Trending
Prev Story
Next Story

१० उपसमिति फिल्डमा छैनन्, फिल्ड सरकारमातहत छैन

Onlinekhabar •
November 16, 2026 • 02:00 AM
3
3 reads 0 reactions 4 comments

३० कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १७ दिन बाँकी छ । आगामी मंसिर १६ देखि २६ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिता हुनेछ । तर, राष्ट्रिय उत्सवको रूपमा हेरिएको प्रतियोगिताको पूर्वतयारी भने …

1 / 7
Swipe Photos

३० कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १७ दिन बाँकी छ । आगामी मंसिर १६ देखि २६ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिता हुनेछ ।

तर, राष्ट्रिय उत्सवको रूपमा हेरिएको प्रतियोगिताको पूर्वतयारी भने निकै फितलो देखिन्छ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले एउटा मूल आयोजक समितिसहित १४ वटा उपसमिति बनाएको छ ।

१४ उपसमितिमध्ये ४ उपसमिति सह–आयोजक रहेको कर्णाली खेलकुद विकास परिषद्ले गठन गरेको थियो । प्रदेशमा गठन गरेका चार उपसमिति बाहेक अरू १० महत्त्वपूर्ण उपसमितिहरू अहिलेसम्म आयोजनास्थल कर्णालीमा पुगेका छैनन् ।

‘समारोह, प्रविधि, प्रचार–प्रचार र स्रोत परिचालन उपसमितिका संयोजकहरू अहिलेसम्म फिल्डमा आउनुभएको छैन’ प्रदेश खेलकुद परिषद्का एक सदस्य भन्छन्, ‘यस्ता महत्त्वपूर्ण उपसमिति अहिलेसम्म फिल्डमा नआउँदा सोचे अनुसारको तयारी हुन सकेको छैन ।’

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा गत कात्तिक १७ गते प्रतियोगिताको ३० दिने काउन्ट डाउन सुरु गरिएको थियो । काउन्ट डाउन सुरु भएसँगै प्रतियोगिताको व्यापक प्रचारप्रचार हुने मन्त्री पोखरेलले बताएका थिए ।

‘हामीले प्रचारप्रचारको कमी महसुस गरेर नै ३० काउन्ट डाउन सुरु गरेका छौँ,’ मन्त्री पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए, ‘अब देखि प्रचारलाई व्यापक बनाउँछौ । उपसमितिहरूलाई फिल्डमै खटाउँछौ ।’

मन्त्री पोखरेलले प्रतिबद्धता जनाएको १२ दिन बित्दा पनि राखेप सदस्य मोनालिसा खम्बु संयोजक रहेको प्रचारप्रचार उपसमिति फिल्डमा खटिएको देखिँदैन ।

‘प्रचारप्रचारका सामान्य स्टिकर र पोस्टरसमेत हामीले पाउन सकिरहेका छैनौँ । सबै डिजाइन राखेपलाई नै सोध्नु पर्छ,’ मूल आयोजक समितिका एक सदस्य भन्छन्, ‘उपसमिति फिल्डमा नआउँदा व्यापक प्रचार नै हुन सकिरहेको छैन ।’

राखेप उपाध्यक्ष विशाल श्रेष्ठ संयोजक रहेको समारोह उपसमितिको उपस्थिति पनि शून्य जस्तै छ । ‘उद्घाटन समारोह नै प्रतियोगिताको मुख्य उत्सव हो । सयौँ खेलाडी, कोरियोग्राफर र कलाकार लगायतको प्रदर्शनी हुन्छ,’ मूल आयोजक समितिका एक सदस्य भन्छन्, ‘तर अहिलेसम्म त्यसको कुनै पनि तयारी सुरु भएको छैन । काठमाडौँमा गठित उपसमितिहरूलाई कर्णालीमा झार्नै गाह्रो भयो ।’

२०८१ जेठमा सम्पन्न हुनुपर्ने कर्णालीको प्रादेशिक रङ्गशाला निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि प्रदेश सरकार मातहत आएको छैन । ठेकेदार कम्पनीले बाँकी एक प्रतिशत काम नसक्दा सरकारलाई हस्तान्तरण हुन सकेको थिएन ।

त्यसको प्रमुख कारण भने ९ करोड रुपैयाँ नपाएको ठेकदार कम्पनीको गुनासो थियो । ‘प्रदेश सरकारले समयमै भुक्तानी नदिँदा काम रोकिएको ठेकदार कम्पनी एमएसी/जीएसएल जेभीले बताउँदै आएको थियो ।

‘काम सम्पन्न भइसकेको छ । भुक्तानी प्रक्रिया पनि पूरा भएको छ,’ कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल भन्छन्, ‘मंसिर २–३ गतेभित्र प्रदेश सरकारलाई हस्तान्तरण हुन्छ ।’

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ को मध्य भागमा ९ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालामा आधुनिक र भव्य खेल संरचना निर्माण गरिएको छ ।

तर, प्रदेश सरकारकै ढिलासुस्तीका कारण प्रतियोगिता नजिक आउँदा पनि रङ्गशाला प्रदेश सरकार मातहत आएको छैन । दुई वर्ष प्रदेश खेलकुद परिषद् रिक्त हुँदा रङ्गशाला अलपत्र परेको मात्र थिएन, चलायमान नहुँदा संरचना जीर्ण बन्न थालेका थिए । गत चैतमा परिषद्ले पूर्णता पाएसँगै अहिले रङ्गशालामा विभिन्न खेलकुद गतिविधि भइरहेका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कूल ३२ मध्ये २३ खेल मुख्य आयोजनास्थल सुर्खेतमा सञ्चालन गरिने भएको छ । मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ खेलको प्रतिस्पर्धा सुरु भइसक्नेछ ।

क्रमशः अरू खेल खेलाइने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इन्डोर र मार्सल आट्र्सका खेलहरू सञ्चालन हुनेछन् । सुर्खेतमा एथलेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङ जस्ता खेलहरू हुनेछन् ।

यस्तै, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङ जस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइने छ । यसबाहेक कबड्डी, आर्चरी, भारोत्तोलन, ईस्पोट्र्स र सेपाकताक्रा गरी कूल २३ खेल सुर्खेतमा गरिने छ ।

दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिने छ । कर्णाली प्रदेशका अरू जिल्लामा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेल विभाजन गरिएको छ ।

कर्णालीमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेल छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिने छ । पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके)मा गरिने छ । टेनिस र खो–खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ ।

यसरी कूल ३२ मध्ये सुर्खेतमा २३, कर्णालीका अरू चार जिल्लामा पाँच र चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

११ सय बढी सुरक्षाकर्मी परिचालन हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षाका लागि १ हजार १२६ सुरक्षाकर्मी परिचालन हुने भएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा संयोजक रहेको सुरक्षा प्रबन्ध उपसमितिले प्रतियोगितामा १८ प्रकारका जिम्मेवारी तोकेर सुरक्षाकर्मी खटाउने तयारी गरेको छ ।

सुरक्षा प्रबन्ध उपसमितिका संयोजक सापकोटाका अनुसार सबैभन्दा बढी ३२१ जना सुरक्षाकर्मी कार्यक्रमस्थलको सुरक्षामा खटिने छन् । त्यस्तै, १४८ जना रिजर्भमा र ९४ जना स्ट्यान्डबाइ टोलीमा रहने बताइएको छ ।

सुरक्षा योजनाअनुसार कमान्ड पोस्टमा ६८, अनुगमनमा ५०, पिकेटमा ६२, ट्राफिक व्यवस्थापनमा ४९, मोबाइल गस्तीमा ४३, पैदल गस्तीमा ३६ र चेक पोइन्टमा ५२ जना सुरक्षाकर्मी परिचालन गरिने छ । त्यस्तै, डाइपोइन्ट ड्युटीमा १७, स्ट्राइकिङमा ४९, प्रवेशद्वारमा ३२ र निकासद्वारमा ३३ जना खटिने छन् ।

नागरिक सहायता कक्षमा १८ र सादा पोसाकमा १६ जनाको सुरक्षा टोली खटिने उपसमितिले बताएको छ । ड्रोन, केनाइन र वाटर क्यानन परिचालनका लागि १० जनाको टोली खटाइने संयोजक सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल पनि परिचालन हुनेछ । कमान्ड पोस्टमा नेपाली सेनाको समेत उपस्थिति रहने संयोजक सापकोटाले बताए । आवश्यक परे प्रमुख जिल्ला अधिकारीले सेना परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको उनले बताए ।

उनका अनुसार सुरक्षा व्यवस्थापनका लागि कमान्ड पोस्टमा २४सै घण्टा सुरक्षाकर्मी परिचालन गरिने छ । प्रतियोगितास्थलमा आवश्यक सीसीटीभीको व्यवस्थापन सम्बन्धित निकायले गर्नु पर्नेछ ।

मुख्यमन्त्री र सामाजिक मन्त्रीको गृहजिल्ला दौड

दशौँ राष्ट्रिय खेलकुदको मिति नजिकिँदै गर्दा तयारीका लागी आवश्यक निर्देशन दिने, अनुगमन र समन्वय गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेका प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र विभागीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल भने यति बेला गृहजिल्ला दौडाहामा छन् ।

दुवै जना मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नेकपाबाट निर्वाचित शाही मुख्यमन्त्री छन् भने उनकै क्याबिनेटमा एमालेबाट निर्वाचित मल्ल सामाजिक विकास मन्त्री छन् । मुख्यमन्त्री शाहीले बिहीबार सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा रहेका विकासे आयोजनाको अनुगमन गरेका थिए ।

उनले गमढी–पिना सडक र मुन्दुदेखि सेराडिल जोड्ने पुल आयोजनाको पनि अनुगमन गरेका छन् । प्रदेश सरकारबाट निर्माणाधीन पूर्वाधारका आयोजनाको अनुगमन तथा निरीक्षण कार्यलाई तदारुकता दिएको मुख्यमन्त्री शाहीले बताए ।

शाहीले अनुगमनसँगै नागरिकका गुनासा र समस्यासमेत बुझेका थिए । मुख्यमन्त्री, मन्त्रीले शुक्रबार जिल्लाका उत्तरी क्षेत्रमा पुगेर विकासे आयोजनाको अनुगमन तथा निरीक्षणसमेत गरेका छन् । मुख्यमन्त्रीको टिमले केही दिन मुगु र जुम्लाका पूर्वाधार आयोजनाको अनुगमन गर्ने बताइएको छ ।

प्रदेश सरकारले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई गम्भीरताका साथ नलिएको स्थानीय अगुवाहरू बताउँछन् । ‘अहिले पनि १०औँ खेलकुदका थुप्रै तयारी बाँकी नै छ । सबैलाई आवश्यक निर्देशन दिने र दैनिक अपडेट लिनुपर्ने मुख्यमन्त्री र मन्त्री नै फिल्डमा हुनुहुन्न,’ रास्वपाका युवा नेता हरि कँडेल भन्छन्, ‘यहाँबाट थाहा हुन्छ कि प्रदेश सरकार कति गैरजिम्मेवार छ भनेर ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

#खेलकुद #कर्णाली
Compare →

Related Stories

Politics & Governance
Build #2612