धार्चे गाउँपालिका–१ ठाडो भर्याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।
गोरखा — धार्चे गाउँपालिका–१ ठाडो भर्याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए । पहिरोले क्षति भने नगरेको उनको भनाइ छ ।
‘ढुंगा र ढिस्को खसेको हो, झरेका ढुंगाहरू कुनामै रोकिएका छन्, बुढीगण्डकीसम्म आइपुगेन,’ उनले भने, ‘साढे आठ बजेतिर एक्कासि पहिरो आएको हो ।’ अहिले पहिरो रोकिएको पनि उनले बताए । यारुबगरको क्यान्टिलिभर पुल नजिकैबाट पहिरो खसेको उनले बताए ।
ठूलो आवाजसहित पहिरो खसेको स्थानीय कृष्ण गुरुङ बताउँछन् । ‘म मोटरसाइकल चलाउँछु, ठिक वारी थिएँ, पारी ठूलो आवाज आयो, के भयो भनेर हेरेको धुलो बेस्सरी उडिरहेको छ,’ उनले भने, ‘पहिरो दुईपटक आयो, पारी बस्ती थिएन, अरू क्षति भने हुन पाएन ।’
पहिरोपछि केही बेर धुलोले डाँडै ढाकेको उनले बताए । शुक्रबार रातिदेखि नै ढुंगाहरू खस्न सुरु गरेको र बिहानपख ठूलो पहिरो खसेको उनले बताए ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।