सहयोगीबारे केही खुलेको छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यस विषयमा पनि अनुसन्धान केन्द्रित छ ।’
प्रहरीका उच्च अधिकृतहरूका अनुसार, नेपालमा सुन तस्करी पञ्चायतकालदेखि नै हुँदै आएको छ । त्यतिबेला तस्करीमा दरबारियाहरूको भूमिगत गिरोह सक्रिय थियो । २०४६ पछि कांग्रेस र कम्युनिस्टहरू पनि सुन तस्करी मामिलामा जोडिन थालेका थिए । पञ्चायतमा राप्रपाका एक नेता ‘सुन बूढा’ का नामले चर्चित थिए । चुनाव लड्दा ‘गाउँमा सबैलाई एक/एक वटा बुलाकी लगाइदिन्छु’ भन्दै प्रचार गरेका उनी सुनसहित रातो राहदानीमा समातिएका थिए ।
२०७४ मा गठित उच्चस्तरीय सुन छानबिन समितिलाई बयान दिने क्रममा राप्रपाका नेता भुजुङ गुरुङले समेत २०४० देखि नै आफूले सुन तस्करी गरेको खुलासा गरेका थिए । लामो समयदेखि तस्करी छाडे पनि २०६९ मा मोहनकुमार अग्रवाल, चूडामणि उप्रेती ‘गोरे’ लगायतलाई भेटेपछि फेरि सुन तस्करी थालेको गुरुङले बताएका थिए ।
२०७४ मा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो । ३३ किलो सुन हराएपछि तस्कर समूहले खोजबिन गर्ने क्रममा शाक्य मारिएका थिए । त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर अनुसन्धान थालेको थियो । यही प्रकरणमा २०७५ मा ६३ जनाविरुद्ध मुद्दा चलाइएको थियो । त्यसपछि लामो समयसम्म विमास्थलबाट संगठित सुन तस्करी भएको विवरण आएको थिएन ।
‘त्यो छानबिनपछि विमानस्थलमार्फत हुने सुन तस्करीको एउटा ठूलो र्याकेट ध्वस्त भएको थियो, प्रहरी, विमानस्थलका कर्मचारी, भरियादेखि नाइकेसम्म एक्सपोज भएका थिए,’ पौडेल नेतृत्वको छानबिन समितिमा सदस्यसमेत रहेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त लामा भन्छन्, ‘त्यसपछि लामो समय विमानस्थलबाट संगठित रूपमा सुन तस्करी भएन, बरामद पनि भएन ।’
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ४८ किलो २७७ ग्राम र २०७४/७५ मा २१४ किलो १९४ ग्राम सुन बरामद भएको थियो । तर त्यसपछि २०७५/७६ मा ६१ किलो २ ग्राम, २०७६/७७ मा ३४ किलो ३६८ ग्राम, २०७७/७८ मा ३७ किलो ५७६ ग्राम, २०७८/७९ मा ३१ किलो ३७८ ग्राम, २०७९/०८० मा २० किलो ६५९ ग्राम सुन बरामद भयो । २०८०/८१ मा ५३ किलो ७१४ ग्राम, २०८१/८२ मा ४५ किलो ६१९ ग्राम र २०८२/८३ मा ३२ किलो ४३२ ग्राम सुन बरामद भएको थियो ।
आर्थिक वर्ष २०७३/०७४ देखि २०८२/८३ सम्ममा बरामद भएको सुनबाट ५ अर्ब ६१ करोड ८२ लाख ३३ हजार ८ सय ८५ रुपैयाँ राजस्व असुली भएको छ । तस्करीमा संलग्न देखिएका ७ सय ६८ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृत भने सुन बरामद नहुनुलाई तस्करी नै नभएको मान्न नसकिने बताउँछन् । ‘सुन समातिने भनेको सुराकीकै आधारमा हो, कि समूहभित्र विवाद हुँदा प्रहरीसम्म थाहा हुने हो,’ ती अधिकृतले भने, ‘त्यही कारण सुन बरामद नहुनुलाई तस्करी नै नभएको मान्न सकिँदैन ।’
तस्करीबाट भित्रिएको सुनचाँदी बरामद भए सुराकी दिनेका लागि भन्सार नियमावलीमा कमिसनको व्यवस्था गरिएको थियो । नियमावली २०६४ को नियम ४७ को सुराकी र पुरस्कारसम्बन्धी प्रावधानमा भनिएको थियो, ‘सुन/चाँदी, जवाहरातसम्बन्धी मुद्दामा सुराकी दिने र त्यस्तो मालवस्तु मानिससहित वा मानिसबाहेक पक्री पेस गर्ने व्यक्तिलाई पुरस्कार दिँदा त्यस्तो मालवस्तु बिक्री वा लिलामबाट प्राप्त भएको रकमको १० प्रतिशत वा १० लाखमध्ये जुन घटी हुन आउँछ, सोही रकम पुरस्कार दिइनेछ ।’ त्यसअघि २५ प्रतिशत रकम सुराकीलाई दिने व्यवस्था थियो । जोखिम धेरै हुने र फाइदा पनि कम हुन थालेपछि सुराकी आउन कम भएको प्रहरीका अधिकारीको भनाइ छ ।
त्यसमाथि २०७४ को सुन प्रकरणदेखि अरू ठूलो सुन बरामदका घटनामा अनुसन्धान अधिकृतहरू नै विवादमा पर्न थालेका थिए । त्यसैले प्रहरीले सुनमा चासो दिन छाडेको थियो । अहिले भन्सार नियमावली, २०८३ मा चोरी निकासी वा पैठारी गर्न लागेको वा भइसकेको बारे विश्वसनीय सूचना दिने सुराकीलाई बरामद वा लिलामबाट प्राप्त रकमको १५ प्रतिशत पुरस्कार दिइने भनिएको छ । ‘यसपछि केही सूचना पनि आउन थालेको छ,’ ती अधिकृतले भने । ठूलो परिमाणमा बरामद सुन अधिकांश हवाईमार्गबाट तस्करी भएर आएको पाइन्छ ।
केही रसुवागढी, तातोपानीलगायतका नाकाबाट स्थलमार्ग हुँदै ल्याइएको भेटिएको छ । उच्चस्तरीय छानबिन समितिका सदस्य लामा बजारमा माग भएसम्म सुन तस्करी नरोकिने बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार मुलुकमा दैनिक ३० किलो सुन खपत हुने गरेको छ । तर नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकमार्फत दैनिक २५ किलो सुन मात्रै बजार पठाउने गरेको छ । यो तथ्यले नेपाली बजारमा दिनमै ५ किलो सुन अभाव हुनुपर्ने देखाउँछ । तर बजारमा सुनको कमी छैन ।
विगतमा वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन मात्र बजारमा जान्थ्यो । त्यस्तोमा पनि सुनको अभाव हुँदैनथ्यो । ‘त्यो सबै तस्करीको सुनबाट पूर्ति हुने गरेको थियो, यद्यपि नेपालमा बरामद हुने अधिकांश सुनको गन्तव्य भारत नै हुने गरेको छ,’ पूर्वएआईजी लामाले भने, ‘नेपाल र भारतमा भन्सार दरको फरकले तस्करीलाई प्रोत्साहन दिइरहेको छ ।’
उनका अनुसार, जोखिम धेरै भए पनि फाइदा बढी हुँदा तस्करीमा संलग्नले यसलाई निरन्तरता दिने गरेका छन् । त्यसमाथि विमानस्थल र स्थल नाकामा देखिएका कमजोरीलाई सुधार्न विगतमा गठित उच्चस्तरीय समितिका प्रतिवेदनहरूले दिएको सुझाव कार्यान्वयन नहुनुले पनि तस्करहरूलाई नै प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।