काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय आज बैंकिङ समयपछि समाप्त हुने भएको छ।
कम्पनीले गत कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। निष्कासन अवधिमा मागभन्दा बढी सेयर खरिदका लागि आवेदन प्राप्त भएकाले कम्पनीले आजदेखि आवेदन लिने कार्य बन्द गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याएको छ।
त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँबराबरको १६ करोड ९० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो।
कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याएको सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता दोलखा जिल्लाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दाका लागि छुट्याएको छ।
त्यस्तै, बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका उल्लिखित वडाबाहेक बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि छुट्याइएको छ।
कम्पनीका अनुसार स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।