Trending
Prev Story
Next Story

नेप्सेले बजारको प्रतिनिधित्व गरेको छैन, गणनाविधि परिमार्जन गर्नुपर्छ

Ekantipur •
November 15, 2026 • 02:32 AM
2
2 reads 0 reactions

कान्तिपुरसँगको कुराकानीमा सेयर विश्लेषक एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले संस्थागत लगानीकर्ता, आधुनिक प्रविधि र कारोबारयोग्य सेयरमा आधारित परिसूचक बजारको विश्वसनीयताका लागि आवश्यक रहेको बताए।

नेप्सेले बजारको प्रतिनिधित्व गरेको छैन, गणनाविधि परिमार्जन गर्नुपर्छ

कान्तिपुरसँगको कुराकानीमा सेयर विश्लेषक एवं लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले संस्थागत लगानीकर्ता, आधुनिक प्रविधि र कारोबारयोग्य सेयरमा आधारित परिसूचक बजारको विश्वसनीयताका लागि आवश्यक रहेको बताए।

काठमाडौँ — सेयर विश्लेषक एवं लगानीकर्ताका रूपमा परिचित अम्बिकाप्रसाद पौडेल हाइलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिजका अध्यक्ष पनि हुन् । उनका अनुसार तीन दशकभन्दा लामो इतिहास बोकेको नेपालको पुाजी बजार अझै पनि अत्यावश्यक पूर्वाधारको कमी, कमजोर नियमन र संरचनागत समस्याबाट मुक्त छैन । हाल ८१ लाख २२ हजारभन्दा बढी नेपाली सेयर बजारसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । तर, लगानीकर्ताको अपेक्षा विपरीत आम लोकप्रियताका लागि बनाइएका नीतिले संस्थागत लगानीकर्तालाई निरुत्साहित गरेको छ । सेयर बजारसँगै अर्थतन्त्रको विकास, उद्योग, पर्यटनलगायत क्षेत्रमा लगानीको सम्भावनाका विषयमा पौडेल सँग कान्तिपुरका यज्ञ बञ्जाडे ले गरेको कुराकानीको सार :

नेपालको सेयर बजार स्थापना भएको झन्डै साढे तीन दशक भइसकेको छ । यो यात्रासँगै बजारको पछिल्लो अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

साढे तीन दशकको इतिहास हेर्दा नेपालको सेयर बजारमा विकास नै भएन भन्न मिल्दैन । विगतमा नेप्सेको ढोकामा गएर चिच्याएर खरिद गरेको सेयर आफ्नो भागमा परे/नपरेको तीन दिनपछि मात्र थाहा पाउने स्थिति थियो । अहिले अनलाइनमार्फत एक क्लिकमै सेयर भर्न, कारोबार गर्न, समग्र कारोबार हेर्न, बजारबारे सबै जानकारी पाउने सक्ने अवस्था छ ।

यो अवस्थासम्म आइपुग्दा हामीले प्रविधिको विकासमा धेरै फड्को मारेका छौं । तर, प्रश्न उठ्छ साढे तीन दशकमा नेपालको पुँजी बजार अन्तर्राष्ट्रियस्तरको भयो त ? हामीसँगै स्थापना भएका अन्य मुलुकका स्टक एक्सचेन्जले जस्तै नयाँ नयाँ उपकरण (प्रडक्ट) र सेवा सुविधा ल्याउन सक्यौं त ? नियामकहरूले लगानीकर्तामैत्री नीति ल्याउन सके ? यी प्रश्नको एउटै उत्तर हो छैन । यसरी हेर्दा अझै सेयर बजारमा धेरै नीतिगत तथा संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता छ । आज हामीले हेरिरहेको नेप्से परिसूचकले पनि समग्र बजारको प्रतिनिधित्व गर्न सकेको छैन । यसको गणना विधि नै परिमार्जन गर्नुपर्छ ।

तपाईंले आजका दिनमा नेप्से इन्डेक्स (परिसूचक) ले समग्र बजारको सही अवस्था प्रतिनिधित्व गर्न सक्दैन भन्नुभयो । यसबारे थप प्रस्ट पारिदिनुस् न ?

नेपालको पुँजी बजारको इन्डेक्स मापनले बजारलाई सही रूपमा प्रतिनिधित्व गर्न सक्दैन भन्नेमा म पहिलेदेखि नै स्पष्ट छु । हाम्रोमा इन्डेक्सको गणना विधि नै सही छैन । कुल बजार पुँजीकरणमा उच्च भार (वेटेज) ओगट्ने तर बजारमा कारोबारयोग्य (ट्रेडेबल) सेयर ५ प्रतिशतभन्दा पनि कम भएका विशाल बजार, युनिलिभर वा नेपाल टेलिकम जस्ता सीमित कम्पनीहरूको सेयर मूल्यमा हुने उतारचढावले समग्र इन्डेक्सलाई बढाउने वा घटाउने गर्छ । ती कम्पनीको थोरै कित्ता कारोबार हुँदा पनि उच्च मूल्यका कारण बजार पुँजीकरण ठूलो देखिन्छ, जसले सर्वसाधारण लगानीकर्तालाई बजारको वास्तविक चित्र दिँदैन ।

इन्डेक्सलाई वास्तविक चित्र दिने बनाउन कुल सेयरमा नभई कारोबारयोग्य सेयरको कारोबार रकमका आधारमा नेप्से इन्डेक्स गणना हुने नीति बनाउनुपर्छ । हालको अवस्थामा समग्र इन्डेक्सभन्दा पनि सूचीकृत कम्पनीको वास्तविक वित्तीय अवस्था, नेटवर्थ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) लगायतका आधारमा लगानीकर्ताले लगानी गर्ने नगर्ने निर्णय गर्नुपर्छ । केही अवस्थामा क्षेत्रगत उपसमूह र केही अवस्थामा व्यक्तिगत कम्पनीको अवस्था विश्लेषण गरेर लगानीका लागि कम्पनी छनोट गर्नुपर्छ ।

अहिले बैंकमा पर्याप्त तरलता छ, ब्याजदर घटेको छ र नीतिहरू पनि सेयर बजार अनुकूल नै देखिन्छन् । तैपनि लगानीकर्ताले सोचेअनुसार लगानी बढाउन किन नसकेका होलान् ?

शब्द वा बोलीमा नीतिहरू बजारमैत्री देखिए पनि व्यवहारमा ठ्याक्कै विपरीत देखिन्छ । नीतिगत सहजता भएकाले बजारमा यो पक्षमा सुधार भयो भन्ने अवस्था छैन । बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त भए पनि बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्तालाई पुँजी बजारमा कर्जा प्रवाह गर्न विभिन्न नीतिगत जटिलता अहिले पनि कायम छन् ।

अर्को मुख्य समस्या हामीले पुँजी बजारलाई व्यक्ति केन्द्रित बनायौं । संस्थागत लगानीकर्ताको प्रवेश रोक्यौं । १० कित्ते नीति जस्ता लोकप्रिय निर्णयका कारण बजारमा वास्तविक सुधार हुन सकेन । राजनीतिक वा अल्पकालीन लोकप्रियताका लागि ल्याइएका ‘पपुलिस्ट’ नीतिहरू पछि हटाउन गाह्रो हुन्छ । अहिले बजारमा त्यही भएको छ । संस्थागत लगानीकर्ताले लगानी विस्तार गर्न पाएका छैनन् । व्यक्तिगत लगानीकर्ताको हालीमुहाली छ । यसले पुँजी निर्माण र बजारको दीर्घकालीन विकासलाई नै असर गर्छ ।

तपाईंले अहिलेका सबैलाई कम्तीमा १० कित्ता सेयर वितरण गर्नुपर्ने नीति ठीक भएन भन्न खोज्नुभएको हो ?

सबैलाई १० कित्ता सेयर वितरण गर्ने नीति सुन्दा निकै लोकप्रिय र समावेशी देखिन्छ । तर, यही नीति बजारको दीर्घकालीन विकास र विस्तारका लागि बाधक पनि देखिएको छ । किनकि १० कित्ते नीतिका कारण जुनसुकै कम्पनीको आईपीओ आए पनि हजार रुपैयाँमा खरिद गर्न पाइने भएपछि सबैले फारम भर्ने र अलिकति बढ्दा बेचिहाल्ने परिपाटी बस्यो ।

साना लगानीकर्तासँग १० कित्ता सेयर रहने र जहिले पनि किनबेच गर्न सकिने । अर्कोतिर संस्थापक सेयरधनीसँग रहेको सेयर ३ वर्षको ‘लकइन पिरियड’ हुने भएकाले बजारमा फेयर प्राइसिङ (उचित मूल्य निर्धारण) हुन पाएन । यसको फाइदा उठाएर सेयर खेलाडी वा स्पेकुलेटरले बजार ‘म्यानिपुलेट’ गर्ने अवसर पाए । विश्वका कुनै पनि पुँजी बजारमा सबैलाई अनिवार्य १० कित्ता बाँड्नैपर्ने र संस्थागत लगानीकर्तालाई रोक्ने नियम छैन । संस्थागत लगानीकर्ता बजारमा व्यावसायिकता र फेयर प्राइसिङ कायम गर्न स्थापित भएका हुन्छन्, तर उनीहरूलाई बन्देज गर्दा कम्पनीहरूको वास्तविक मूल्य निर्धारण हुन सक्दैन । बजारमा स्थायित्व हुन सकेन ।

अहिलेको बजार प्रवेश गर्ने कि बाहिरिने समय हो ? नयाँ लगानीकर्ताका लागि कुन–कुन उपसमूह वा कम्पनीको सेयरमा लगानीका लागि उपयुक्त देख्नुहुन्छ ?

समग्रतामा हेर्दा अहिले बजार ऐतिहासिक न्यून बिन्दुमा छ । राम्रा कम्पनीमा लगानीका लागि यो उपयुक्त समय हो । धेरै कम्पनीको सेयर मूल्य तिनको नेटवर्थभन्दा पनि तल वा एकदमै कम जोखिमको अवस्थामा छ । तर, नीतिगत समस्याका कारण केही कम्पनीको सेयर मूल्य अधिमूल्यन (वास्तविकताभन्दा बढी) र केहीको अवमूल्यन (वास्तविकताभन्दा कम) छन् । त्यसैले अहिले नेप्से इन्डेक्स मात्र नहेरी कम्पनीको कार्य सम्पादन (पर्फर्मेन्स) हेर्नुपर्छ । क्षेत्रगत रूपमा हेर्दा पनि हालको अवस्थामा म्यानुफ्याक्चरिङ (उत्पादनमूलक) र प्रभावकारी नियमन भएको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा सुरक्षित र राम्रो देखिन्छन् ।

बजार केही सीमित व्यक्तिको हातमा छ, यही कारण ‘इन्साइडर ट्रेडिङ’ र ‘म्यानुपुलेसन’ हुन्छ भन्ने आरोप छ नि ?

बजार सीमित व्यक्तिको हातमा छ भन्ने कुरामा म सहमत छैन । अहिले ८० लाखभन्दा बढी डिम्याट खाता र ३५ लाखभन्दा बढी सक्रिय लगानीकर्ता भइसकेका छन् । मुख्य समस्या भनेको नियामक र नेप्सेले प्रविधिमा पर्याप्त लगानी नगर्नु हो । आजको कृत्रिम बौद्धिकता (एआई) र प्रविधिको जमानामा आधुनिक प्रविधि भित्र्याएको भए ‘इन्साइडर ट्रेडिङ’ वा ‘म्यानुपुलेसन मिलिसेकेन्ड’मै पहिचान गरेर नियन्त्रण गर्न सकिन्थ्यो । विडम्बना हामी अझै पनि १० वर्ष पुरानै प्रविधि र कागजमैत्री प्रणालीमा विश्वास गरिरहेका छौं ।

तपाईंले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्नुभएको छ । हाइलाइफ ब्रान्ड निकै चर्चामा छ । हाइलाइफ के हो, त्यसको बारेमा बताइदिनुस् न ?

म पुँजी बजारकै जगमा उभिएको मान्छे हुँ, तर उद्योग सञ्चालन गर्दा पाइने आत्मसन्तुष्टि फरक हुन्छ । हाम्रो उद्योग ‘हाइलाइफ एग्रो एन्ड फुड इन्डस्ट्रिज लिमिटेड’ भैरहवामा छ, जहाँ करिब ४ सय जनाले रोजगारी पाएका छन् । हामीले कुरुम–कुरुम चिउरा, चोकोज, कर्नफ्लेक्स, ओट्स, चिया, दाल, चामल, कर्णाली ब्रान्डका खाद्यान्न उत्पादन गर्छौं । आगामी ५ वर्षभित्र ३ देखि ४ अर्ब रुपैयाँ थप लगानी गरी ८० प्रतिशत नेपालीको चुलोसम्म बिहानदेखि बेलुकासम्मका उपभोग्य वस्तु पुर्‍याउने लक्ष्य राखेका छौं ।

तपाईंले पर्यटन (होटल) क्षेत्रमा पनि लगानी गर्नुभएको छ । यस क्षेत्रको सम्भावना, चुनौती र आगामी योजना के छ ?

नेपालमा पर्यटनको अथाहा सम्भावना भए पनि यो क्षेत्र चुनौतीपूर्ण छ । गएको दुई वर्षमा कहिले सीमावर्ती समस्या, कहिले जेन–जी आन्दोलनलगायत कारण पर्यटन उद्योग पटक–पटक प्रभावित हुँदै तंग्रिँदै आएको छ । सरकारको पर्यटन प्रवर्द्धन नीति प्रोत्साहन गर्ने खालको छैन । यो क्षेत्रमा धेरै लगानी र कम प्रतिफल भएको अवस्था छ । त्यसैले हाल सञ्चालनमा रहेको होटल ‘लेमन ट्री’लाई नै उत्कृष्ट बनाउने मेरो योजना हो । तत्काल पर्यटन क्षेत्रमा नयाँ लगानी थप्ने मेरो योजना छैन ।

तपाईंलाई उद्यमी कम लगानीकर्ता बढी भनेर चिन्छन् । यद्यपि तपाईंले म्यानुफ्याक्चरिङ, पर्यटनलगायत क्षेत्रमा ठूलो लगानी गरिसक्नुभएको छ । पैसा कमाउन कहाँ सजिलो हुँदो रहेछ, सेयर बजार कि म्यानुफ्याक्चरिङ तथा सेवा क्षेत्रमा ?

संसारमा कमाउन कतै पनि सजिलो छैन । सेयर बजारले मलाई पहिचान र आर्थिक ब्याकअप दियो । तर यसले मेरो व्यक्तिगत बैंक खाता र राज्यको राजस्व खाता मात्र चिन्छ । उद्योग र पर्यटन क्षेत्रमा लगानी गर्दा सयौं परिवारको रोजगारी, किसान, गाडी चालक र कर्मचारीको अनुहारमा मुस्कान ल्याउँछ । नागरिकका जीवनका वास्तविक रङहरू उद्योग–व्यवसायमै देख्न पाइन्छ, त्यसैले मलाई उद्योगमै काम गर्दा बढी आनन्द मिल्छ ।

नेपालको सेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको र सुशासित बनाउन सरकार वा नियामक निकायलाई यहाँका मुख्य तीन सुझाव के–के छन् ?

पहिलो आम मानिस वा भीडको आकर्षण हेरेर नीति नबनाउनुस् । नीति नियम बनाउँदा अन्तर्राष्ट्रिय अभ्यास, बजारको अवस्था विचार गरेर दीर्घकालसम्म लागू हुने बनाउनुपर्छ । दोस्रो पुँजी बजारलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउनुपर्छ । अहिलेजस्तो प्रविधि र लगानीकर्ताको अपेक्षाबीचको अन्तर अन्त्य गर्नुपर्छ । तेस्रो, संस्थागत लगानीकर्तालाई पुँजी बजारमा पर्याप्त स्थान र प्रोत्साहन गर्नुपर्छ । संस्थागत लगानीकर्ता नै बजार निर्माता र वास्तविक आधारस्तम्भ हुन् ।

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
सेयरको मूल्य कसको हातमा हुन्छ ? नेप्से, ब्रोकर कि ठूला लगानीकर्ता ?

सेयरको मूल्य कसको हातमा हुन्छ ? नेप्से, ब्रोकर कि ठूला लगानीकर्ता ?

काठमाडौं- सेयर बजारमा लगानी गर्ने धेरैको जिज्ञासा हुन्छ– कुनै कम्पनीको सेयरको मूल्य एकाएक किन बढ्छ ? किन घट्छ ? के नेप्से, ब्रोकर कम्पनी वा ठूला लगानीकर्ताले आफूखुसी सेयरको भाउ घटाउने र बढाउने गर्छ...

#शेयर-बजार #लगानीकर्ता #नेप्से
Compare →
Arthasansar
1d ago
२,६५५ विन्दुबाट खुल्दै बजार, तिहारपछिको पहिलो कारोबारले कस्तो संकेत देला?

२,६५५ विन्दुबाट खुल्दै बजार, तिहारपछिको पहिलो कारोबारले कस्तो संकेत देला?

तिहारको बिदाले रोकिएको सेयर बजार आजदेखि पुनः चलायमान हुँदैछ। तर बजार खुल्ने प्रतीक्षामा रहेका लगानीकर्ताले यो साता नियमित कारोबारका लागि...

#शेयर-बजार #लगानीकर्ता
Compare →
Bizshala
1d ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
1w ago
नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो

नेप्से कारोबारमा झण्डै तीन अर्बको गिरावट, परिसूचक पनि घट्यो

नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि बुधबारको तुलनामा झण्डै ३ अर्बले घटेको छ।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612