वर्षातमा खसेको पहिरो, सडकमा थुपारिएको निर्माण सामग्री र धुलाम्मे सडकले यात्रुलाई सास्ती
सल्यान — राप्ती राजमार्गअन्तर्गत राम्री र अरिङ्गालेपेदी खण्डको ११ किलोमिटर सडकमा स्तरवृद्धि तथा कालोपत्रेको काम एक महिनादेखि रोकिएको छ । चाडपर्व मनाउन प्राविधिक र मजदुर घर फर्किएपछि निर्माणको काम रोकिएको हो ।
निर्माण रोकिएपछि कम्पनीले सडक स्तरवृद्धि तथा कालोपत्रेका लागि थुपारेको निर्माण सामग्री र वर्षातमा खसेको पहिरो सडकबाट हटाइएको छैन । यसले सडक साँघुरो हुनुका साथै धुलाम्मे बनाएको छ । अहिले उक्त सडक खण्डमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् । पहिरो र सडकमा थुपारिएको निर्माण सामग्रीका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।
सडक डिभिजन कार्यालय दाङले राम्री खण्डमा ५ र अरिङ्गालेपेदी खण्डमा ६ किलोमिटर सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गत वर्षदेखि सुरु गरेको थियो । डिभिजन कार्यालयले यसका लागि ४० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो । निर्माणको जिम्मेवारी पिके निर्माण सेवाले पाएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सडक स्तरवृद्धि तथा कालोपत्रेको काम निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत सम्पन्न गरेको छ ।
सल्यानदेखि मोटरसाइकलमा दाङको तुलसीपुर जाँदै गरेका बागचौर नगरपालिका–१० का विमल ओलीले अरिङ्गालेपेदी र राम्री सडक खण्डमा ज्यान जोखिममा राखेर मोटरसाइकल चलाउनुपर्ने अवस्था रहेको बताए ।
‘पहिरो र थुपारेको निर्माण सामग्रीले गर्दा सडक साँघुरो मात्र छैन, धुलाम्मे पनि छ । गाडीले उडाएको धुलोले कपडा पूरै धुलाम्मे हुन्छ । कतिखेर बाटो देखिँदैन । धुलोले स्वास्थ्यमा असर त पुर्याएको छँदैछ, दुर्घटना हुने खतरा उत्तिकै छ । धेरै सावधानी अपनाएर बाइक चलाउनुपर्छ,’ उनले भने । निर्माण कम्पनीले पहिरो र सडकमा थुपारेको सामग्री समयमै व्यवस्थापन गरे दुर्घटनाको जोखिम कम हुने उनको भनाइ छ ।
साँघुरो सडकमा क्षमताभन्दा बढी चुनढुंगा बोकेर गुड्ने टिपरका कारण दुर्घटनाको जोखिम झन् बढेको मोटरसाइकलमा सवार अर्का यात्रु राकेश भण्डारीले बताए । सडक स्तरवृद्धिको काममा निर्माण कम्पनीले लापरबाही गरेको उनको आरोप छ । ‘पहिरो र सडकमा थुपारेको निर्माण सामग्री त छँदैछ, वर्षातको समयमा दैनिकजसो पहिरो खस्ने र सडक हिलाम्मे हुँदा आउजाउ गर्न धेरै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘सडकको दुरवस्थाका कारण गन्तव्यसम्म पुगिन्छ कि पुगिँदैन भन्ने चिन्ता हुन्थ्यो । अहिले वर्षातको समयमा जस्तो समस्या त छैन, साँघुरो र धुलाम्मे सडकले सास्ती उत्तिकै छ ।’
बिहान सडकमा आउजाउ गर्दा गाडीको चाप कम हुने भएकाले त्यति समस्या नहुने भए पनि दिउँसो यात्रा गर्दा धुलोका कारण समस्या हुने गरेको शारदा घर्तीले बताइन् । धुलोले कपडा कामै नलाग्ने हुने गरेको उनको भनाइ छ । सडक पूरै कालोपत्रे नहुँदासम्म यात्रुले सहज रूपमा यात्रा गर्न नपाउने उनले बताइन् ।
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले चाडपर्व मनाउन कामदार घर फर्केपछि निर्माणको काम रोकिएको बताए । उनले साताभित्रै निर्माणको काम सुरु हुने जानकारी दिए । सडकमा थुपारिएको निर्माण सामग्रीका कारण सडक साँघुरो भई दुर्घटनाको जोखिम बढेको उनले स्वीकारे । ‘निर्माण सामग्री अन्यत्र राख्दा काम गर्न सहज हुँदैन र ढिलाइ हुन्छ । छिटोछरितो कामका लागि कालोपत्रेको तयारी गर्न निर्माण कम्पनीले सडकको छेउछाउमा निर्माण सामग्री थुपारेको हो,’ उनले भने ।
निर्माण कम्पनीले सडकमा थुपारेको सामग्रीभन्दा वर्षातमा बारम्बार खस्ने पहिरोले समस्या बढाएको र त्यसले निर्माणको कामसमेत प्रभावित पारेको उनको भनाइ छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको उनले बताए । पिके निर्माण सेवाले वर्षात र चाडपर्वका कारण केही समय काम रोकिए पनि अबको नौ महिनाभित्रै कालोपत्रेको काम सम्पन्न गर्ने जनाएको छ ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।