Trending
Prev Story
Next Story

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

Ekantipur •
November 14, 2026 • 06:32 AM
3
3 reads 0 reactions

धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् ।

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् ।

दसैं–तिहारको चहलपहल सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा मेला–जात्राको रौनक सुरु भएको छ । यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने परम्परागत जात्राले गाउँबस्तीमा चहलपहल बढाउन थालेको छ । धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् ।

डडेल्धुराको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा लाग्ने देहीजाँत यस क्षेत्रको प्रमुख धार्मिक मेलामध्ये एक हो । अमरगढी नगरपालिका–८ मा अवस्थित मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन देहीजाँत लाग्ने परम्परा छ । यस वर्ष मंसिर ७ गते रातिको जात्रा (रतेडी जाँत) र ८ गते दिनको जात्रा (दिउसेडी जाँत) लाग्दैछ । जात्रामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् ।

उग्रतारा भगवतीको दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको भीडले मन्दिर परिसर र आसपासको क्षेत्रलाई उत्सवमय बनाउने गरेको छ । धार्मिक गतिविधिसँगै जात्रामा स्थानीय उत्पादनको किनबेच पनि हुने गरेको छ । जात्राका बेला स्थानीय उत्पादन तथा वस्तुको व्यापारसमेत हुने भएकाले यसले स्थानीय आर्थिक गतिविधिमा पनि योगदान पुर्‍याउँदै आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए । उनका अनुसार जात्रामा लाखौंको संख्यामा भक्तजन तथा दर्शनार्थी उग्रतारा पुग्ने गरेका छन् ।

यस्तै गन्यापधुरा गाउँपालिका–२ मा रहेको प्रसिद्ध लाटागन्याप देवताको मन्दिरमा मंसिर ४ गते बडालजाँत लाग्दैछ । धार्मिक आस्था र मौलिक परम्परासँग जोडिएको यस जात्रामा नाङ्गो खुकुरी र तरबार प्रदर्शन गर्दै चौलो खेल्ने चलन छ । स्थानीय समुदायको आस्था, विश्वास र आपसी मेलमिलापको पर्वका रूपमा बडालजाँत परिचित रहेको वडाध्यक्ष मनोजबहादुर देउवाले बताए ।

उनका अनुसार बडालजाँत धार्मिक पूजाआजामा सीमित नभई आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसर पनि हो । उनले जात्राका लागि टाढाटाढाबाट आफन्तहरू आउने गरेको बताए । आफन्तलाई स्वागत गर्न घरमै माडा, खिरलगायत परिकार पकाएर ल्याउने र खुवाउने पुरानो चलनसमेत रहेको उनले बताए । जात्रामा स्थानीय उत्पादनको किनबेच पनि हुने गरेको छ ।

डडेल्धुराका अन्य धार्मिक तथा ऐतिहासिक शक्तिपीठमा पनि यस अवधिमा विभिन्न जात्रा तथा मेला लाग्ने गर्छन् । नवदुर्गा गाउँपालिकास्थित प्रसिद्ध नवदुर्गा जात र भागेश्वरलगायतका क्षेत्रमा लाग्ने मेलाले पनि स्थानीय बासिन्दा तथा दर्शनार्थीलाई आकर्षित गर्ने गरेका छन् । यी मेलामा धार्मिक पूजाआजा, परम्परागत नाचगान तथा स्थानीय सांस्कृतिक गतिविधि हुने गरेको स्थानीय बताउँछन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मेला–जात्रा धार्मिक अनुष्ठानका रूपमा मात्र सीमित छैनन् । पुस्तौंदेखि चल्दै आएका यस्ता परम्पराले स्थानीय कला, संस्कृति र रीतिरिवाजलाई निरन्तरता दिनुका साथै गाउँबस्तीबीचको सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँदै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#जात्रा #दसैँ #तिहार
Compare →

Related Stories

World News
Build #2612