यस्ता कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न पाउने छैनन् ।
काठमाडौँ — नेपाल सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानीमा स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीले आफ्नो जारी पुँजीको ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न पाउने भएका छन् ।
धितोपत्र बोर्डले केही समयअघि धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा संशोधन गर्दै यस्तो व्यवस्था थपेको हो ।
यस्ता कम्पनीले जारी पुँजीको न्यूनतम १० प्रतिशत र अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । तर, प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न पाउने छैनन् ।
प्रस्तावित व्यवस्थाअनुसार यस्ता कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेका गैरआवासीय नेपालीका लागि मात्रै धितोपत्र निष्कासन गर्न सक्नेछन् । यसका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । कम्पनीले पूर्वाधारसम्बन्धी परियोजनामा लगानी गर्ने उद्देश्यले सेयर, बण्ड तथा डिबेञ्चर निष्कासन गर्न सक्ने व्यवस्था छ । यस्ता धितोपत्र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी निष्कासन गर्न सकिनेछ ।
यस्ता कम्पनीले निष्कासन गरेको सेयरको कारोबारका लागि धितोपत्र बजार (नेप्से) ले आवश्यक कारोबार प्रणालीको व्यवस्था गर्नेछ । तर, अन्य कम्पनीको सेयर कारोबारभन्दा फरक व्यवस्था गर्दै यस्ता कम्पनीको सेयर खरिदबिक्री गर्दा न्यूनतम एक हजार कित्ता हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यसअघि रहेको व्यवस्थामा संयुक्त लगानीमा स्थापना भएका यस्ता कम्पनीले विदेशी नागरिकता वा विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गैरआवासीय नेपालीबीच मात्रै विदेशी मुद्रामा निष्कासन गरिएका धितोपत्रको कारोबार गर्न सक्ने व्यवस्था थियो ।
प्रस्तावित थप व्यवस्थाले सेयर निष्कासनको सीमा, प्रिमियममा रोक तथा कारोबारको न्यूनतम परिमाणसमेत निर्धारण गरेको छ ।