अमेरिकन स्टक मार्केटका प्राविधिक विलियम जे ओ निलले १९८८ को आफ्नो पुस्तक ‘हाउ टु मेक मनि इन स्टक’ भन्ने पुस्तकमा यस्तो आकृतिको चर्चा गरेका थिए ।
काठमाडौँ — प्राविधिक विश्लेषणका दुई उपकरणबाट हेर्दा अहिले सेयर बजार महत्वपूर्ण तहमा आएको देखिन्छ ।
केही समयदेखि ‘कप विथ ह्याण्डल’ आकृति बनाउने प्रयास गरिरहेको नेप्से त्यो सम्भावना निर्धारणको मोडमा आइपुगेको मान्न सकिन्छ ।
पहिले बुझौ, कस्तो आकृति हो ‘कप विथ ह्याण्डल’ ?
अमेरिकन स्टक मार्केटका प्राविधिक विलियम जे ओ निलले १९८८ को आफ्नो पुस्तक ‘हाउ टु मेक मनि इन स्टक’ भन्ने पुस्तकमा यस्तो आकृतिको चर्चा गरेका थिए ।
‘कप’ आकृति बन्न कम्तीमा सात देखि ६५ साता लाग्न सक्ने मान्यता छ । ६५ साता अनिवार्य अवधि भने होइन । सामान्यतया ‘कप’ बन्न केही महिनादेखि एक वर्ष वा त्योभन्दा बढी समय पनि लाग्न सक्छ ।
बजार एउटा तहबाट ओरालो लागेर फेरि बढ्ने क्रममा अंग्रजी अक्षरको ‘यु’ अकृति बन्ने गर्छ । यो प्रवृत्तिमा बन्ने ‘यु’ आकृतिलाई ‘कप’ भनिन्छ ।
यो क्रममा बजार वा सेयर मूल्यले पहिलेको उचाई नजिक केही प्रतिरोध सामना गरिरहन्छ । र, केही घट्ने क्रममा रहन्छ । यो घट्ने क्रममा हुने सामान्य उतारचढावलाई सो ‘कपको ह्याण्डल’ आकृति मानिन्छ ।
अहिले नेप्सेमा लगभग यस्तै आकृति बनेको छ । गएको साउन ८ गते २७४७ सम्म पुगेको नेप्से त्यो विन्दुबाट घट्दै २५०८ विन्दुसम्म ओर्लियो । गएको कात्तिक १२ सम्ममा बजार विस्तारै सुधार हुँदै आएर २६९५ विन्दुसम्म पुग्यो । तर, पहिलेको उचाई २७४७ आसपासमा प्रतिरोध पाइरह्यो ।
त्यहाँबाट घटबढ भइरहेको नेप्से केही समयदेखि २६५० आसपासबाट तल ओर्लिन खोजिरहेको छैन् । यसले यो तहबाट नेप्से बढ्ने प्रयासमा रहेको देखिन्छ ।
यदी बजारले यसअघिको उचाई २७४७ लाई पार गरेमा सय २३९ अंकले बढ्न सक्ने मानिन्छ । ‘कप’ आकृति बनाउँदाको गहिराई जति छ, त्यहीँ बराबर नै बढ्न सक्ने विश्लेषण गरिन्छ । २७४७ बाट २३९ अंकले घटेर नेप्से २५०८ विन्दुसम्म ओर्लिएको थियो । यस आधारमा नेप्सेले २९ सय ३४ को तहलाई लक्ष्य बनाइरहेको देखिन्छ ।
तर, ‘कप विथ ह्याण्डल’ आकृति बनेको पुष्टि हुन पनि २६९५ बाट बढेर २७४७ पार गर्दै बजार माथि जानुपर्ने हुन्छ । यसपछि मात्रै ब्रेक आउट भएको (यो प्रवृति पुष्टि भएर बढेको) पुष्टि हुन्छ ।
अब, अहिले अल्पकालिन प्रवृत्तिले के देखाइरहेको छ भनेर मैनवत्ती चित्र विश्लेषणबाट हेरौं ।
घट्दो क्रममा रहेको बजारमा गएको शुक्रबार उच्च उतारचढाव देखिएको छ । शुक्रबार नेप्से बढ्दा २६५६ विन्दुसम्म पुग्यो भने घट्दा २६३९ सम्म ओर्लियो । यो क्रममा बजार बन्द हुँदा भने नेप्से २६४८ मा आयो । बजार खुल्दा २६४९ बाट खुलेको थियो ।
शुक्रबार सानो शरीर र दुवै तर्फ लामो धागो भएको दोजी आकृति बनेको छ । यसले लगानीकर्ताहरू अनिर्णयमा रहेको संकेत गर्छ । सो दिन बजार बढ्न सक्छ भन्ने र घट्न सक्छ भन्ने दुवै पक्ष उत्तिकै हावी देखिएका छन् । यो महत्वपूर्ण मोडमा बजार आउँदा लगानीकर्ताले निर्णय गर्न सकिरहेका छैनन भन्ने देखाउँछ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।